site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
दिव्यदृष्टि
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

दृश्य : एक
(यमुनाको किनारमा रहेको कल्पीस्थित वेदव्यासको आश्रम । शान्त वातावरणमा वेदव्यास आश्रम बाहिर बसिरहेका छन् । उनी केही लेख्नमा व्यस्त छन् । राजा धृतराष्ट्र आफ्ना सारथि सञ्जयको सहारामा आश्रममा आइपुग्छन् । अचानक राजा धृतराष्ट्रलाई आफ्नो आश्रममा देखेर वेदव्यास आश्चर्य मान्छन् । उनी आफ्नो ठाउँबाट उठेर राजाको स्वागत गर्छन् ।)

वेदव्यास : (स्वागत गर्दै) ओहो ! महाराज धृतराष्ट्र, तपाईं यहाँ ? 

धृतराष्ट्र : (वेदव्यासलाई प्रणाम गर्दै) हजुरले मलाई ‘तपाईं’ भन्दा साह्रै अप्ठ्यारो महुस हुन्छ, महर्षि वेदव्यास । कस्तो नमिल्दो कुराजस्तो लाग्छ । हाम्रो परम्परा र संस्कृतिमा पिताले पुत्रलाई ‘तपाईं’ भनेर सम्बोधन गरेको मलाई थाहा छैन ।

KFC Island Ad
Dabur Nepal
NIC Asia

वेदव्यास : हाम्रो परम्परा र संस्कृतिमा राजालाई प्रजाले ‘तँ’ वा ‘तिमी’ भनेर सम्बोधन गरेको मलाई थाहा छैन । राजा र प्रजाको सम्बन्धमा प्रजा–पिताले राजा–पुत्रलाई अति आदरका साथ ‘तपाईं’, ‘हजुर’ भनेर सम्बोधन गर्नु हाम्रो धर्म हो । 

धृतराष्ट्र : तर, मलाई यो कुरो मिलेजस्तो लाग्दैन । 

Royal Enfield Island Ad

वेदव्यास : यो मिल्ने र नमिल्ने भन्ने कुरै होइन ।  राजा राजाकै ठाउँमा रहनुपर्छ, प्रजा प्रजाकै ठाउँमा रहनुपर्छ । हाम्रो धर्म यही हो । (ठाउँ देखाउँदै) राजहोस् महाराज । 
(तीनैजना बस्छन्)

धृतराष्ट्र :  धेरै समय भयो हजुरसँग भेट नभएको, भेटघाट गरौँ भनेर आएको हुँ, महर्षि ।

वेदव्यास : खबर गर्नुभएको भए त मै आइहाल्थेँ नि, तपाईंले यस्तो दुःख गर्नुपर्ने नै थिएन । 

धृतराष्ट्र : पानी खानु छ भने तिर्खा लागेको मानिस आफैँ धाउनुपर्छ भन्छन् । म पनि त्यही सम्झेर आएको हुँ । तिर्खा लागेरै आएको हुँ भन्दा पनि हुन्छ ।

वेदव्यास : कस्तो तिर्खा, राजन् ? 

धृतराष्ट्र : म हजुरबाट एउटा आशीर्वाद चाहन्छु, महर्षि । 

वेदव्यास : कस्तो आशीर्वाद ? 

धृतराष्ट्र : म राजा छु, तर राजा भएर पनि अन्धकारमा छु । केही देख्न सक्दिनँ । हजुर कस्तो हुनुहुन्छ भन्ने पनि मलाई थाहा छैन । मेरी माता अम्बिका कस्तो हुनुहुन्छ भन्ने पनि थाहा छैन । मेरी पत्नी गान्धारी कस्ती छिन् भन्ने पनि थाहा छैन । छोराहरू पराक्रमी छन् भन्ने त थाहा छ, तर उनीहरू अनुहारमा कति सुन्दर छन् भन्ने पनि थाहा छैन । मेरो राज्य कस्तो छ भन्ने कुराबाट पनि म अनभिज्ञ छु । मेरो दरबार कस्तो छ भन्ने कुरा समेत मलाई थाहा छैन । राजा भएर पनि यस्तो अवस्थामा रहनुपर्दा कति पीडा हुँदो हो, यो पीडा अरूलाई के थाहा ? जेजति थाहा छ मलाई नै छ । 

वेदव्यास : आशय के हो राजन् ? 

धृतराष्ट्र : जसले संसारलाई देख्न सक्दैन, जसका लागि यो संसार नै अन्धकारमय छ, त्यो राजा के राजा ? 

वेदव्यास : देख्न किन पर्यो, बुझ्न र महसुस गर्नसके भइहाल्यो नि । त्यो त तपाईंले गरिरहनुभएकै छ । 

धृतराष्ट्र : आँखाले नदेखेपछि बुझ्ने र महसुस गर्ने कुरा पनि फरक पर्ने रहेछ । 

वेदव्यास : मलाई त त्यस्तो लागेको छैन । आँखा देख्नेहरूले जे देख्छन् त्योभन्दा बढी तपाईंले देख्नुभएझैँ लाग्छ । आँखा देख्नेले जे जति बुझ्छन् र महसुस गर्छन् त्योभन्दा बढी तपाईँले बुझ्नु र महसुस गर्नुभएको जस्तो लाग्छ । 

धृतराष्ट्र : त्यस्तो छैन, महर्षि । म पूरै अन्धकारमा छु । सबैतिर अन्धकारमात्रै देखिन्छ । 

वेदव्यास : कुनै राजाले आँखा देखोस् वा नदेखोस्, ममताको पट्टि बाँधेको छ भने देख्नु र नदेख्नुमा केही अर्थ छैन । आफन्तमोह र पुत्रमोहमा राजाले न्याय दिन सक्दैन । देशप्रेम ठूलो कुरो हो । राजाका आफन्त र पराई भन्ने नै कोही भएनन् र न्यायका दृष्टिले सबै समान ठानिए भने राजाले आँखा नदेख्दैमा केही फरक पर्दैन । कसैले आफूलाई पक्षपात, भेदभाव र महत्वाकांक्षाबाट मुक्त गर्न सक्यो भने उज्यालो त्यसै देखिन्छ । उज्यालो तपाईंको कर्ममा देखिनुपर्छ । त्यसपछि मानिसको मनले पनि उज्यालो देख्नेछ । 

धृतराष्ट्र : त्यसरी भएन, महर्षि । म हरेक कुरा देख्न चाहन्छु । तपाईंले चाहनुभयो भने मलाई दिव्यदृष्टि दिन सक्नुहुन्छ । मलाई यो संसार देख्ने दृष्टि दिनोस्, व्यासदेव ।  
(वेदव्यास गम्भीर बन्छन् । धृतराष्ट्र आशावादी भावमा रहन्छन् ।)

वेदव्यास :  म तपाईंलाई दिव्यदृष्टि दिन सक्दिन, राजन् । यो अहिलेका लागि असम्भव कुरो हो ।

धृतराष्ट्र : तपाईंका लागि यो असम्भव कुरो होइन । तपाईले दिव्यदृष्टि दिन सक्नुहुन्छ भन्ने विश्वासले नै म आएको हुँ । मलाई आशीर्वाद दिनोस्, व्यासदेव । 

वेदव्यास : अहँ, म तपाईंलाई त्यस्तो आशीर्वाद दिन सक्दिनँ । तपाईं अहिले जेजस्तो अवस्थामा हुनुहुन्छ, त्यस्तै रहनु राम्रो हुन्छ ।

धृतराष्ट्र : अर्थात् म अन्धो नै रहूँ ? कोही मानिस दृष्टिका लागि योग्य हुँदाहुँदै दृष्टिविहीन रहनु राम्रो कुरा कसरी हुनसक्छ, महर्षि ? मेरा छोरा–भतिजाहरूका शस्त्रकला र वीरतालाई देख्ने इच्छा तीव्र बनिरहेको छ । के म त्यस्ता पराक्रमहरूको अवलोकनबाट पनि वञ्चित रहूँ ? 

वेदव्यास : तपाईं कुनै पनि घटनाको जानकारीबाट वञ्चित हुनु हुन्न । त्यसमाथि तपाईंको विश्वास देख्नुमा भन्दा पनि सुन्नुमा नै छ । 
(मौनता)

धृतराष्ट्र : तपाईंले मलाई दिव्यदृष्टि दिँदैमा के नै बिग्रिन्छ र महर्षि ? 

