काठमाडौं । नेपालमा अहिले ४३ औं संस्करणको सहिद स्मारक ए डिभिजन लिग फुटबल चलिरहेको छ ।
२०११ सालबाट सुरु गरिएको यो लिगमा सर्वाधिक सफल टोलीमा मनाङ मर्स्याङदी परिचित छ । टोलीलाई शीर्षस्थान पुर्याउन वा परिचित बनाउने श्रेय भने खेलाडीलाई जान्छ ।
लामो इतिहासमा रहेको यस लिगमा १ सय औं गोल नजिक पुगेका सर्वाधिक सफल खेलाडी हुन् सन्तोष साहुखल ।
२०६० सालमा थ्रिस्टार क्लबबाट लिग करिअर सुरु गरेका उनले अहिलेसम्म ९९ गोल गरेका छन् । अधिकांश समय थ्रिस्टारबाट खेलेका उनी पछिल्लो सिजन यता च्यासल युथ क्लबमा छन् । बीचका केही समय मनाङ र एपीएफमा पनि बिताए ।
२००७ मा ओमानविरुद्धको विश्वकप छनोटबाट राष्ट्रिय टोलीमा डेब्यु गरेका उनी पछिल्लो समय जापान बस्छन् । तर, लिगका लागि समय मिलाउँदै स्वदेश फर्किन्छन् ।
उनै सन्तोष साहुखलले खेलको अनुभव, नेपाली फुटबल र करिअरबारे मंगबालर पत्रकारसँग गरेको कुराकानीको सम्पादित अंशः
आधुनिक लिगको सय गोल पुग्न केवल एक गोलको खाँचो छ । कस्तो महसुस गरिरहनु भएको छ ?
यस्तो विशेष महसुस गरेको छैन । पहिले सय गोल गर्ने सोचेको थिए । अब नजिक पुगिसकेको छु । अहिले चाहि जारी लिगमा १५–१६ गोल गर्ने लक्ष्य लिएको छु ।
पहिलो गोल याद छ ?
डेब्यु गोल संकटाविरुद्ध गरेको थिए । मिति त याद छैन । उक्त खेलमा थ्रिस्टारसँग संकटा ३–२ ले हारेको थियो । खेलको १० औँ मिनेटमा गोल गरेको थिएँ ।
गोलको यात्रा सम्झिँदा कुन गोल चाहिँ विशेष लाग्छ ?
मलाई चाहिँ ब्रिटिस गोर्खा कपमा गरेको गोल विशेष लाग्छ । किनकि परीक्षा दिएर खेल्न गएको थिएँ । थ्रिस्टार १–० ले पछि परेको थियो । तर, अन्तिममा हामी २–१ ले जितेका थियौं । विजय गोल चाहिँ विशेष लाग्छ । पहिलो गोल विजय गुरुङ र विजय गोल चाहिँ मैले गरेको थिएँ ।
लिगको उत्कृष्ट गोल सम्झिँदा ?
हिमालयन शेर्पासँग जित्दाको फाइनल गोल मैले गरेको थिएँ । त्यो खेल हामीले ३–२ ले जितेका हौं । हेडमार्फत् गोल गरेको हुँ ।
लिग करिअरमा सबैभन्दा बढी थ्रिस्टारबाट खेल्नुभयो । व्यावसायिक हिसाबले ४ क्लब आबद्ध हुनभयो । थ्रिस्टारलाई कसरी सम्झनुहुन्छ ?
आफ्नो परिवार जस्तो लाग्छ । सबै अफिसियलको अहिले पनि माया लाग्छ । अब व्यावसायिक रूपमा थ्रिस्टारले नबोलाएपछि च्यासलमा आबद्ध भएँ ।
क्लबको पूर्वअध्यक्ष ललितकृष्ण श्रेष्ठलाई कसरी सम्झनुहुन्छ ?
