site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
मधेशको परिवेशमा आधारित उपन्यास‘क्षमादान’ सार्वजनिक गरिँदै

काठमाडौं । आगामी हप्ता गणेशप्रसाद लाठको नयाँ पुस्तक‘क्षमादान’ सार्वजनिक हुने भएको छ । यस कृतिले मधेशको व्यावसायिक परिवार वरपरको जालझेल र त्रासदीलाई नाटकीय पारामा उधिनेको छ । यो पुस्तक पब्लिकेसन्स नेपालयले २०२१ मा प्रकाशित गरेको पहिलो कृति हो ।

‘सीमित नाम लिँदा, मधेशले धनुषचन्द्र गौतमदेखि बिमल निभासम्मका केही उत्कृष्ट लेखकहरू पाएको छ । उनीहरूका कृतिले मधेशको सौन्दर्यशास्त्र र काव्यात्मकतालाई बडो चमत्कारी ढंगले व्यक्त पनि गरेका छन् तर एउटा पाठकको रुपमा, जो पेशाले एउटा व्यवसायी भएको छ, नेपालीमा प्रकाशित हुने अधिकांश किताबमा म आफूलाई भेट्दिन,' लेखकले किताब लेख्न प्रेरित गरेको सन्दर्भ कोट्याउँदै भने ,'साहित्यमा व्यावसायिक वर्ग कि त पूरै अनुपस्थित थियो कि निमित्त पात्रका रुपमा मात्र पन्छाइएका थिए । म मेरो कथाको माध्यमबाट तिनै परिवारहरूको मानवीय पक्षलाई खोतल्न चाहन्थेँ ।'  

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

प्रजातन्त्र स्थापना कालपछिको नवोदित शहर वीरगन्जमा हुर्किएका लाठको बाल्यकाल चलचित्रको सानिध्यमा बित्यो । लाठलाई सिनेमाले अपनाउने कथावाचन र त्यसले गर्ने प्रभावकारी अपीलले निकै प्रभावित बनायो । त्यसैले यस किताबले त्यही नाटकीय शैलीलाई अंगालेको पाउँदा त्यति आश्चर्य लाग्दैन । रोमान्टिक सामाजिक नाटक रुचाउने पाठकका निम्ति यो कथाशैलीले आकर्षित गर्ने कुरामा लेखक विस्वस्त देखिन्छन् ।

'हामी बहुमुखी आवाजहरूलाई प्रकाशित गर्नमा प्रतिबद्ध छौं,' प्रकाशनका तर्फबाट भूषिता वशिष्ठले सम्पादकीय टिप्पणी गर्दै भनिन्, 'जनसंख्याका हिसाबले देशको महत्वपूर्ण क्षेत्रमा रहेका व्यावसायिक परिवारको कथाबस्तुलाई लेखकले सटीक पाराले उजागर गरेका छन् जुन समुदाय विगतका केही दशकदेखि राजनैतिक अस्थिरताले सम्भवतः सबैभन्दा धेरै प्रभावित भएको छ । उनीहरूको कथा र यसको विकासक्रम सम्पूर्ण नेपाली कथा संसारको महत्वपूर्ण अंग हो जुन अझै पनि साहित्यमा पर्याप्त ढंगले परिलक्षित भएको छैन । यस पुस्तकले त्यही अभावलाई सानै रुपमा भए पनि पूर्णतारित डोर्याउँछ भन्ने आशा राख्छौं ।'

लाठ, वीरगन्जलाई प्रतिनिधित्व गर्ने नेपालय पब्लिकेसन्सका दोस्रो लेखक हुन् । यस पब्लिकेसन्सबाट 'वीरगन्ज' शीर्षकमै सन् २०१६ मा गिरीश गिरिको ननफिक्सन प्रकाशित भएको थियो ।  

'हामी यही किताबका साथ मधेस जादैछौ र त्यहीँबाट हाम्रो यस वर्षको प्रकाशन यात्रा शुरु हुँदैछ । यो हाम्रा निम्ति एउटा सार्थक अवसर हो । महामारी र लकडाउन खेपेको पुस्तकबजारले नौलो चहलपहलका निम्ति आवाज उठाइरहेको छ,' पब्लिकेसन्स नेपालयकी सीईओ सैजन मास्केले भनिन्,'पुस्तक बजार बिस्तार नयाँ किताबका निम्ति तयार भएको देखिन्छ । आशा छ 'क्षमादान' ले पाठकहरूलाई आकर्षित गर्ने छ ।'
 

प्रकाशित मिति: आइतबार, फागुन १६, २०७७  ११:०८
प्रतिक्रिया दिनुहोस्