वेदव्यास : गर्भाधारणका बेला तपाईंकी आमा अम्बिकाले आँखा नचिम्लिएको भए के नै बिग्रिन्थ्यो र महाराज ? कल्पना गर्नोस् त ।  
(धृतराष्ट्र निरुत्तर बन्छन् । केही बेर सबै मौन रहन्छन् ।)

धृतराष्ट्र : मलाई दिव्यदृष्टि दिन मिल्दैन त व्यासदेव ? 

वेदव्यास : अहिले मिल्दैन । पछि कुनै उचित समय आयो भने म विचार गरौँला । 

धृतराष्ट्र : त्यो उचित समय भनेको कहिले हो कहिले । 

वेदव्यास : त्यो त म पनि भन्न सक्दिनँ । 

धृतराष्ट्र : आफूलाई चाहिएको अहिले । 

वेदव्यास : मानिसको हरेक चाहना भनेकै समयमा पूरा हुन्छ भन्ने छ र महाराज ? 

धृतराष्ट्र : राजाको चाहना त भनेको बेलामा पूरा हुँदैन भने अरूको के होला ? 

वेदव्यास : तपाईंमा म राजा हुँ, मेरो चाहना भनेकै बेलामा पूरा हुनुपर्छ भन्ने भावना छ भने त्यो भावनाको सम्मान मबाट हुँदैन, महाराज । हामी ऋषिमुनिहरूमा आफ्ना भक्त र अनुयायीहरूप्रति राजा र प्रजाको भेदभाव हुँदैन । हाम्रो व्यवहार समान हुन्छ ।

धृतराष्ट्र : हैन, मैले हजुर र मेरो सम्बन्धको कुरा गर्न खोजेको । 

वेदव्यास : त्यस्तो सम्बन्धको कुरै नगर्नोस् । बाबुछोराको नातामा पक्षधरता अँगाल्ने र विशेष सुविधा उपलब्ध गराउने काम पनि मबाट हुँदैन । म त भन्छु– तपाईंले पनि त्यस्तो काम नगर्नोस् । बन्द गर्नोस् त्यस्तो पक्षधरता । राजाले त्यस्तो कहिल्यै गर्नु हुँदैन । 
(मौनता)

धृतराष्ट्र : त्यसो भए मलाई दिव्यदृष्टि दिन मिल्दैन त ? 

वेदव्यास : मैले भनिहालेँ नि, अहिले मिल्दैन ।  

धृतराष्ट्र : (निराश मुद्रामा उठेर) जाऊँ त, सञ्जय ।

सञ्जय : हवस् महाराज ।
(सञ्जय धृतराष्ट्रलाई लिएर जान्छन् । वेदव्यास फेरि लेख्न थाल्छन् ।)            

दृश्य : दुई
(राजदरबारको विशेष कक्ष । राजा धृतराष्ट्र टोलाएर बसेका छन् । उनी केही सोचिरहेझैँ पनि देखिन्छन् । राजसारथि सञ्जय राजाको बायाँपट्टि उभिइरहेका छन् । उनी राजा धृतराष्ट्रको अनुहारतिर हेरिरहेका छन् । विदुर आउँछन् ।)

विदुर : (प्रवेश गरेर) प्रणाम, महाराज ।

धृतराष्ट्र : के छ विदुर ? 

विदुर : मसँग अब केही छैन, महाराज । भएको एउटा कुरा पनि अब हजुरलाई बुझाउँदै छु । 

धृतराष्ट्र : के बुझाउँदै छौ ? 

विदुर : यो महामन्त्रीको पद  ।
(विदुर आफ्नो शिरबाट पगरी झिकेर धृतराष्ट्रका पाउमा राखिदिन्छन्)

धृतराष्ट्र : यो तिमीले के गरेको विदुर ? यस्तो नगर । फिर्ता लेऊ यो । 

विदुर : यो मेरो आत्माको निर्णय हो, महाराज । म फिर्ता लिन्न । धर्म–अधर्मको युद्धमा तपाईंको यो राज्य अधर्मको पक्षमा उभिएको छ । म अधर्मको पक्षमा कदापि लाग्न सक्दिनँ । सन्निकट महायुद्ध, महायुद्धले गर्ने भयानक विनाश र इतिहासमा त्यसबापत लाग्ने कलंकको भागीदार बन्न पनि म चाहन्नँ । म हजुरकी आमा अम्बिकाकी दासीको छोरो हुँ । म आफ्नी आमासँग दासीपुत्रकै हैसियतमा रहन चाहन्छु । 

