
मनिला । फिलिपिन्सले अमेरिकी दुई सांसदमाथि प्रतिबन्ध लगाएको छ । फिलिपिन्सका राष्ट्रपति रोड्रिगो डुट्रेटका प्रवक्ताले शुक्रबार बताएअनुसार फिलिपिनी सांसद तथा राष्ट्रपतिकी आलोचक लिला डी लिमालाई पक्राउ गरेपछि अमेरिकाले राष्ट्रपति प्रशासनमाथि प्रतिबन्ध लगाएपछि फिलिपिन्सले पनि अमेरिकी दुई सांसदमाथि प्रतिबन्ध लगाएको हो ।
फिलिपिन्सका राष्ट्रपति रोड्रिगो डुट्रेटले अमेरिकी नागरिकलाई भिसा लिन पनि कडाइ गर्ने बताइएको छ । फिलिपिन्समा अमेरिकी सांसद रिचार्ड डर्बिन र प्याट्रिक लिहेमाथि प्रतिबन्ध लगाएको हो ।
अमेरिकी संसदले २०२० को बजेटमा सांसद डी लिमालाई सहयोग पुग्ने प्रावधान पनि समावेश भएपछि फिलिपिन्सका राष्ट्रपतिले अमेरिकी सांसदमाथिको प्रतिबन्धको कदम चालेका हुन् । डी लिमा सन् २०१७ देखि लागुऔषध कारोबारमा संलग्न भएको मुद्दा खेपिरहेकी छन् । उनले राष्ट्रपति डुट्रेटको कुख्यात लागुऔषध विरोधी अभियानका क्रममा भएको नरसंहारको अनुसन्धानको नेतृत्व गरेकी थिइन् ।
"हाम्रो सार्वभौमसत्तामाथि कसैले हस्तक्षेप गर्छ भने हामी चुप लागेर बस्न सक्दैनौं," राष्ट्रपतिका प्रवक्ता साल्भाडोर पनिलोले शुक्रबार भने । सरकारी तथ्यांकअनुसार सन् २०१९ मा ३० दिनका लागि अमेरिकी नागरिकलाई फ्रि-भिसा उपलब्ध गराएको थियो । सन् २०१९ को ९ महिनामा ७ लाख ९२ हजार अमेरिकीले फिलिपिन्स भ्रमण गरेको सरकारी तथ्यांकले देखाएको छ । जम्मा विदेशी पाहुनामध्ये फिलिपिन्समा १३ प्रतिशत अमेरिकी रहेको तथ्यांकले देखाएको छ ।
मनिलास्थित अमेरिकी दूतावासले भने प्रतिबन्धको विषयमा कुनै प्रतिक्रिया दिएको छैन । प्रवक्ता साल्भाडोरले भने, ''डी लिमालाई पक्राउ गर्दा अमेरिकाले प्रतिबन्ध लगाउनु मूर्खता हो । किनकि डी लिमालाई अपराध गरेको आधारमा पक्राउ गरेको हो । उनलाई कुनै गलत नियतले पक्राउ गरेको होइन ।"
प्रहरीका अनुसार लागुऔषधविरुद्धको अभियानका क्रममा मारिएकाहरु सबै लागुऔषध कारोबारी रहेको र कानुनबाट भागिरहेकाहरु भएको बताएको छ । -अलजजिरा