काठमाडौं । बच्छलादेवी विद्यालयमा सहरका नयाँ मान्छे पुगे । शिक्षकहरुसँग उनीहरुको गफ चल्यो । सुकिलामुकिला लुगा लगाएका मान्छे आक्कलझुक्कल मात्रै आइपुग्ने भएकाले विद्यार्थीहरु उनीहरुलाई चिहाईचिहाई हेर्थे । यसरी हेर्नेमा वृन्दा अधिकारी पनि थिइन् ।
केही दिनमा वृन्दालाई शिक्षक विनोद लामिछाने लगायतले भने, “वृन्दा, टेली चलचित्र खेल्ने हो ?” सदरमुकामदेखि तीन घण्टा टाढाको माझा गाउँ । कक्षा तीनको पढाई । आठ वर्षको उमेर । के हो टेली चलचित्र ? के थाहा वृन्दालाई ! विनोदले नै भने, “नाटक जस्तै हो । क्यामेराले खिच्ने मात्रै हो ।” सहरबाट आएका मान्छे छन् । त्यो पनि कहिल्यै नचिनेका । बालिका वृन्दालाई खेल्ने–नखेल्ने के थाहा ?
“बुवालाई सोध्नुपर्छ,” वृन्दाले भनिन् । बुवाको थाप्लोमा हाल्दिइन् निर्णयको जिम्मा ।
विनोद आफैँ गए वृन्दाका बुवालाई भेट्न । “वृन्दाले गर्ने नाटक मात्रै हो । उनले गरेको नाटक क्यामेराले खिच्ने मात्रै हो । अरु केही फरक छैन,” विनोदले वृन्दाका बुवालाई सम्झाए । “नाटक मात्रै हो भने ठिकै छ नि त, छोरीले मान्छे भने ठिकै छ,” बुवा कन्भिन्स भए ।
काठमाडौंबाट गएका व्यक्ति थिए, युनिसेफका प्रतिनिधि । निर्देशक, क्यामेरा पर्सन रहेछन् । उनीहरुले टेली चलचित्रमा वृन्दाको नाम जुराइदिए–उजेली । वृन्दा उजेली हुने भइन् ।
गाउँका अरु पनि उनीसँगै टेली चलचित्र खेल्ने भए । कोही श्रीमान्, कोही साथी, कोही आमा, कोही बुवा, कोही सासु, कोही ससुरा आदि आदि ।
टेली चलचित्र खिच्न सुरु भयो । नाटक जस्तै रहेछ । क्यामेरा त कहिले कुन कुनामा कहिले कुनामा खासै वास्तै नहुने । घरी घरी फेरि दोहोर्याऊ भन्थे, त्यही थियो फरक । नाटकमा बिग्रियो भने सच्याउन नपाइने तर यसमा त सच्याउन पनि पाइने ।
“नाटक एउटा समय देखाए हुने तर यसका लागि कहिले बिहान, कहिले दिउँसो, कहिले बेलुका त कहिले राति बोलाएर खिच्थे,” उनी सम्झिन्छिन्, “योचाहिँ मेरा लागि अनौठो थियो । अरु त म त्यस अगाडि पनि नाटक गर्ने भएकाले खासै त्यस्तो फरक र अनौठो केही लागेको थिएन ।”
दैनिक घरमा जे हुन्थ्यो र जे गर्थिन् त्यही नै गर्न लगाउँथे । त्यसैले पनि उनलाई खासै भिन्न केही लागेन ।
तर उनको नाम परिवर्तन भएको थियो । वृन्दाबाट उजेली भएकी थिइन् । त्यतिमात्रै हो र ? उनको विवाह पनि भयो, शसी शेखर लम्सालसँग । उनलाई बाहुन भन्नुपर्ने । खुट्टा ढोग्नुपर्ने । श्रीमान्लाई जस्तै व्यवहार गर्दाचाहिँ उनलाई निकै लाज लागेको थियो । त्योसम्म पनि ठिकै थियो । “यसको त बिहे भयो नि । यसको बूढो शशी हो नि भनेर साथीहरुले जिस्काउन थाले, त्यति बेला चाहिँ लाजले भुतुक्कै हुन्थेँ,” उनी २७ वर्ष अगाडि फर्किइन्, “जे नभन्नु भन्ने लाग्थ्यो त्यही भनेर जिस्काउँदा निकै लाज लाग्थ्योे । शशी पढ्ने स्कुल र म पढ्ने स्कुल फरक थियो धन्न ! नत्र झनै जिस्काउने थिए साथीहरुले ।”
‘उजेली’मा गाउँघरमा जस्तो हुन्छ, त्यस्तै देखाइएको छ । बनिबनाउ र काल्पनिक केही छैन । फूलबुट्टा भरिएको छैन । जस्तो हो त्यसैलाई डकुमेन्टेशन गरिएको छ ।
उजेली घरकी कान्छी छोरी । सबैले माया गर्थे । पुलपुलिएकी थिइन् । त्यसैले उनले खासै भाँडा माझ्नु पर्दैन थियो । पानी बोक्न डोकोमा ग्रागी बोकेर घण्टौं हिँडेर खोलासम्म पुग्नु पर्दैैन थियो । गाउँमा भने त्यो समस्या थियो । आँखै अगाडि देखिरहेकाले उनले गरिन् । अफ्ठ्यारो भएन ।
साँझ विहान, दिन रात गरेर दुई महिनामा ‘उजेली’ खिचेर सकियो । खिचेर सकेको केही दिनमा गाउँका दुईतीन ठाउँमा पर्दा राखेर गाउँभरीमा मान्छे बोलाएर ‘उजेली’ देखाइयो । हेर्न परिवारसहित हेरिरहेकी कति ठाउँमा उजेलीलाई राम्रो लाग्यो तर त्योभन्दा धेरै लाज लाग्यो ।
दुई महिना लगातार अभिनय गरेको टेली चलचित्र कति चाँडै सकियो ? उजेलीलाई अचम्म लाग्यो ।
दुई महिना काम गरेको कति पैसा दियो युनिसेफले ?