धृतराष्ट्र : तिमी त्यस्तो निर्णय नलेऊ, विदुर । म तिमीलाई छोड्न सक्दिनँ । 

विदुर : हजुरले छोड्नोस् वा नछोड्नोस्, म अब महामन्त्रीमा रहन सक्दिनँ । 

धृतराष्ट्र : अब तिमी राजाको आदेश पनि नमान्ने भयौ ? 

विदुर : मैले हजुरसमक्ष महामन्त्रीको पद त्याग गरिसकेको छु । अब म सामान्य प्रजा हुँ । राजाले प्रजाको भावनाको कदर नगर्ने भएपछि प्रजाले पनि राजाको आदेश मान्नुपर्छ भन्ने छ र महाराज ? 

धृतराष्ट्र : भैगो, म तिम्रो दाजुको रूपमा भन्दै छु, तिमी मलाई छोडेर नजाऊ । यो राज्य छोडेर नजाऊ । फिर्ता लेऊ महामन्त्रीको पगरी ।     

(विदुर केही बोल्दैनन् । वेदव्यास आउँछन् । विदुर वेदव्यासलाई प्रणाम गर्छन् । सबैको ध्यान वेदव्यासतिर आकर्षित हुन्छ ।)

वेदव्यास : (धृतराष्ट्रको नजिक गएर) प्रणाम, राजन् । 

धृतराष्ट्र : (उठेर) प्रणाम, व्यासदेव । महर्षिको आगमन हुँदै छ भन्ने थाहा पाएर म खुसी भएको थिएँ । आइपुग्नुभयो, ज्यादै खुसी लागेको छ । आज के कति कारणले महर्षिले पाउकष्ट गर्नुभएको होला, जानकारी पाउँथेँ कि ?   

वेदव्यास : महाराजलाई भेट्ने इच्छाले नै आएको हुँ । 

धृतराष्ट्र : विशेष काम केही ?   

वेदव्यास : अँ, म कामैले आएको हुँ । त्यसबारेमा पछि कुरा गरौँला । पहिले भन्नोस् महाराजको हालखबर के छ ? 

धृतराष्ट्र : ठिकै छ, महर्षि । 

वेदव्यास : तर, म ठिक देखिरहेको छैन, राजन् । 

धृतराष्ट्र : जे हुनु थियो, त्यो भइरहेकै छ । जे हुनु छ, त्यो पनि हुँदै जाला । त्यसमा मेरो भूमिका नै के हुन्छ र ?  

वेदव्यास : सबै कुरामा जे हुनु छ, भइहाल्छ भनेर हुँदैन, महाराज । जे हुनुहुन्न, त्यसलाई हुनपनि दिनु हुन्न । जे हुनु छ भइहाल्छ भन्ने हो भने तपाईंको के काम ?   

धृतराष्ट्र : तपाईंले त राज्यमा मेरो भूमिका नै नभएको जस्तो कुरा गर्नुभयो, व्यासदेव । 

वेदव्यास : भूमिका त होला तर त्यो विवेकपूर्ण नभएको हो कि भन्ने लाग्दै छ । 

धृतराष्ट्र : त्यसको अर्थ म अविवेकी हुँ ? 

वेदव्यास : निजी महत्वाकांक्षाले मानिसलाई अविवेकी पनि बनाउँछ, अन्यायी पनि बनाउँछ, पक्षपाती पनि बनाउँछ र स्वेच्छाचारी पनि बनाउँछ ।

धृतराष्ट्र : तपाईंको भनाइको मतलब म अन्यायी, पक्षपाती र स्वेच्छाचारी हुँ ? 

वेदव्यास : त्यो त तपाईंले नै महसुस गर्ने कुरो हो । 

धृतराष्ट्र : म त्यस्तो छैन, तर मानिसले किन मलाई त्यस्तो आरोप लगाउँछन् ? अन्धो भएका कारण अन्याय मैले पनि भोगेको छु । म ज्येष्ठ सुपुत्र तर अन्धो भएकै कारण त्यो बेला मलाई राजा नबनाएर पाण्डुलाई हस्तिनापुरको राजा बनाउनु अन्यायको कुरा थिएन ? मानिसहरू यो कुरो किन बुझ्दैनन् ? ममाथि भएको अन्यायलाई किन महसुस गर्दैनन् ?   

