काठमाडौं । चलचित्र चलेनन् । फलप् भए । निर्माताको हात पुर्पुरोमा पुग्यो । कलाकार र निर्देशकको फलप् चलचित्रको सूचीमा अर्को एउटा संख्या थपियो । चलचित्र क्षेत्रबाट एउटा निर्माता पलायन भयो । र, दर्शकले फेरि एकपटक मूल्यांकन गर्छन्, - नेपाली चलचित्र यस्तै हुन् । अर्थात, राम्रै हुँदैनन् । ‘झुर’ चलचित्र हेर्न चार सय रुपैयाँ बेकार खर्च गरिएछ । नेपाली चलचित्रले भोग्दै आएको तीतो सत्य हो यो ।
गत वर्ष ९६ वटा चलचित्र रिलिज भए । हप्तामा करिब दुई वटा चलचित्र रिलिज हुँदा मुस्किलले पाँच प्रतिशतले आफ्नो लगानी सुरक्षित गर्दा अधिकांशले लगानी डुबाए । सञ्चारमाध्यममा चलचित्र फलप् भएका समाचार छापिए । अपेक्षा गरिएका चलचित्रका समीक्षा आए । अधिकांश समीक्षकले निर्देशकको कमजोरी औंल्याए । कथा र अभिनयमा खोट लगाए ।
चलचित्र राम्रा बनेन्, यसको अर्थ राम्रा चलचित्र बन्नुपर्छ भन्ने नै हो । राम्रो चलचित्र बनाउँ र पैसा कमाउँ भन्ने कसलाई मन छैन र ? तर राम्रा चलचित्र कसरी बन्छन् ? यसका लागि सार्थक बहसको जरुरी रहेको छ । यद्यपी उपयुक्त प्लेटफर्म नभएको चलचित्रकर्मीहरु गुनासो गर्छन् । चलचित्र लेखक तथा निर्देशक विनोद पौडेल चलचित्र बुझेका र चलचित्रको भित्री तहसम्म पुगेर बुझ्ने चलचित्रकर्मी तथा पत्रकाहरु कम रहेको चलचित्रबारे ओपन डिस्कसन गर्ने ठाउँ नेपालमा नभएको गुनोसो गर्छन् ।
“चलचित्र हिट र फलप् भन्दैमा समीक्षा हुँदैन । कथा मात्रै चलचित्र होइन । चलचित्र को हो र कसरी बनाउने भन्नेबारे राम्रो जानकारी भएका व्यक्तिहरुबीच चलचित्रबारे डिस्कोर्स गर्ने ठाउँ खोइ ?,” निर्देशक पौडेल प्रश्न गर्छन्, “हाम्रोमा चलचित्र राम्रो भएन भनेर हामी भन्छौं । चलचित्र राम्रो छैन होला भनेर मनमा शंका बोकेर दर्शक हलमा जानुहुन्छ । यो अवस्थाको अन्त्य ओपन फोरममा हुने डिस्कसनले मात्रै गर्छ । यस्तो फोरम अहिलेसम्म नेपालमा भएकै छैनन् ।”
चलचित्र निर्देशक तथा लेखक नरेशकुमार केसी चलचित्रको कथा र अभिनयलाई मात्रै चलचित्र हो भन्ने बुझाइ रहेको बताउँछन् । “चलचित्र भनेको कथा र अभिनय मात्रै हो भन्ने हाम्रो सामान्य बुझाई । तर वास्तवमा कथा र अभिनय मात्रै चलचित्र होइन,” केसी बाह्रखरीसँग भन्छन्, “कथा, पटकथा, अभिनय, सिनेमेटोग्राफी, लाइट, आर्थिक, समाजिक, राजनीतिक प्रभाव पनि चलचित्रमा समेटिन्छ ।”
“चलचित्र समीक्षक समाजले सुरूमा सन्डे र मण्डे मुभी भनेर चलचित्रबारे ओपन डिस्कसन सुरू गरेको छ । यसमा सहभागिता र प्रभाव कति राख्यो भन्ने हो । तर यो ओपन डिस्कसनको सुरुआत हो,” उनी भन्छन्, “नेपाल चलचित्र र यसको एजुकेसनको हिस्ट्र लामो नभएका कारण पनि चलचित्रबारे छलफल हुँदैनन् ।”
चलचित्र मनोरञ्जनको साधनजस्तो मात्रै भएको बुझाइ आम व्यक्तिमा रहेको उनी बताउँछन् । यद्यपी आर्थिक, समाजिक, सांस्कृतिक विषयलाई चलचित्रले उठान गर्नसक्नु पर्ने केसी बताउँछन् ।
मेन स्ट्रिमका चलचित्रबाट समाजका आम विषयको अपेक्षा गर्न नसकिने र यस्ता विषय उठान गर्नका लागि मुलधारभन्दा बाहिर गएर बहस र छलफलको आवश्यकता रहेको उनी बताउँछन् ।
“चलचित्रको विषय माया प्रेम मात्रै हुँदैन । समाजमा रहेका थुप्रै विषयलाई चलचित्रमा उठान गर्न सकिन्छ । टुटल, पठाओ, सुनतस्करी, जग्गा दलाली, हत्या, बलात्कार जस्ता विषय किन नेपाली चलचित्रले उठान गर्न सकेनन्,” निर्देशक केसी प्रश्न गर्छन्, “निर्मला हत्या काण्डले १० महिनासम्म सञ्चारमाध्यममा स्थान पाउँदा हामीले चलचित्रमा यो विषयलाई किन उठान गर्न सकेनौं ?”
अनावश्यक पक्षले सञ्चारमाध्यममा प्रवेश पाइररेको तर बहस हुनुपर्ने विषय उठान नै हुन नसकेको उनी बताउँछन् । “यहाँ सनी लियोनीले आइटम गीतमा डान्स गरेको ८० लाख रुपैयाँ पाएको खबर बन्छ तर १४ लाखमा बनेको चलचित्रबारे कसैलाई खबर नै हुँदन” नरेश भन्छन्, “सनी लियोनीको पारिश्रमिकको खबर बनाउनु हुन्न भन्ने होइन तर ‘चक्कर’ चलचित्र कसरी १४ लाखमा बन्यो भन्ने विषयमा पनि त समाचार बन्न सक्थ्ये होला ।”
निर्देशक तथा लेखक विनोद पौडेल पनि अनावश्यक विषयमा बहस भइरहेको र यसले चलचित्रलाई सही बाटो दिन नसक्ने बताउँछन् ।
सांकेतिक तस्बिर