उहाँले मलाई फुटबलमा निकै सहयोग गर्नुभएको थियो । मैले पनि उहाँलाई सहयोग गरें । आफ्नो बच्चा जस्तै मलाई सहयोग गर्नुहुन्थ्यो ।
यो पटकको लिगमा सबै क्लब टप छ भनेर भनिएको छ । पहिला ३ चार क्लब राम्रो भनिथ्यो ? तपाईंलाई के लाग्छ ?
मलाई सबै टिम नर्मल लाग्छन् । राम्रो टिम भने छैन जस्तो लाग्छ । अलि राम्रो मछिन्द्र लागेको छ । किनकि बल राखेर खेलिरहेको छ । अरू टिम आयो गोर्खाली जस्तो । आयो गयो ।
टोलीलाई कहाँसम्म पुर्याउने लक्ष्य लिनुभएको छ ?
लक्ष्य च्याम्पियन नै हो । त्यसका लागि हामी मिहिनेत पनि गरिरहेका छौं । बाँकी समयले नै बताउला ।
१६–१७ वर्षदेखि लिग खेलिरहनु भएको छ ? बेस्ट स्टाइकर पाटनर चाहिँ को ?
अहिले मनाङबाट खेलिरहेको फेमी जोसवा हो । नेपाली बेस्ट पाटनर त छैन । तर, सुरेन्द्र तामाङसँग ट्युनिङ मिल्थ्यो । दाइको धेरै गाली खाइयो ।
खेलाडीमा बेस्ट फ्रेन्ड्स चाहिँ को ?
बेस्ट फ्रेन्ड्स चाहिँ छैन । सबैसँग मिल्छु ।
गतसंस्करण च्यासल आबद्ध चाहिँ कसरी हुनुभयो ?
लिगमा जहिले पनि नेपाल आउँछु खेल्छु जस्तो लाग्थ्यो । च्यासलमा सँगै खेलेको साथी शंकर बेन्जनकारले कुरा गरेपछि म खुसी भएर आए ।
पाँच वर्षअघिको सन्तोष र अहिलेको सन्तोषमा के फरक छ ? किन
अहिलेको सन्तोष राम्रो छ । किनकि अहिले म पहिलाभन्दा फास्ट, फिट, क्विक, मेन्टली परिपक्व भएको छु । जापान गएपछि धेरै कुरा सिकें । पहिला त्यति कुरा थाहा थिएन । अहिले थाहा भयो । अहिले सोच्छु सानो उमेरमा सिक्न पाए धेरै खेल्न सक्थें भनेर ।
जापान गएर परिवर्तन भएँ भन्नुभयो ? नेपालमा चाहिँ कोचिङ राम्रो नभएको ?
कोचिङभन्दा पनि गाइडर नराम्रो भएको हो । हामीले पहिलाका खेलाडी हेर्यौं अनि उनीहरूको अनुसरण गर्याैं। अहिलेको पुस्ता सिनियरले जे गर्यो त्यही गर्छ । सिनियर ढिला आयो अनि उनीहरू पनि ढिला आइदिने । राम्रो प्रशिक्षकलाई राख्दैन । समस्या छ ।
जापान जाने अवसर चाहिँ कसरी मिलेको थियो ?
आयसाङले नेपालमा फुटबल एकेडेमी बनाउने प्रोजेक्टबारे दाइसँग कुरा भएको थियो । मेरो पनि भेट भयो । अनि नेपाली बच्चाहरू लिएर जापान गएको थिएँ । पछि त्यही राम्रो भएर उतै प्रशिक्षणमा लागें ।
जापानमा रहँदा नेपाल मिस हुन्छ कि फुटबल ?
मलाई फुटबल मिस हुन्छ ।
प्रायः खेलाडी विदेश गइसकेपछि खेलमा फर्किएको पाइँदैन । तपाईंले जापानमा कसरी फुटबललाई निरन्तरता दिइरहनु भएको छ ?
मैले जापानमा फुटबलसम्बन्धी नै काम गर्छु । खेल्छु अनि प्रशिक्षण पनि गराउँछु । जापानको आठौं श्रेणीको टोली एसएसइजुलाई अभ्यास गराउँछु ।
लिग कतिको रमाइलो होला ?