वेदव्यास : अहिले त राजा तपाईं नै हुनुहुन्छ  नि, हैन र ? 

धृतराष्ट्र : हो, तर त्यो पनि अनुज–प्रतिनिधिको रूपमा ।  

वेदव्यास : त्यो भनेको पनि त राजा नै हो ।

धृतराष्ट्र : त्यो त हो । 

वेदव्यास : तर, राजा भएर मात्र हुँदैन । तपाईं राजा हुनुहुन्छ भने आफ्नो भूमिका कस्तो हुनुपर्ने हो, त्यसबारेमा पनि सोच्नोस् । युद्धको आरम्भ हुनै लागिसकेको छ । त्यसलाई रोक्नोस् महाराज । त्यसलाई रोक्नुभयो भने मात्र तपाईं राजाको भूमिकामा रहेको ठहरिनेछ । तपाईंले आफ्नो राज्यमा न्याय गरेको ठहरिनेछ । 

धृतराष्ट्र : त्यो युद्ध मेरो हातमै छैन त मैले कसरी रोक्ने ? 

वेदव्यास : राजा तपाईं । तपाईंको हातमा छैन भने कसको हातमा छ ? (धृतराष्ट्र केही बोल्दैनन्)  महाराज, तपाईंको राज्यमा अत्यन्तै ठूलो विध्वंसक युद्धले प्रवेश गरिसकेको छ । ठूलो नरसंहार हुँदै छ  । त्यसलाई तपाईंले राम्रोसँग महसुस गर्नोस् । पृथ्वीमा अहिलेसम्म नभएको सबैभन्दा ठूलो विनाश हुनेवाला छ । कति धेरै विध्वंस हुने हो अनुमान गर्नै सकिन्न । त्यस्तो विध्वंस र नरसंहारको दोष तपाईं किन लिनुहुन्छ ? 

धृतराष्ट्र : त्यसमा मेरो के दोष ? के त्यो युद्ध मेरो कारणले हुन लागेको हो र ? 

वेदव्यास : अरूको के कुरा, यहाँका प्रजा नै भनिरहेछन्– पाण्डवहरूलाई तपाईंले हस्तिनापुर दिनु भएन । हस्तिनापुरको आधाराज्य पनि दिनु भएन । हुँदाहुँदा उनीहरूले नै निर्माण गरेको इन्द्रप्रस्थ पनि दिनु भएन । अन्तिममा उनीहरूले पाँचवटा गाउँ मागेका थिए । तपाईंले त्यो पनि दिनु भएन । आफ्नै भूमिमा उनीहरूलाई आश्रयहीन बनाउनुभयो । 

धृतराष्ट्र : त्यसका कारण युद्ध मैले नै गराउन लागेको हो र ? 

वेदव्यास : प्रजा भन्छन्– तपाईंले न्यायको पक्ष लिनुभयो भने युद्ध नहुन सक्छ । 

धृतराष्ट्र : त्यसो भए म अन्यायी ? मैले अन्यायको पक्ष लिएकाले युद्ध हुन लागेको  ?  

वेदव्यास : यो तपाईंको अन्तर्मनले महसुस गर्ने कुरो हो ।  

धृतराष्ट्र : यस्तो आधरहीन कुरामा मैले के महसुस गर्नु, म गर्दिनँ । 
(धृतराष्ट्र रिसाउँछन् )

वेदव्यास : भैगो, म जे कुराका लागि आएको थिएँ, त्यही कुरामा लागौँ । 

धृतराष्ट्र : हुन्छ, बरु तपाईंकै कुरा गर्नोस् । 

वेदव्यास : धेरै पहिले तपाईंले मबाट दिव्यदृष्टि चाहनुभएको थियो, तर मैले चाहिनँ । आज म तपाईंलाई दिव्यदृष्टि दिन भनेर आएको छु । 

धृतराष्ट्र : हिजो तपाईंले दिव्यदृष्टि दिन चाहनु भएन, आज म दिव्यदृष्टि लिन चाहन्नँ । मलाई दिव्यदृष्टि हिजो चाहिएको थियो, आज चाहिएको छैन, महर्षि ।    

वेदव्यास : किन होला, महाराज ?