पैसाको कुरा त वृन्दासँग उनीहरुले गरेका थिएनन् । तर बुवालाई तीन हजार रुपैयाँ दिएका रहेछन्, २७ वर्ष अगाडि आफूले पाएको पारिश्रमिक खुलाउँछिन् उनी ।
पछि टेलिभिजनबाट पनि प्रशारण भयो, ‘उजेली’ । त्यो बेला पनि हेरिन् । हेर्ने जति सबैले राम्रो भने । मख्ख पर्थिन् उनी ।
० ० ०
कक्षा ५ मा पढ्दै गर्दा उनी काठमाडौं आइन् । एसएलसी राम्रै भयो । नर्सिङ पढ्न आफन्तले सुझाए । पढिन् । न्यूरो हस्पिटल बाँसबारीमा ६ वर्ष काम गरिन् ।
‘उजेली’मा अभिनयको त्यत्रो तारिफ पाएकी उनलाई काठमाडौं आएपछि न कसैले अभिनयका लागि बोलाए, न उनले नै त्यो अवसरका लागि खोज गरिन् । नर्सिङमै रमाइन् ।
नर्सिङको विदेशमा राम्रो स्कोप छ भन्ने सुनिन् । कतार पुगिन् । “साँच्चै कति सिस्टमेटिक छ त्यहाँ । हाम्रो नेपालमा कहिले हुन्छ त्यस्तो,” उनी भन्छिन् ।
तीन वर्ष अगाडि उनले साँच्चैको ‘बाहुन’ भेटिन् । विवाह भयो । “८ वर्षको उमेरमा उजेलीमा विवाह हुँदा लाज लागेको थियो । तर साँच्चै अहिले विवाह हुँदा लाजभन्दा पनि तनाव र चटारोले नै पिरोल्दोरहेछ,” उनले सम्झिइन्, “पर्दामा भएको बिहे साँच्चै बिहे हुँदा चटारोले सम्झिदा पनि सम्झिँदोरहेनछ ।”
२७ वर्षपछि, एक दिन युनिसेफको पेजमा उनले फेरि ‘उजेली’को भिडियो देखिन् । युनिसेफले आफ्नो फेसबुक पेजमा सेयर गरेको रहेछ ।
“त्यसपछि मलाई पत्रकारहरुले फोन गर्न थाल्नुभयो । अन्तर्वार्ता लिन आउन थाल्नुभयो । मेरो अभिनयको तारिफ गर्दै समाचारहरु आउन थाले,” उनी नोस्टाल्जिक हुन्छिन्, “२७ वर्षपछि मैले त्यसबेला गरेको कामको फेरि एकपटक मूल्यांकन र चर्चा भयो ।” टिकटकमा उनको भिडियो बन्न थाले । फेसबुक र युट्युबमा उनका समाचार बाक्लै आए ।
अहिले उनलाई अभिनयको अफर आउन थालेका छन् । एउटा म्युजिक भिडियोमा उनले अभिनय पनि गरिन् । अहिले एउटा टेलिसिरियलको तयारीमा छिन् उनी ।
“नर्सिङ पेशा छोडेर अभिनयमा मात्रै त लाग्दिन तर केही राम्रो अफर आए काम भने गर्नुपर्छ भन्ने सोचमा छु,” उनी भन्छिन् ।
बाल विवाह विरुद्ध अवाज उठाउने ‘उजेली’मा उजेली अथवा मुख्य पात्रको भूमिकामा वृन्दा अधिकारी छिन् भने उनको श्रीमान् (बाहुन)को भूमिकामा शशी शेखर लम्साल रहेका छन् । स्क्रिनप्ले र संवाद दीपेन्द्र गौचन र कुवेर गर्तौलाको छ भने कथा तथा निर्देशन दीपेन्द्र गौचनको छ ।
तस्बिर/भिडियोः सरिता खड्का