अहिलेसम्म त रमाइलो भइरहेको छ । नेपालमा आएर खेल्न पाएको छु । लिग निरन्तर भयो भने खेलाडीलाई सहज हुन्छ । म एन्फालाई आग्रह गर्छु एउटा निश्चित समय तोकिए राम्रो हुन्थ्यो ।
तपाईंको सय गोलले नेपाली फुटबल र नयाँ खेलाडीलाई कस्तो प्रभाव पार्छ ?
महत्व धेरै नै राख्छ । पहिला सिनियरले ५० गोल गरे भन्ने सुन्दा मेरो मनमा म पनि गर्छु भन्ने सोच आउँथ्यो । अहिले आउने नयाँ पुस्तालाई सन्तोष दाइभन्दा बढि गोल गर्छ भन्ने आयो भने चाहिँ राम्रो हो ।
यस्तो खेलाडी कोही देख्नुभएको छ ?
अहिले त देखेको छैन । नेपाली खेलाडी अहिलेको रमाइलो गर्ने । टेनिङपछि छोड्यो भाग्यो । गयो । अतिरिक्त कोही गर्दैन ।
परिवारमा को–को हुनुहुन्छ ?
आमा बुबा दाइ अनि म
फुटबल कसरी सुरुआत गर्नुभयो ?
बच्चादेखि नै खेल्न थालेको हो । दाइले बल ल्याउँथ्यो । हामी टोलमा अरूसँग पनि मिलेर खेल्थ्यौं । बुबाले फुटबल हेर्न लैजाउनुहुन्थ्यो । ९ वर्षको उमेर रंगशालामा जाँदा एकदिन म पनि खेल्छु सोच्थे ।
फुटबल खेल्नको बाट प्रेरित हुनुभएको थियो ?
मेरो प्रेरक दाइ नै हो । मैले सुरुआत दाइबाट नै खेल्न सिकें ।
पहिलोचोटि रंगशाला जाँदा कस्तो महसुस गर्नुभयो ?
जे होस् रंगशालामा खेल्न पाइयो जस्तो भएको थियो । सोचेको कुरा पूरा भयो भनेर निकै खुसी भएको थिएँ ।
पहिलोचोटि राष्ट्रिय जर्सी लगाउँदा चाहिँ ?
जर्सी लगाउँदा निकै खुसी भएको थिएँ । म पनि राष्ट्रिय खेलाडी भएँ भनेर । सोचेको थिएँ एकदिन राष्ट्रिय खेलाडी हुन्छु भनेर पूरा गरिछोडे ।
राष्ट्रिय टिममा तपाईं अधिंकाश समय बेन्चमा बस्नुभयो । के कारण खेल्न नपाएको जस्तो लाग्थ्यो ?
दुःख लाग्थ्यो बेन्चमा बस्दा । मेरो आफ्नै स्टाइल थियो । कोचले जो कुद्न सक्छ । जो खट्न सक्छ त्यसलाई प्राथमिकतामा राख्थ्यो । तर, लिगमा क्लबमा त्यति दबाब नहुँदा आफ्नै स्टाइलले खेलेर बढी गोल गर्न सक्थें ।
राष्ट्रिय टिममा फर्किनेबारे योजना छ कि ?
राष्ट्रिय टिमबाट खेल्ने इच्छा त छ । तर, जापानमा बसेर काम गरिरहेको छु । काम र नेपालको तालिका मिल्यो भने चाहिँ खेल्ने रहर छ ।
नयाँ पुस्तालाई के सन्देश दिन चाहनुहुन्छ । सय गोल त गर्न गाह्रो नै छ ?
नयाँ पुस्तालाई कडा मिहिनेत गर्न सल्लाह दिन्छु । आफूमा भर पर्ने हो कहाँसम्म जाने र के गर्दा के हुन्छ भनेर आफूले बुझेर गर्दा राम्रो हुन्छ जस्तो लाग्छ । नेपालमा प्रायः त्यति टेक्निक र फिजिकल कोचहरू छैनन् । त्यही भएर अहिले हेरेर पनि सिक्न सकिन्छ । युट्युबमा कति कुरा छन् । खाने, ट्रेनिङ, खेल्ने छन् । नेपाली खेलाडीले सोचेर गर्यो भने राम्रो प्रदर्शन गर्न सक्छ ।
नयाँ पुस्तामा सम्भाबना भएको कोही खेलाडी देख्नुभयो ? भोलि राष्ट्रिय टोलीमा पनि राम्रो गर्न सक्ने खेलाडी ?
खेलाडीमा त्यस्तो मैले खासै देखेको छैन । तर, गोलकिपरमा चाहिँ एलन न्यौपानेले केही गर्छ कि । उसको मेहनत र रियाक्सन, हाइट, फिजिकली राम्रो छ । क्विकनेस त गोलकिपरमा छ चाहिन्छ नै ।
युवा खेलाडीसँग खेल्दा कस्तो महसुस हुन्छ ?
अहिलेका खेलाडीभन्दा पहिलाका खेलाडीसँग खेल्दा सजह हुन्थ्यो । अहिलेका खेलाडी टेक्निकल राम्रो तर मेन्टली र फिजिकली राम्रा छैन ।
दर्शकबिना रंगशालामा खेल्दा कस्तो लाग्छ ?
अहिले त दर्शक नै छैन । खाली मैदानमा खेलेको जस्तो लाग्छ । दर्शकको साथ पाउँदा चाहिँ छुट्दै महसुस हुन्छ । अझै राम्रो गरुम जस्तो हुन्छ ।
को खेलाडीसँग खेल्दा सहज हुन्थ्यो ? सिनियर वा जुनियर ?
मलाई हरि खड्का दाइसँग खेल्दा चाहिँ सहज हुन्थ्यो । मुभमेन्टहरू दाइले राम्रोसँग बुझने । आँखाले हेर्दा पनि दाइले बुझने त्यो भएर सहज हुन्थ्यो ।
फुटबलमा अहिलेसम्मको सम्झनलायक क्षण ?
ब्रिटिस गोर्खा कप याद आउँछ । मैले त्यो बाइसाइकल किक हानेको थिएँ । पोष्ट नजिकबाट बाहिरिएको थियो । आह... त्यो गोल भएको भए भन्ने भा थियो ।
राष्ट्रिय टोलीमा हुँदा एटिच्युड, मुडी भनेर भनिन्थ्यो नि तपाईंलाई ?
पहिला राष्ट्रिय टिममा वा बाहिर हुँदा मै हु जस्तो हुन्थ्यो । तर, जापानपछि धेरै परिवर्तन गरायो । अहिले म जुनियरलाई त्यही कुरा सेयर गर्छु । अनि आफूलाई चेन्ज गर्न भन्छु । आफूलाई परिवर्तन गर्न ढिला गर्नु हुन्न । खेल्न पाइएन भनेर रिसाउने होइन । आफ्नो पोजिसनमा बलियो हुन सुझाव दिन्छु ।
तपाईको मनपर्ने खेलाडी ?
बुढो रोनाल्डो .......
नेपाली मनेपर्ने खेलाडी ?
निराजन रायमाझी
कुन सालमा कति गोल सूचीसहित
२०६० सालमा थ्रिस्टाबाट ६ गोल
२०६१ सालमा एपीएफबाट ६ गोल
२०६२ सालमा थ्रिस्टारबाट ९ गोल
२०६३ सालमा थ्रिस्टारबाट ११ गोल
२०६६ सालमा थ्रिस्टारबाट १९ गोल
२०६८ सालमा मनाङबाट १६ गोल
२०६९ सालमा थ्रिस्टारबाट १७ गोल
२०७० सालमा थ्रिस्टारबाट ९ गोल
२०७५ सालमा च्यासलबाट ३ गोल
२०७६ जारी लिगमा ३ गोल