site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
‘२७ क्लब’का रकस्टार

विकास मरासिनी


२७ संख्या रक संगीतको इतिहासमा निकै अशुभ मानिन्छ । धेरैलाई अचम्म लाग्न सक्छ— आखिर २७ मा के छ ? किन अशुभ भयो ?

२७ वर्षको उमेरमा विभिन्न कारणले आफ्नो जीवनबाट विश्राम लिएका रकस्टार धेरै छन् । जो–जो २७ वर्षमा मरेर गए, तिनीहरू ‘२७ क्लब’मा आबद्ध भए । यो क्लब कुनै अफिसियल क्लब भने होइन । सन् १९३८ मा ब्लुज म्युजिसियन रोबर्ट जोनसन २७ वर्षमा मर्दा त्यति धेरै चर्चा भएको थिएन । तर, सन् १९६९ देखि १९७१ सम्म लगातार ब्राएन जोन्स, जिमी हेन्ड्रिक्स, जेनिस जोप्लिन र जिम मोरिसनको मृत्यु हुँदा बढी चर्चा भयो । अझ बढी त सन् १९९४ मा कर्ट कोबेनले आत्महत्या गर्दा भयो । कोबेनपछि एमी वाइनहाउस पनि २७ वर्षको अल्पायुमै क्लबमा समावेश भइन् । लागूऔषधको दुव्र्यसनी र अल्कोहिक भएकै कारण यी रकस्टारको ज्यान गयो । पार्टी होस् या टुर, अथवा कन्सर्ट नै किन नहोस्— उनीहरू जतिबेला पनि नशामा हुन्थे । रकस्टारहरु ‘वाइल्ड’ जीवनशैली रुचाउँछन् । यो त सबैलाई थाहा भएकै कुरा हो ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

सबैले आ–आफ्ना दुुखद घटना छाडेर गएका छन् । प्रसिद्धिको लागि दिनरात लागिपरेका ती रकस्टारले प्रसिद्धिपछि किन मुुक्तिको बाटो रोजे ? संगीतको इतिहासमा कहिल्यै नमेटिने र कहिल्यै नसुुल्झिने रहस्य नै बनेर रहेको ‘२७ क्लब’मा आबद्ध केही रकस्टारको बारेमा संक्षिप्त रूपमा तल वर्णन गरिएको छ—

१) रोबर्ट जोन्सन

रोबर्ट जोन्सनलाई ‘फादर अफ ब्लुज’ भनेर चिन्ने गरिन्छ । उनको जन्म १९११ मे ८ मा अमेरिकाको मिस्सिसिपीमा भएको हो । रोबर्टलाई राम्रोसित गितार बजाउन आउँदैनथ्यो । तर, गीत भने गजब लेख्थे । एक्कासि उनको गितारकलामा धेरै परिवर्तन भयो । कसैकसैले त रोबर्टले गितारकलाका लागि आफ्नो आत्मा ‘डेभिल’लाई बेचेको भन्छन् । सन् १९३८ मा २७ औं जनमदिनको केही महिनापछि रोबर्ट गितार बजाउँदै हिँडे । यसै क्रममा कसैले उनलाई खोलेको ह्विस्कीको बोतल दियो । त्यसको तीन दिनपछि पोइजनिङ र निमोनियाबाट ग्रसित भई उनी स्वर्गे भए ।

त्यो दिन थियो अगस्ट १६ । उनले जम्मा २९ वटामात्र गीत रेकर्ड गरे । इन्टरनेटमा उनको ओरिजिनल फोटो दुई या तीनभन्दा धेरै भेटिँदैनन् । ब्लुजलाई अझ सशक्त बनाउने सपना उनको यत्तिकै रह्यो । इरिक क्ल्याप्टन भन्छन्, “रोबर्ट जोनसन आजसम्मकै महत्वपूूर्ण ब्लुुज म्युुजिसियन हुुन् ।”

थोरै बाँचे पनि उनले संगीतको क्षेत्रमा ठूलो छाप पारे ।

२) ब्राएन जोन्स

ब्राएन जोन्स बेलायती रक ब्यान्ड ‘द रोलिङ स्टोन’का संस्थापक सदस्य हुन् । उनको जन्म २८ फेब्रुुअरी १९४२ मा भएको हो । उनका बुुवाआमा दुुबै त्यो समयका जल्दाबल्दा संगीतकर्मी थिए । सानैबाट वातावरण पाएका ब्राएनले गितार, पियानो, स्याक्सोफोन अनि हार्मोनिका पनि बजाउँथे । प्रेमिका गर्भवती भएपछि ब्राएनले १७ वर्षको उमेरमा हाइस्कुुल छाडेर गल्ली अनि बारमा गीत गाउँदै हिँड्थे । यसै क्रममा उनको भेट मिक ज्याग्गर र केइथ रिचाड्र्ससित भयो । त्यो भेटले ब्यान्ड जन्मायो । ब्यान्डले सफलता पाउँदै गयो तर ब्राएनले भने आफ्नो हर्कत छाडेनन् ।

