
जेरूसेलम । पार्टीमा भएको आन्तरिक प्रतिस्पर्धामा नेता गिडिअन सारलाई पराजित गर्दै प्रधानमन्त्री बेन्जामिन नेतन्याहु अत्यधिक बहुमतका साथ विजयी भएका छन् ।
बिहीबार भएको आन्तरिक प्रतिस्पर्धामा ७२.५ प्रतिशत मत पाएका नेतन्याहुले पार्टीको तर्फबाट प्रधानमन्त्री बन्नका लागि अब लगभग पक्का भएको छ । पार्टीका नेता तथा प्रधानमन्त्रीको उम्मेदवारका लागि लिकुड पार्टीमा भएको आन्तरिक प्रतिस्पर्धामा पूर्व मन्त्रीसमेत रहेका सारले २७.५ प्रतिशत मत प्राप्त गरेका छन् ।
विजयपछि लिकुड पार्टीका समर्थकहरूलाई सम्बोधन गर्दै प्रधानमन्त्री नेतन्याहुले आफूले आगामी वर्षको मार्च महिनामा हुने निर्वाचनमा भारी मतका साथ निर्वाचित बन्ने र लिकुड पार्टीले बहुमतको सरकार बनाउने बताए । नेतन्याहुले इजरायलको राजनीतिक बागडोर विगत २० वर्षदेखि सम्हाल्दै आएका छन् ।
प्रधानमन्त्री नेतन्याहुमाथि भ्रष्टाचार आरोप लागेपछि उनको पार्टीभित्र उहाँ कमजोर भएको र नेता सार वैकल्पिक नेतृत्वका लागि रहेको अनुमान गरिएको थियो । नेतन्याहुले भने, “प्राइमरी निर्वाचनमा अत्यधिक बहुमत दिनुभएकोमा सबै नेता तथा कार्यकर्तालाई धन्यवाद ज्ञापन गर्दछु । साथै आगामी मार्च २ मा हुने निर्वाचनमा पनि आफ्नो नेतृत्वमा लिकुडले विजय प्राप्त गर्नेछ ।”
“अब हामी एक भएर निर्वाचन अभियानमा सहभागी बन्नुपर्छ र लिकुडलाई अत्यधिक बहुमतका साथ जिताउनुपर्छ,” उनले भने । उनले आफ्नो दक्षिणपन्थी दल लिकुड र आफूलाई अझै पनि व्यापक समर्थन रहेको दावी गरे । एकताका लागि समर्थकलाई गरेको सम्बोधनमा उहाँले नेता सारको नाम भने उच्चारण गर्न चाहेनन् । सो अवसरमा उहाँले इजरायलको निकट सहयोगी अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई इजरायललाई दिएको निरन्तरको सहयोगका लागि धन्यवाद दिए । उनले आगामी निर्वाचनले इजरायलमा ‘ऐतिहासिक उपलब्धि ल्याउने’ दाबीसमेत गरे । - एएफपी