site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
मन्त्रिपरिषद्ले पूर्णता कहिले पाउँछ ? को को बन्दैछन् मन्त्री ?

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले नेतृत्व सम्हालेको दुई महिना पुगिसक्दा पनि अझै मन्त्रिपरिषद्ले पूर्णता पाउन सकेको छैन । देउवानिकट नेताहरुका अनुसार अझै केही दिन सरकार विस्तार हुने सम्भावना छैन ।

तर दलहरुले आन्तरिक गृहकार्य भने जारी राखेका छन् ।

कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी केन्द्र र नेकपा (एस) ले आन्तरिक तयारी थालेका छन् ।

Dabur Nepal

शुक्रबार एक कार्यक्रममा भने नेकपा एसका अध्यक्ष माधवकुमार नेपालले अझै केही दिन सरकारमा विस्तारका लागि लाग्ने बताएका थिए ।

पार्टीभित्रको आन्तरिक विवाद र अध्यादेश निष्कृय नभएका कारण सरकार विस्तार हुन नसकेको नेताहरुको धारणा छ ।

असोज ४ गते संसद् बैठक र असोज ५ गते नेकपा एसको केन्द्रीय कमिटी बैठक बस्ने भएकाले त्यसपछि मन्त्रिपरिषद् विस्तार हुने नेता नेपालको धारणा थियो ।

“आज हो भने आज, भोलि भने भोलि सरकारमा जान तयार छौं,” अध्यक्ष नेपालले भने, “प्रधानमन्त्री भएको भए ठ्याक्कै भनिहाल्थेँ । आशा गरौं यो साताभित्र हुनेछ ।” 

अध्यादेश खारेज कि प्रतिस्थापन भन्नेमा विवाद 

नेकपा (एकीकृत समाजवादी) का प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाका अनुसार कानुनी र संवैधानिक जटिलता नफुक्दा सरकारमा जान ढिलाइ भएको हो । दल विभाजनसम्बन्धी अध्यादेश खारेज नभएकाले जसपा र नेकपा एस सरकारमा सहभागिताका विषयमा निर्णय गरिरहेका छैनन् । 

“अध्यादेश खारेज नहुन पनि सक्छ । संसद्मा अर्को कानुन ल्याएर विस्थापित गर्नुपर्ने अवस्था पनि आउन सक्छ,” खतिवडाले बाह्रखरीसँग भने भने, “सरकार छिटो बनाउन खारेजी वा प्रतिस्थापनको प्रक्रियामा जुन भए पनि प्रधानमन्त्रीले चाँडो गर्नुहुन्छ भन्ने विश्वास गरेका छौँ ।”

एकीकृत समाजवादी पार्टी अध्यादेश प्रतिस्थापन विधेयक ल्याउनुपर्ने पक्षमा छ । त्यस्तै पाँच दलीय गठबन्धनमा रहेको अर्को दल जनता समाजवादी पार्टी भने अध्यादेश खारेज गर्नुपर्ने पक्षमा छ । यी सबै विवाद टुंग्याएर अघि बढ्ने अध्यक्ष नेपालको भनाइ छ । 
नेकपा एसभित्र कम्तिमा ९ जना दाबेदार रहेको एक नेता बताउँछन् ।

“मन्त्रीका दाबेदार ८/९ जना हुनुहुन्छ । जम्मा ५/६ मन्त्रालय पाइन्छ । हामीलाई पनि केही नेतालाई सम्झाई बुझाई गर्नका लागि समय चाहिएको छ,” ती नेताले भने, “कांग्रेसभित्र पनि समस्या छँदैछ । कसैलाई सचेतक बनाएर राख्नुपर्ने अवस्था छ । पद व्यवस्थापनका लागि मनाउने काम भइरहेको छ ।” 

उनका अनुसार पार्टीको मापदण्डमा सांसदहरु भवानी खापुङ, विरोध खतिवडा, रामकुमारी झाँक्री, जीवनराम श्रेष्ठ तथा पछिल्लो पटक नेपाललाई साथ दिएकाले प्रेम आले, किसान श्रेष्ठ पनि मन्त्री बन्ने लिस्टमा छन् । आले र श्रेष्ठ मन्त्री नभए उनीहरुले सिफारिस गरेका सांसद् मन्त्री बन्नेछन् । 

सरकारमा पार्टीको तर्फबाट कसले नेतृत्व गर्ने भन्ने निश्चित भने भइसकेको छैन ।  नेकपा एसबाट मुकुन्द न्यौपाने र बेदुराम भुसालमध्ये एकजनाको नेतृत्वमा सरकारमा जाने तयारी छ ।

माओवादी केन्द्रले भने अध्यक्ष पुष्पकमल दाहाललाई सरकारमा जाने व्यक्तिको टुंगो लगाउने जिम्मा दिएका कारण अन्तिम अवस्थामा आफैं निर्णय हुने एक नेताले बताए ।

“हामीले अध्यक्षलाई नै मन्त्री छान्ने जिम्मेवारी दिएका छौँ,” उनले भने, “पार्टीका तर्फबाट दुईजना सरकारमा गइसक्नुभएको छ । बाँकी नाम अध्यक्षले टुंगो लगाउनुहुनेछ ।”

ती नेताका अनुसार शपथ ग्रहणको समय तय भएपछि पनि पार्टीले मन्त्रीको नाम टुंगो लगाउन सक्छ । कांग्रेसमा महाधिवेशन नजिकिँदै गएकाले पनि मन्त्रीको नामावलीका विषयमा निर्णय गर्न कठिन भएको छ ।

कोइराला परिवारका तर्फबाट सुजाता कोइरालालाई सरकारमा पठाउने गृहकार्य भएको छ । शशांक कोइराला र शेखर कोइराला दुवै यसमा सहमत हुन सक्ने एक नेता बताउँछन् ।

त्यसबाहेक रामचन्द्र पौडेलले दिलेन्द्र बडु, मीनेन्द्र रिजाललगायतका व्यक्तिलाई पठाउने तयारी गरेको भए पनि टुंगो नलागेको एक नेताले बताए ।


 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, असोज ३, २०७८  ०५:४५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro