site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
सातौं संस्करणको फर्निचर तथा फर्निसिङ एक्स्पो सुरु

काठमाडौं । सातौं संस्करणको फर्निचर तथा फर्निसिङ एक्स्पो (फर्नेक्स २०१९) सुरु भएको छ । बुधबार एक कार्यक्रमका बिच उपराष्ट्रपति नन्दकिशोर पुनले एक्स्पोको उद्घाटन गरे । नेपाल फर्निचर तथा फर्निसिङ संघको आयोजनामा एक्स्पो सुरु भएको हो । राजधानीको भृकुटीमण्डपमा सुरु भएको एक्स्पो भदौ २९ गतेसम्म सञ्चालन हुनेछ ।

एक्स्पोको उद्घाटन कार्यक्रममा नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष डा. राजेशकाजी श्रेष्ठले मानिसको जीवनमा जुनसुकै बेला पनि आवश्यक पर्ने फर्निचर व्यवसायलाई राज्यले संरक्षण र सहुलियत दिनुपर्ने बताए । सरकारले व्यवसायीमैत्री वातावरण बनाउन भन्दा पनि व्यवसायीलाई तर्साउने काम गरेको उनको आरोप छ । उनले पहिले थुन्ने अनि पछि सुन्ने सरकारको नीतिले निजी क्षेत्र अघि बढ्न नसक्ने बताए । भने, “तर, निजी क्षेत्रले सरकारलाई विस्वास गर्ने वातावरण बनाउनु पर्छ ।”

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

आयोजक संस्था नेपाल फर्निचर तथा फर्निसिङ संघका अध्यक्ष रुपेश प्रधानले कच्चा पदार्थको सहज उपलब्धता नभएका कारण मुलुकमा फर्निचर व्यवसाय फस्टाउन नसकेकोतर्फ सरकारको ध्यानाकर्षण गराए । दक्ष जनशक्तिको अभाव सँधै खड्किँदा अन्य मुलुकबाट जनशक्ति आयात गर्नु पर्ने अवस्था आएको भन्दै उनले प्रोत्साहनमुखी ठोस नीति ल्याउन सरकारसँग आग्रह गरे । मुलुकभर १० हजार फर्निचर तथा फर्निसिङ व्यवसायी रहेको र ५ लाखभन्दा बढीले रोजगारी पाइरहेको भए पनि यो क्षेत्रलाई सरकारले प्राथमिकतामा राख्न नसकेको उनको गुनासो थियो । 

संघका निवर्तमान अध्यक्ष राजेश अग्रवालले आयातमुखी व्यवसायले व्यापार घाटा बढाएको मात्र नभई स्वदेशी उत्पादनलाई प्रतिष्पर्धी बनाउन नसकिएको बताएका थिए । विलासिता मात्र नभई अत्यावश्यकीय वस्तुका रुपमा फर्निचरजन्य उत्पादनको प्रयोग बढ्दै गएको अवस्थालाई सरकारले प्राथमिकतामा राख्नु पर्ने अग्रवालको तर्क थियो ।

एक्स्पोको व्यवस्थापन इभेन्ट सोलुसन प्रालिले गरेको छ । विगत वर्षको तुलनामा परिस्कृत रुपमा एक्स्पो सुरु गरिएको बताइएको छ । एक्स्पोमा स्वदेशी तथा विदेशी गरी १ सय २० भन्दा बढी प्रदर्शकहरुको सहभागिता रहेको आयोजकले जनाएको छ ।

मेलामा किचन, बेडरूम, बाथरूमका साथै आउटडोर फर्निचर, इन्टेरियर डिजाइनर, कार्पेट, मार्बल लगायत सामग्री एक्स्पोको मुख्य आकर्षण बन्ने विश्वास गरिएको छ । यसैगरि कार्पेट, पर्दा, म्याट्रेस, डेकोरेसन सामग्री, होम डेकोर, अफिस फर्निचर, होम अप्लाइन्सेज, मेसिनरी औजारका साथै वास्तुसँग सम्बन्धित उत्पादन पनि एक्स्पोको आकर्षण बन्ने छ । 

फर्निसिङ व्यवसायमा आधुनिक प्रविधि भित्र्याउँदै फर्निचरजन्य उत्पादनमा मुलुकलाई आत्मनिर्भर बनाउन एक्स्पोले टेवा पुर्याउने अपेक्षा गरिएको छ । नेपालमा उपलब्ध फर्निचर तथा फर्निसिङका उत्पादनको प्रवद्र्धन गर्ने उद्देश्यले सन् २०१२ देखि नियमित रुपमा फर्नेक्स मेलाको आयोजना हुँदै आएको छ ।
 

प्रकाशित मिति: बुधबार, भदौ २५, २०७६  १७:५८
प्रतिक्रिया दिनुहोस्