site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
गायक पशुपति शर्मालाई मानपदवीका लागि खबरै गरिएन !

काठमाडौं । गृह मन्त्रालयले २०७५ साल असोज ३ गते संविधान दिवस (राष्ट्रिय दिवस) का दिन घोषित विभूषणहरुमध्ये मानपदवी प्राप्त गर्ने व्यक्तिहरुको नामावली सार्वजनिक गर्‍यो ।

विभिन्न क्षेत्रका व्यक्तिलाई प्रदान गरिएको नेपाल रत्न, महाउज्ज्वल राष्ट्रदीप, सुप्रसिद्ध प्रवल जनसेवा श्री, उज्ज्वल कीर्तिमय राष्ट्रदीप, सुकीर्तिमय राष्ट्रदीप, सुप्रवल जनसेवा श्री, कीर्तिमय राष्ट्रदीप, प्रवल जनसेवा श्री र जनसेवा श्री मध्ये गायक शर्मालाई प्रबल जनसेवा श्री प्रदान गर्ने सरकारले निर्णय गरेको थियो । 

गत असोज ३ गते सरकारले घोषणा गरेको उक्त मानपदवी आइतबार अर्थात नयाँ वर्षको दिन राष्ट्रपति विद्यादेवी भण्डारीले प्रदान गरेकी थिइन् । सरकारले मानपदवी प्रदान गर्नका लागि निर्णय गरेर खबर पठाएका अधिकांश व्यक्ति प्राप्त मानपदवी ग्रहणका लागि सरकारले तोकेको पोशाक र समयमा राष्ट्रपति कार्यालय पुगे पनि प्रबल जनसेवा श्री (चतुर्थ श्रेणी) को ९ नम्बरमा नाम रहेका गायक पशुपति शर्माले भने खबर पाएनन् ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

\"\"

शर्माले केही समयअघि ‘लुट्न सके लुट् कान्छा, अरु देशमा पाइँदैन नेपालमै हो छुट’ बोलको गीतमा राष्ट्रपति, प्रधानमन्त्रीलगायतलाई व्यङ्ग्य गरेको भन्दै सत्तारुढ पार्टीका कार्यकर्ताले धम्की दिएपछि युट्युबबाट हटाएका थिए ।

सरकारलाई यस्ता गीत प्रतिबन्ध लगाउन माग गरिरहेकै बेला युवासंघका कार्यकर्ताले शर्मालाई टेलिफोन गरेर गीत हटाउन धम्की दिएपछि उनले युट्युबबाट उक्त गीत हटाएका थिए ।

नयाँ वर्षको दिनमा शर्मा भने पर्वतको कुश्मामा भएको कार्यक्रममा पुगेका थिए । असोज ३ गते सरकारले मानपदवी घोषणा गर्दा आफ्नो नाम परेको थाहा पाए पनि आइतबार प्रदान गरिँदैछ भन्ने आफूलाई सम्झना नभएको र खबर पनि नपाएको शर्माले बताए । 

“पदक घोषणा गर्दा मेरो पनि नाम छ भनेर मैले कसैबाट सुनेको थिएँ । तर नयाँवर्षको दिन प्रदान गरिँदैछ भन्ने मलाई जानकारी थिएन,” गायक शर्माले बाह्रखरीसँग भने, “आइतबार प्रदान हुँदैछ भन्ने मैले त्यसैदिन बिहान ८ बजे मात्रै थाहा पाएँ । म त्यतिबेला पर्वतको कुश्मामा एउटा कार्यक्रमा थिएँ ।”

उनले आफूलाई सरकारबाट औपचारिक रुपमा कुनै जानकारी नआएको बताए । यद्यपि पछिल्लो समय कार्यव्यस्तताले मोबाइल साइलेन्स मोडमा हुने हुँदा नउठेको हुन सक्ने उनको भनाइ छ ।

“मैलै मानपदवी बहिष्कार गरेको होइन । लिन्न भनेर नलिएको पनि होइन । बहिष्कार गरेको पनि होइन । आजकाल धेरैजसो फोन म उठाउँदिन । कति त मोबाइल साइलेन्स मोडमा पनि हुन्छ । सरकारले फोन गरेका बेला फोन नउठेको पनि हुन सक्छ,” उनले स्पष्ट पारे ।
मानपदवी पाउने सम्बन्धित व्यक्तिलाई गृह मन्त्रालयले फोन गरेर राष्ट्रपति कार्यालयमा जाने चिठ्ठी लिन मन्त्रालय आउनका लागि बोलाउने गरेको छ । 

प्रबल जनसेवा श्री मानपदवी पाउने व्यक्तिलाई गृहले २६ गते फोन गरेर राष्ट्रपति कार्यालय सितल निवास प्रवेशका लागि तयार भएको चिठ्ठी लिन आउनका लागि खबर गरेको थियो । 

फाइल तस्बिर 
 

प्रकाशित मिति: मंगलबार, वैशाख ३, २०७६  ०७:५१
प्रतिक्रिया दिनुहोस्