site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
घरबन्दी : हेर्नै पर्ने दस  ‘टाइम ट्राभल मुभी’

चलचित्रले हामीलाई नभोगेको अनुभव दिलाउँछ । यस्तै अनुभव बटुल्न सिनेमा हेर्ने गरिन्छ । काममा व्यस्त हुँदा आफ्नै वर्तमान बिर्सेको थाहै हुँदैन । जब थाहा  हुन्छ, ढिलो हुन्छ । बेला बितिसकेको हुन्छ । त्यही बितेको समय अर्थात् विगतमा जान रुचि त हुन्छ तर सम्भव हुँदैन । छुट्टै अनुभव गर्न टाइम ट्राभल (समय यात्रा काेटी) जनराका सिनेमा हेर्न गरिन्छ । टाइम ट्राभल जनराको सिनेमामा अनेकौं ट्विस्ट आउँछन् जसले चलचित्रलाई रोचक बनाउँछन् ।

कोरोना भाइरसको दोस्रो लहरका कारण देशका कैयौं जिल्लामा निषेधाज्ञा जारी भएको छ । हामी पुन: घरबन्दीमा छौँ । घरबन्दीका बेला टाइम ट्राभल मुभी हेरेर समय बिताउन सकिन्छ ।

यहाँ हेर्नै पर्ने दस टाइम ट्राभल मुभीका बारेमा छोटकरीमा वर्णन गरिएको छ :

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

१. ब्याक टु द फ्युचर
सन् १९८५ मा रोबर्ट जिमेक्किसले टाइम ट्राभलसम्बन्धी आफ्नो कल्पना शक्तिको प्रयोग गरी ‘ब्याक टु द फ्युचर’ चलचित्रको निर्देशन गरे । ब्याक टु द फ्युचर फिल्मको तीन भाग रहेका छन् र ती तीनै भाग एक अर्कासँग सम्बन्धित छन् । ब्याक टु द फ्युचर निकै मन पराइएको चलचित्र पनि हो । यस चलचित्रमा मार्टी नामको पात्र डाक्टर ब्राउनको मद्दतले सन् १९५५ मा यात्रा गर्छ ।

२. द टर्मिनेटर
सन १९८५ मा जेम्स क्यामरुनद्वारा निर्देशित यस चलचित्रलाई अधिकांश चलचित्रप्रेमीले मन पराएका छन् । यो केही फरक किसिमको चलचित्र हो । यस चलचित्रमा दुईवटा रोबट भविष्यबाट विगतमा आउँछन् । तीमध्ये एउटाले केटालाई मार्न खोज्छ भने अर्कोले बचाउँछ । यस चलचित्रको दोस्रो भाग पनि निकै राम्रो छ ।

३.  ट्वेल्भ मन्किज
सन् १९६२ को फ्रेन्च फिल्म ला जेटीबाट प्रभावित भई ट्वेल्भ मन्किज चलचित्र बनाइएको हो । चलचित्रमा ब्रुस विल्लिसको प्रमुख भूमिका छ । ब्रुसलाई भविष्य सुधार्नका लागि अतीतमा पठाइन्छ । चलचित्रमा ब्राड पिटको पनि भूमिका छ ।

૪. प्लानेट अफ द एप्स
सन् १९६० मा बनेको यस फिल्मले केही नयाँ कथा प्रस्तुत गरेको छ । यस संसारमा मान्छेको नभई बाँदरको राज भयाे भने के होला भन्ने प्रश्नको उत्तर दिन खोजेको यो चलचित्र पनि निकै रुचाइएको थियो ।

५. द बटरफ्लाई इफेक्ट
यस चलचित्रमा पात्रले आफ्नो र आफ्ना साथीहरूका लागि राम्रो वातावरण सृजना गर्न विगतमा गई आफूले गरेका अनुचित व्यवहार सुधार्छ तर समयसँग खेलेको परिणाम आउन बाँकी हुन्छ । चलचित्रको पात्रको विगतमा धेरै केन्द्रित गरिएको छ । सबैलाई सही वातावरणमा ल्याई चलचित्रको प्रमुख पात्र अन्त्यमा आमाको पेटमा गई आफ्नो अस्तित्व नष्ट गर्छ ।

६.  इन्टरइस्टेलर
सन् २०१४ मा क्रिस्टोफर नोलानद्वारा निर्देशित यस चलचित्रले समय यात्रामात्र नसमेटी स्पेसलाई पनि अँगालेको छ । धेरै चलचित्रप्रेमीले यस फिल्मलाई पछिल्लो दशककै उत्कृष्ट चलचित्र घोषित गरेका छन् । नोलानले स्टेन्ली कुब्रिकको सन् १९६८ मा रिलिज भएको चलचित्र २००१ : स्पेस ओडिसीबाट प्रभावित भई प्रस्तुत चलचित्र बनेकाे देखिन्छ ।

७. लुपर
रियान जोनसोनद्वारा निर्मित यस चलचित्रले टाइम ट्राभल जनराको चलचित्रलाई केही अघि बढाएको छ । यस चलचित्रमा भविष्यमा टाइम मेसिन बनाइन्छ तर यसलाई गैरकानुनी घोषणा गरिन्छ । त्यस मेसिनलाई आपराधिक समूहले अपराध गतिविधि संचालन गर्न प्रयोग गर्छन् ।

८.  डेस्टिनेसन
रोबर्ट हैनलैनको लघु कथामा आधरित यस चलचित्रमा इथन हक प्रमुख भूमिकामा देखिएका छन् । उनको दमदार अभिनय र पटकथाले चलचित्रभरी सोच्न बाध्य होइन्छ । प्रिडेस्टिनेसन चलचित्र पनि धेरैको रोजाइमा पर्ने चलचित्र हो ।

९. डोन्नी डार्को
हाइस्कुलमा पढ्ने छात्रले रहस्यमय ढंगले खरायफजस्तो देखिने जीवलाई साथी बनाउँछ जसले अबको २८ दिनमा विश्वको अस्तित्व हराउने बताउँछ । डोन्नी डार्को पनि एउटा अर्को उदाहरण हो जसले दर्शकलाई चलचित्रको अन्त्यसम्म सोच्न बाध्य तुल्याउँछ ।

१०. द टाइम मेसिन
द टाइम मेसिन चलचित्र सन् १९६० मा जर्ज पालद्वारा निर्देशित भएको थियो । चलचित्रमा जर्ज नामक एक पात्र हुन्छ जसले टाइम मेसिन बनाउँछ । टाइम मेसिन बनाइसकेपछि ऊ विगत अनि भविष्यमा जान थाल्छ तर उसले भविष्यमा समाजको छुट्टै रूप देख्छ जसकाे उसले कल्पना पनि गरेको हुँदैन ।
 
 
 
 

प्रकाशित मिति: सोमबार, वैशाख २०, २०७८  ०८:५७
प्रतिक्रिया दिनुहोस्