site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
राजनीतिक दल, पत्रकार, एनजीओ र आइएनजीओमाथि ओलीको आक्रोशः माओवादी भारतसँग लम्पसार भयो 
NIC Asia Banner ad
Argakhachi Cement Island Ad

काठमाडौं । पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले विभिन्न राजनीतिक पार्टी, पत्रकार, पत्र पत्रिका, विभिन्न एनजीओ तथा आईनजीओमाथि आक्रोशपूर्ण अभिव्यक्ति दिएका छन् । 
आइतबार राजधानीमा नेकपा एमालेले संविधान कार्यान्वयन गर्न आफ्ना कार्यकर्तालाई दिइएको प्रशिक्षण कार्यक्रममा अध्यक्ष ओलीले नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र ) , मधेसवादी दलहरु, पत्रकार, लेखक र विभिन्न कुटनीतिक नियोगहरुको तिव्र आलोचना गरेका छन् । 
आफू प्रधानमन्त्री रहँदा प्रमुख सत्तासाझेदार समेत रहेको दल माओवादी केन्द्रलाई ओलीले भारतसँग लम्पसार परेको आरोप लगाए । उनले कांग्रेसले तराईमा भएको आफ्नो जीतलाई समेत भुलेको टिप्पणी गरे । यसैगरी एमाले अध्यक्ष ओलीले मधेसवादी दलहरुलाई तराईमा सामाजिक विभेद गर्ने जमिन्दारहरुको संज्ञा दिए । च्यासलस्थित तुलसीलाल अमात्य प्रतिष्ठानमा भएको कार्यक्रममा आफ्नै मौलिक पहिचानका साथ ठट्यौली भाषामा भाषण गर्ने पूर्वप्रधानमन्त्री ओलीको आक्रोश राजनीतिक दलहरुमा मात्र सीमित रहेन । उनले नेपालमा आएका विभिन्न आइएनजीओहरुले द्वन्द्व फैलाएको मात्र नभई क्रिश्चियन धर्मको विज्ञापन गरेको आरोप लगाए ।
अन्य दिनभन्दा फरक पहिरनमा उपस्थित भएका ओलीले पत्रकारहरुले विभिन्न प्रलोभनमा परी आफ्नो विरुद्व समाचार लेखेको आक्रोश पोखेका छन् । उनले पत्रकारले रक्सीको लोभमा आफ्नाविरुद्व समाचार लेखेको आरोप लगाए । ओलीले राँगाको सुकुटिको भरमा पत्रकारले आफनाविरुद्व अनर्गल प्रचार गरेको बताए ।
माओवादी केन्द्रमाथि ओलीको पहिलो प्रहार
ओलीले माओवादी पार्टी विदेशीहरुसँग लम्पसार परेको आरोप लगाए । कार्यक्रममा उनले माओवादी केन्द्र भारतसँग लम्पसार परेको आरोप लगाए ।  ओलीले भने, “माओवादीको कांग्रेसँग मित्रता छ । मधेसी नेता भन्नेहरुसँग सम्झौतै छ । भारतसँग त उ लम्पसार नै परेको छ ।”
माओवादीलाई पार्टी विदेशीको इशारामा चलेको आरोप लगाउँदै ओलीले माओवादीलाई अरु कसैले टाउको बाहेक सबै खाइसकेको बताए । उनले भने, “माओवादीको अरु कसैले टाउको बाहेक सबै निलिसकेको छ । तैपनि टाउकोले झिंगा पुतली तान्दैछ । एमालेको विरोध गर्दैछ । माओवादीले अहिले पनि एमालेको विरोध गर्नु भनेको यसको म अहिले धेरै चर्चा गर्न चाहन्न । भवितव्य अलिक समय सरकारमा छ । अलिक समयलाई न हो ।”

मधेसवादी दलहरुविरुद्व ओलीको आक्रोश
पूर्व प्रधानमन्त्रीले ओलीले मधेसवादी दलहरुलाई पैसाको खेती गरेको आरोप लगाए । उनले मधेसवादी दलहरुले तराईको जनताको भावनामाथि खेलवाड गरेको बताउँदै पैसा कमाउने व्यवसायमा लागेको आरोप लगाएका हुन् । ओलीले भने, “तराइका मसिहा भन्ने दलहरुले मुद्दा जनताको लिएर मुद्रा जम्मा पारेका छन् । उनीहरु मुद्दा जनताका देखाउँछन् तर मुद्रा खल्तिमा हाल्छन् ।”
आफू नेतृत्वको सरकार ढाल्न प्रमुख भूमिका खेलेका मधेसवादी दलहरुप्रति निकै आक्रोसित देखिएका एमाले अध्यक्ष ओलीले मधेसवादी दलहरुले तराईमा सामाजिक विभेद गरेको आरोप लगाए । उनले भने, “मधेसका मसिहाहरु अहिले पनि त्यहाँ जागरण नल्याउने, आमा दिदी बहिनीलाई बोक्सि भनेर पिट्ने, आफ्नै छिमेकीलाई आँगनको इनार छुन नदिने, चापाकल छुन नदिने, ती गर्नेहरु तिनै जमिन्दारहरु हुन् । मधेसका मुद्दा, पहिचान ती सबै भावनाका कुराहरु हुन् । भड्काउने कुरा हुन् ।”
उपेन्द्र यादव र पूर्व सहकर्मी अशोक राईप्रति ओलीको धारणा
कुनै बेला आफ्नै पार्टीका कार्यकर्ता रहेका उपेन्द्र यादव र पार्टीको केन्द्रीय उपाध्यक्ष समेत रहेका अशोक राईप्रति समेत कार्यक्रममा ओलीले आक्रोश पोखे । उनले यादवले तराईमा र राईले जनजातीमाझ एमालेले मधेस र जनजातीविरोधी भएको भ्रम फिँजाएको आरोप लगाए । ओलीले उनीहरु आफैँ भ्रममा रहेको बताए । उनले भने, “जनजाती पहिचानका कुरा उठाएर हिँड्ने अशोक राई उपेन्द्र यादवको कार्यकर्ता बनेर हिँड्या छन् । एमालेले जनजातीको कुरा गरेन उपेन्द्रले जनजातीका कुरा, पहिचानका कुरा गर्छन् भनेर हिँडेका छन् । एउटा ठाँउ विशेषका पार्टी, एउटा जात विशेषको संगठन, जसको सिंगो राष्ट्रको एजेण्डा नै होइन । त्यो एकता । सुन्दाखेरी आश्चर्य लाग्यो कि लागेन ? अशोक राई र उपेन्द्र यादवले मित लाए । अचम्म लाग्यो कि लागेन ? गज्जबको मितेरी । एउटाले भन्छ मधेसीको पहिचान अर्काेले भन्छ जनजातीको पहिचान । तैपनि निधारमा टुटुल्को उठ्नेगरी टाउको जोडे । अचम्म होइन ? कति नक्कली काम छ । कति नक्कली कुरा छ ।”
ओलीको चौथो प्रहार पत्रकारमाथि
आफ्नो चोटिलो बोलीले एकपछि अर्कोलाई प्रहार गरेका ओलीको चौथो प्रहार पत्रकारमाथि प¥यो । उनले पत्रकारले राँगाको सुकुटी र एक पेग रक्सिमा आफूविरुद्व गलत समाचार लेखेको गम्भीर आरोप लगाए । पूर्व प्रधानमन्त्री समेत रहेका ओलीले भने, “एउटा बाबुले लेखेछ । केपी काँड, कम्रेड हैन काँड । तपाईले एक करोड युनिट महाकालीबाट आउँछ भन्नु भको थियो । खोइ एक करोड युनिट ? एक करोड युनिट कति रहेछ ? उसलाई कति हो थाहा रहेनछ । एक करोड युनिट भनेको एक मेगावाट हो । तर हामीले महाकालीबाट एक करोड हैन सात करोड युनिट लिइरहेको छौं ।”
माओवादीले एमालेको विरोध गर्न पत्रकारसमेतलाई प्रयोग गरिरहेको आरोप लगाए । उनले भने, “महाकालीको समाचार लेख्नेलाई कसैले एक पेग खुवाइदियो । त्यति हो । एक पेग लिएपछि ठोक्दियो उसले । खोइ एक करोड युनिट ? तँपाइको राष्ट्रवाद महाकालीमै हरायो नि । लास पनि नभेटिने गरी हरायो नि ।” यस्तो गलत समाचार लेख्ने पत्रकारलाई देशको कुनै माया नभएको ओलीको प्रष्टोक्ति थियो । ओलीले पत्रकारप्रति आक्रोस पोख्दै अगाडि थपे, “कुखुराको सितन दियो जस्तो लाग्दैन । राँगाको सुकुटी दिएर काम चलाए छ केटालाई । दुई गिलास ख्वाइदियो लेख्दियो ।”
 
माओवादीले एमालेविरुद्ध मिडिया प्रयोग गरेको आरोप 
एमालेको नीतिहरु, उपलब्धिहरु, प्रयासहरु कमजोर पार्न माओवादीले गम्भीर षड्यन्त्र गरेको ओलीले आरोप लगाए । यसको लागि माओावादीले मिडियाको प्रयोग गरेको आरोप लगाएका हुन् । “माओवादीले अहिले फुर्सदका गफ चलाएको छ । त्यो फुर्सदका गफ भनेको केही हैन । मात्र एमालेकाविरुद्व तथानाम गालि गर्न चलाएको हो । त्यो फुर्सदको गफ हेर्ने हो भने देख्नुहुन्छ । तर नहेर्नुहोला, बेकारमा खोलेर यति चल्यो भन्ने मात्र हुन्छ । माओवादीले एमाले विरोध गर्न के के गरेको छ । मैले भनिरहनपर्छ जस्तो लाग्दैन  पत्रिका सत्रिका के के भनेर चलाएको छ नि माओवादीले ।”
आइएनजीओप्रतिको टिप्पणी
कार्यकर्तालाई प्रशिक्षण दिने क्रममा ओलीले विभिन्न देशका आइएनजीओले नेपालमा धर्मको प्रचार गरेको आरोप लगाए । उनले ती संस्थाहरुले गरिब बस्तीमा पुगी चाउचाउ सँगै बाइबलसमेत दिने गरेको बताए । समाजमा जागरणको नाममा संस्थाहरुले समाजमा द्वन्द्व चर्काएको आरोप लगाए । “बग्रेल्ति आएका बाहिरी संस्थाहरुले नेपालमा भौतिक विकास नभई खाली जागरणको कुरा गरेर समाजमा द्वन्द्व निम्त्याएका छन् । सक्ने भए यिनीहरुले श्रीमान् श्रीमतीबीच झगडा लगाएर समन्वयकर्ता नामको अर्काे एनजीओ खोल्थे,” उनले भने, “ती संस्थाले सक्ने भए आफ्नो देशमा फर्केर महिलालाई राष्ट्रपति, महिलालाई सभामुख, प्रधानन्यायाधिश, पार्टी प्रमुख बनाए भोनी । नेपालमा अब जागरण चाहिएको छैन । विकास चाहिएको छ ।”


 

प्रकाशित मिति: आइतबार, मंसिर ५, २०७३  १९:२४
प्रतिक्रिया दिनुहोस्