धृतराष्ट्र : त्यो त मलाई पनि थाहा छैन । मेरो इच्छा नै परिवर्तन भएको होला ।  

वेदव्यास : समयानुसारको ज्ञान, चेतना र बोधको कुरा पनि हो कि ? 

धृतराष्ट्र : खोइ, त्यस्तो त मलाई थाहा भएन ।  

वेदव्यास : तैपनि, म तपाईंलाई दिव्यदृष्टि दिन चाहन्छु । 

धृतराष्ट्र : भो, मलाई अब दिव्यदृष्टि चाहिँदैन । तपाईं दिव्यदृष्टि दिनु नै हुन्छ भने पनि ऊ मेरा सारथि सञ्जयलाई दिनोस् । म उनैबाट सबै कुरा थाहा पाउँछु । 

वेदव्यास : त्यो पनि ठिकै छ । तपाईं जे चाहनुहुन्छ, त्यही हुन्छ ।   
(मौनता)

विदुर : (हात जोडेर ) माफ पाऊँ व्यासदेव, माफ पाऊँ महाराज । यस विषयमा मलाई पनि केही कुरा भन्न मन लाग्यो । मैले हजुरहरू दुवैका कुरा सुनेँ । मैले त सुनेको थिएँ राजाहरू पनि विद्वान् ऋषि–महर्षिझैँ समय–चेतनामा दूरदर्शी हुन्छन् । राजाको दृष्टिले भविष्यलाई देखेको हुन्छ । तर, यहाँ महर्षि वेदव्यास र महाराज धृतराष्ट्रका कुरा सुनेर म अलमलमा परेको छु । पहिले धृतराष्ट्रले किन दिव्यदृष्टि चाहनुभएको थियो, तर महर्षि व्यासले दिन चाहनु भएन । अहिले महर्षि वेदव्यास दिव्यदृष्टि दिन खोज्दै हुनुहुन्छ, तर महाराज धृतराष्ट्र लिन मानिरहनु भएको छैन । यसमा आत्मज्ञान र समय चेतनाको केही अर्थ त अवश्य नै हुनुपर्छ । त्यस्तो अर्थ के होला ?   

धृतराष्ट्र : यसमा त्यस्तो अर्थ के नै छ र, केही पनि छैन ।   

वेदव्यास : अर्थ अवश्य नै छ । विदुरले बुझे तर तपाईंले बुझ्नु भएन, महाराज । 

धृतराष्ट्र : त्यसो भए म अबुझ पनि हुँ ?

वेदव्यास : आफ्नो आत्मचेतनाबारे आफैँले मनन गर्नोस्, महाराज । त्यसले तपाईंलाई पनि राम्रो हुनेछ । तपाईंको राज्यलाई पनि राम्रो हुनेछ । मेरो अनुरोध छ– तपाईं पिता होइन, राजा बन्नोस् । त्यसपछि सबै कुरा बुझिन्छ । 
(क्षणिक मौनता)

विदुर : मेरो विचारमा महर्षि वेदव्यासले दिन चाहनुभएको दिव्यदृष्टि महाराज आफैँले लिँदा राम्रो हुन्थ्यो । यो महाराजले दिव्यदृष्टि प्राप्त गर्ने उपयुक्त समय पनि हो । दिव्यदृष्टि लिएको भए त्यो अबका दिनमा महाराजका लागि निकै उपयोगी पनि रहने थियो । महाराजले त्यसबाट सन्निकट युद्धलाई राम्रोसँग देख्न पाउनुहुन्थ्यो । त्यस युद्धमा हुने नरसंहारलाई पनि आफैँले हेर्न पाउनुहुन्थ्यो । वीरगति प्राप्त गर्ने मानिसका लासैलासले भरिएको त्यो विशाल रणभूमिलाई महाराजले राम्रोसँग अवलोकन गर्ने अवसर पाउनुहुन्थ्यो । त्यति मात्र होइन, महाराजले वीरगति प्राप्त गर्ने आफ्ना सय छोराका लासलाई पनि आफैँले देख्न पाउनुहुन्थ्यो ।

धृतराष्ट्र : (आत्तिएर) हँ, त्यस्तो के कुरा गर्दै छौ विदुर तिमी ? के मेरा कुनै पनि छोरा बाँकी रहँदैनन् ?