दिनरात ड्रग्स र मदिरामा लागेपछि उनी ब्यान्डबाट निष्कासित भए । ब्यान्डबाट निस्केको केही महिनापछि उनको मृत शरीर स्विमिङ पुलमा भेटियो । त्यो दिन थियो, सन् १९६९ को जुलाई ३ । स्विमिङ पुलमा मदिरा र ड्रग्स मिसाइएको थियो । ब्राएनले आफैं पुलमा ड्रग्स र मदिरा मिसाए कि अरूले मिसायो ? यो कुराको रहस्य अझै कसैले खोतल्न सकेको छैन । उनको मृत्युमा ब्यान्डका गितारिस्ट केइथ रिचार्ड्सले भने, “केही न केही षड्यन्त्र त पक्कै भएको छ ।”

३) जिमी हेन्ड्रिक्स

सन् १९४२ नोभेम्बर २७ मा वासिङ्टनमा जन्मेका जिमी हेन्ड्रिक्सले आफ्नो जम्मा ४ वर्षे करिअरमा निकै ठूलो सफलता प्राप्त गरे । उनी भूतपूर्व सैनिक पनि थिए । ‘जिमी हेन्ड्रिक्स एक्सपेरिएन्स’ ब्यान्डको उनी गितारिस्ट अनि भोकलिस्ट हुन् । आफैं गितार बजाउन सिकेका जिमी कहिल्यै संगीतको कक्षामा प्रवेश गरेनन् । ब्यान्डको पहिलो एल्बम ‘आर यु एक्सपेरिएन्स्ड’ले निकै नै धमाका पिट्यो । जिमीको गितारकलाले ब्यान्डलाई थप चर्चामा पु¥यायो । उनको गितारकलाबाट जिम्मी पेज, इरिक क्लाप्टन, केइथ रिचड्र्सलगायतका धेरै गितारिस्ट प्रभावित छन् ।

जिमीको गितारकलाले एउटा युुग नै परिवर्तन ग¥यो । सन् १९७० को सेप्टेम्बर १८ को बिहान आफ्नी प्रेमिकासँग लन्डनमा बसेका बेला उनले ९ वटा स्लिपिङ ट्याब्लेट खाए । जिमीले मदिरा पनि पिइरहेका थिए । उनको मृत शरीर वान्तामा डुबेको थियो । उनले किन यस्तो गरे, रहस्य कहिल्यै खुलेन ।

४) जेनिस जोप्लिन

जेनिस जोप्लिनलाई ‘साइकिडेलिक क्विन’ भनेर पनि चिन्ने गरिन्छ । जेनिसको जन्म १९ जनवरी १९४३ मा टेक्सासमा भएको हो । जेनिसको आवाजमा जादू थियो । सन् १९६६ मा साइकिडेलिक एसिड ब्यान्ड ‘बिग ब्रदर्स एन्ड द होल्डिङ कम्पनी’मा गाउन थालिन् । यो ब्यान्डमा सफलता पाएपछि उनी आफ्नो एकल करिअरतिर लागिन् । एक्लो गायनमा पनि जेनिस जमिन् ।

तर, एक्कासि सन् १९७० अक्टोबर ४ मा उनी क्यालिफोर्नियाको एउटा होटेलमा मृत अवस्थामा भेटिइन् । उनी हेरोइनको ओभरडोजले मरेकी थिइन् । जिमी हेन्ड्रिक्सले संसार छाडेको एक महिना नबित्दै उनी पनि स्वर्गे भइन् । उनले अन्तिम गीतको रूपमा ‘अ वुमन लेफ्ट लोन्ली’ रेकर्ड गरेकी थिइन्, जुन गीत ‘पर्ल’ एल्बममा समेटिएको छ । कतै एक्लो महसुस गरेर जेनिस ‘२७ क्लब’मा त पुगिनन् ?

५) जिम मोरिसन

जिम मोरिसन अमेरिकी रक ब्यान्ड ‘द डुुअर्स’का भोकलिस्ट हुन् । उनको जन्म ८ डिसेम्बर १९४३ मा मेलबर्नमा भएको हो । उनी बच्चैदेखि बुुद्धिमान थिए । उनको चर्चा स्कुुलमा खुुब हुुन्थ्यो । आफ्ना कक्षाका साथीहरूसित मिलेर उनले ब्यान्ड खोलेका थिए । उनी भोकलिस्ट मात्र थिएनन्, कवि पनि थिए ।

उनको कविताप्रतिको लगाव देखेर सबैजना छक्क पर्थे । उनको काव्यिक गीत र ब्लुजी आवाजको वर्णन गरिसाध्य छैन । उनी ‘लिजार्ड किङ’, ‘मिस्टर मोजो राइजिङ’ अनि ‘द लास्ट पोइट’को रूपमा चिनिन्छन् । तर, उनको जीवनशैली एकदम डरलाग्दो थियो ।

दिनरात नशामा डुबिरहन्थे । उनकी प्रेमिकाले सन् १९७१ जुलाई ३ मा पेरिसस्थित अपार्टमेन्टको बाथटबमा उनको शव भेटाएकी थिइन् । उनी हृदयाघातबाट मरेको बताइयो । त्यतिबेला फ्रान्समा शल्यक्रिया गर्ने कानुन थिएन । जिमजस्तै उनकी प्रेमिका पमेला कर्सनको पनि २७ वर्षमै अप्रत्याशित तरिकाले मृत्यु भयो ।

६) कर्ट काबेन

‘निर्भाना’ ब्यान्डका फ्रन्टम्यान अनि गिटारिस्ट हुन् कर्ट काबेन । कर्ट कोबेन सन् १९६७ फेब्रुुअरी २० मा वासिङटनमा जन्मेका हुुन् । उनी ९ वर्षको छँदा बुुवाआमाले डिभोर्स गरेका थिए । त्यो घटनापछि कोबेनको व्यवहार नै परिवर्तन भएको थियो ।

“म त्यो दिन अझै सम्झन्छुु । म मेरा अभिभावकप्रति लज्जित छुु,” कोबेनले भनेका थिए । कर्ट कोबेन नयाँ पुस्ताका ‘आइडल’ नै हुन् । ‘निर्भाना’को दोस्रो एल्बम ‘नेभर माइन्ड’ निकै प्रख्यात भयो । त्यो एल्बमको गीत ‘स्मेल्स लाइक्स टिन स्प्रिट’ यति मन पारियो कि कुरै छाडौं ।

दोस्रो एल्बमको रिलिजपछि कोबेनले अत्यधिक मात्रामा हेरोइन लिन थालेका थिए । सन् १९९४ को अप्रिल ५ मा एकजना इलेक्ट्रिसियनले सियाटलस्थित घरमा कोबेनको शव भेटाए । उनले शटगनद्वारा आत्महत्या गरेका थिए । कोबेनकी आमाले एक अन्तर्वार्तामा भनेकी छन्, “ऊ मूर्ख क्लबमा गयो । मैले उसलाई २७ क्लबमा प्रवेश नगर भनेकी थिएँ तर मानेन । नगई छाडेन ।” कतिपय भन्छन्— कोबेनले स्टारडम सहन नसकेर आत्महत्या गरेका हुन् ।

७) एमी वाइनहाउस

एमी वाइनहाउस ब्रिटिस गायिका हुन् । उनको जन्म १४ सेप्टेम्बर १९८३ मा लन्डनमा भएको हो । १६ वर्षको उमेरमा नाक छेडेको आरोपमा उनलाई स्कुुलबाट निकालिएको थियो । स्कुुलबाट निस्किएपछि उनी नजिककी साथीसित सम्पर्क गरी गायन क्षेत्रतर्फ लागिन् । उनी जाज सोउल विधामा गाउँथिन् । उनका अंकलहरू जाज म्युजिसियन थिए ।

उनको दोस्रो एल्बम ‘ब्याक टु ब्ल्याक’ निकै चल्यो । त्यो एल्बम विश्वभर १ करोड २० लाख प्रति बिक्री भएको थियो । सोही एल्बमबाट उनले ५ वटा ग्रामी अवार्ड जितेकी थिइन् । प्रसिद्धि, पैसा सबैथोक भए पनि एमीको मन ठाउँमा थिएन । अत्यधिक मदिरा सेवन गर्ने एमीले अनेक तनावबीच आफ्नो जीवन चलाइरहेकी थिइन् ।

सन् २०११ जुलाई २३ मा उनी यो संसार छाडेर गइन् । उनको डेथ रिपोर्टले रगतमा मदिराको मात्रा अत्यधिक देखाएको थियो । कर्ट कोबेन मरेको १७ वर्षपछि एमी पनि ‘२७ क्लब’को सदस्य बनिन् । कोबेनको मृत्युुपछि एमीको मृत्युुले पनि संसारलाई चकित पारेको थियो ।
 

प्रकाशित मिति: शनिबार, वैशाख २१, २०७६  ०६:५४
प्रतिक्रिया दिनुहोस्