विदुर : रहँदैनन् । 

वेदव्यास : विदुर जे भनिरहेछन् सत्य कुरो भन्दै छन्, महाराज । 

विदुर : महाराजलाई सम्झना हुनुपर्छ, हजुरका ज्येष्ठ पुत्र दुर्योधनको जन्म हुँदा यहाँ के भएको थियो ? एक्कासि अन्धकार छाएको थियो । हावाहुरी चलेको थियो । धुलो उडेको थियो । न्याय काँपेको थियो । अन्यायले अट्टाहास गरेको थियो । कुनै अनिष्टको संकेतमा मानिसमा भागाभाग मच्चिएको थियो । त्यही नै बेला मैले हजुरलाई भनेको थिएँ– ज्येष्ठ पुत्रको जन्मले शुभसंकेत गरेको छैन । त्यसैले त्यसलाई परित्याग गरिदिनोस् । हजुरले त्यतिवेला ज्येष्ठ पुत्रलाई त्यागिदिएको भए आज यो अवस्था आउने नै थिएन । 

धृतराष्ट्र : विदुर, तिमी बढी नबोल । मानिस घरमा पालेको कुकुरको छाउरो त परित्याग गर्न सक्दैनन्, मैले आफ्नो ज्येष्ठ सुपुत्र दुर्योधनको परित्याग कसरी गर्न सक्थेँ ? ऊ त मेरो पहिलो सुपुत्र हो । मेरो सबैभन्दा प्यारो ज्येष्ठ सुपुत्र । 

विदुर : अहिले पनि ऊ हजुरको सबैभन्दा प्यारो सुपुत्र नै हो ? 

धृतराष्ट्र : हो त, ऊ मेरो सबैभन्दा प्यारो सुपुत्र हो । अझ पहिले त उसको नाम दुर्योधन थिएन, सुयोधन थियो । मेरो ज्येष्ठ सुपुत्र, सुयोधन । प्रिय सुयोधनलाई म कसरी त्याग्न सक्छु ? न पहिले सक्थेँ, न अहिले सक्छु । सुयोधन मात्र होइन, म आफ्ना कुनै पनि सुपुत्रलाई त्याग्न सक्दिनँ । मेरा सय छोरा मेरा लागि प्रिय छन् ।   

विदुर : म फेरि पनि भन्छु – हजुरमा आफ्ना पुत्रहरूप्रति त्यति धेरै मोह छ भने उनीहरूको जीवनरक्षाका लागि पनि युद्धलाई रोक्नोस् । उनीहरूलाई वीरगति प्राप्त गर्नबाट बचाउनोस् । 

धृतराष्ट्र : त्यही कुरो किन दोहोर्‍याउँछौ विदुर, युद्धमा मेरा छोराहरूले वीरगति प्राप्त गर्छन् नै भन्ने के छ र ? नगर्न पनि त सक्छन् । 

विदुर : त्यस्तो सम्भव छैन, महाराज । हजुरका छोराहरू जीवित रहन कठिन छ । 

धृतराष्ट्र : तिमी पटकपटक यस्तो अशुभ कुरो किन गर्छौ, विदुर ? 

वेदव्यास : म पनि दोहोर्‍याएर भन्छु– विदुरले सत्य कुरा गरेका छन्, महाराज । तपाईं यस कुरालाई स्वीकार गर्नोस् र युद्धलाई रोक्नोस् ।            

(धृतराष्ट्र मौन रहन्छन् । विदुर रिसाएर वेदव्यास र धृतराष्ट्र दुवैलाई प्रणाम गरेर सरासर निस्किन्छन् । एकै छिनमा वेदव्यास पनि निस्किन्छन् । धृतराष्ट्र खिन्नताका साथ आसनमा बस्छन् । उनी घोप्टो परेर रुन थाल्छन् । विस्तारै अँध्यारो हुन्छ ।)  
०००  

NIBLNIBL
प्रकाशित मिति: शनिबार, असोज ३०, २०७८  ०८:००
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro