site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
सत्ता लोभ 

उमेश रेग्मी


देवताहरूको आन्दोलनले स्वर्गलोक अशान्त भएको पनि महिना दिन नाघिसकेको थियो । शासकवर्ग र आन्दोलनकारीबीच सहमति हुन नसक्दा दिन प्रतिदिन स्वर्ग अस्थिर बन्दै गइरहेको थियो । समाधान गर्ने हरेक प्रयत्नहरू विफल भइरहेका थिए । इन्द्रसभा रमणीय हुनुको सट्टा कुर्सी फालाफाल गर्ने अनि आफ्नो शक्ति प्रदर्शन गर्ने थलोका रूपमा परिणत हुँदै गइरहेको थियो !

आफ्नो कुशल नृत्य गरेर देवताहरूको सधैँ मनोरञ्जन गर्ने अप्सराहरू सभामा आउन छाडिसकेका थिए । यस्तो लाग्थ्यो त्यो सभा कक्ष नभएर कुनै पहलमानी गर्ने अखडा होस् ! 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

देवताहरूको आन्दोलनबाट दिक्क बनेका देवराज इन्द्र आफ्नी अर्धांगिनी शचिसामु सधैँ निन्याउरो मुख लाएर बसिरहन्थे । उनलाई आन्दोलन अन्त्य गर्ने कुनै उपाय सुझिरहेको थिएन । आन्दोलनकारीको अनौठो मागबाट उनी विचलित अनि भयभित पनि थिए । आफ्ना देवताहरूबाट कल्पना नै गर्न नसकेको गतिविधि देख्दा दुःखी थिए देवराज । 

शचि पनि आफ्ना पति परमेश्वरको न्याउरो अनुहारबाट दिक्क थिइन् । स्वर्गमा आन्दोलन पनि हुनसक्छ भन्ने कुराको विश्वास हुन सकिरहेको थिएन, शचिलाई । देवताहरू कहिलेदेखि स्वार्थी भए भन्ने कुराले दुवै पति–पत्नी चिन्तित थिए ।

उता आन्दोलनकारीको अगुवाइ गरिरहेका कुवेरले इन्द्रलाई प्रस्ट चुनौती दिएका थिए । आफ्ना मागहरू पूरा नभएको खण्डमा आन्दोलन जारी राख्ने अनि आवश्यक परेमा धरतीलोकलाई पनि सहयोगका लागि निम्ता गर्ने धम्की दिएका थिए, कुवेरले आन्दोलन सुरु गर्नुअगावै ! 

त्यसै दिनदेखि स्वर्गमा ‘कुर्सी छोड’ को नारा बुलन्द भएको थियो । दुवै पक्षलाई मिलाउने प्रयास गरिरहेका महर्षि नारदले आन्दोलनकारीको माग प्रस्तुत गरिसकेका थिए इन्द्रलाई । 

तिनका माग यस प्रकार थिए :
१, प्रजातान्त्रिक हिसाबले स्वर्ग प्रमुख चुनिनुपर्ने । सधैँ इन्द्र मात्रै कुर्सीमा बस्न नपाइने ।

२, स्वर्ग प्रमुखले देवताहरूको कार्यविभाजन गर्ने ।

३, कार्यकाल जम्मा पाँच वर्षको हुनुपर्ने ।

४, कार्यकालभरि स्वर्ग प्रमुखले मात्र अप्सराहरूको आनन्द भोग गर्न पाउने । 

५, स्वर्ग प्रमुखले मात्रै धरतीलोकका नेताहरूसँग वार्ता गर्न पाउने (राजनीतिक दाउपेच सिक्नबाहेक अन्य कुरामा वार्ता बर्जित)

यी पाँच मागसहित आन्दोलनरत देवताहरूसँग वार्तालापबाट समस्याको समाधान गरौं भन्ने इन्द्रको सन्देश लिएर गएका नारदलाई कुवेरले ढोकाबाटै लत्याइदिएका थिए, ‘सामन्तीको पक्षधर’ भन्ने कडा जवाफका साथ ।

जतिजति आन्दोलन छिप्पिँदै थियो त्यतित्यति नयाँ कुराहरू समेटेर अस्थिरता पनि बढ्दै थियो । देवताहरू धरतीलोकमा अवस्थित एउटा सानो देश नेपालको राजनीतिक उथलपुथलको उदाहरण दिने गर्थे, आफ्नो आन्दोलनलाई टेवा दिन हेतु । 

देशको ढुकुटी बाँडीचुँडी खाएको राम्रो लागेको थियो उनीहरूलाई । सँगसँगै विलासिताका कुरामा एकलौटी राज गर्न पाइने प्रावधानबाट उनीहरू पनि प्रेरित भएका थिए । सायद त्यसैले होला, उनीहरूले आफ्नो माग सोहीअनुरूप प्रस्तुत गरेका थिए ।

यता इन्द्रको छट्पटी दिनानुदिन बढ्दै गइरहेको देखेर महर्षि नारदले श्रृष्टिकर्ता ब्रह्माजीसँग विचार–विमर्श गर्ने निर्णय गरे । तसर्थ ब्रह्मलोकमा पुगे नारद ‘नारायण–नारायण’ जप्दै । 

ब्रह्माजीका अघि विस्तारपूर्वक वर्णन गरे नारदले स्वर्गमा भएका उथल–पुथलबारे । ब्रह्माजीलाई आश्चर्य लाग्नु स्वाभाविक नै थियो ! वृद्ध भइसकेका ब्रह्माजी स्वर्गको अवस्थाप्रति अनविज्ञ रहेछन् । उनलाई स्वर्ग प्रमुखले मात्र अप्सरालगायत विलासिताका कुरा उपभोग गर्न पाउने मागले प्रभावित गरेछ ।

वृद्ध ब्रह्माले आफ्नो जिज्ञासा प्रकट गरे नारदसामु, “हे महर्षि, ब्रह्मलोकमा सरस्वतीको विणा सुन्दा–सुन्दा वाक्क भइसकेको म पनि स्वर्गमा गएर एउटा पार्टी खोलेर चुनाव लडेँ भने त जितिन्छ कि क्या हो ? स्वर्ग प्रमुख भएर पाँच वर्ष सुखभोग गर्न पाइने प्रावधान मिलाउनु पर्लाजस्तो छ, बुझ्यौ ।” 

तीन छक्क परे नारद ब्रह्माजीको कुराले ! स्वर्गको भद्रगोल मिलाइदेलान् बूढाले भन्ठानेको त, उल्टै भाँडभैलो पो होलाजस्तो हुने भयो । यही सोच्दै कुलेलाम ठोके महर्षि हिमालयतिर, शिवजीलाई भेट्न ।

भाङ धतुरो खाएर ध्यानमा मग्न थिए भोले बाबा । पार्वती र गणेश नजिकै थिए । महादेवका सेना नन्दी भृंगीहरू छरिएका थिए चारैतिर । नारद आएको देखेर आफ्नो वाहन मयूरमाथि सवार हुँदै कार्तिकेय कुमार पनि आइपुगे । 

ध्यानमग्न शिवजीका अगाडि बिन्ती बिसाउन थाले नारद, स्वर्गको वर्तमान अवस्थाका बारेमा । नारदको कुरा सँगै रहेका गणेश र कुमारले पनि सुनिरहेका थिए । महादेव मौन रहे, तर गणेश बोले, “हे नारद, स्वर्गको सुख भोग र त्यहाँको वैभवमा हामी पनि लालयित छौं । अहिलेसम्म इन्द्रले एकछत्र राज गरे । कुवेर आदि देवताहरूले आन्दोलन गरेर प्रजातान्त्रिक अभ्यास सुरु गर्न लागेका रहेछन् । हाम्रो समर्थन छ । बरु हामी पनि हिमालयबाट एउटा पार्टी खोल्छौं । म स्वयं नेतृत्व गर्छु । नन्दी भृंगीलगायत हाम्रो ठूलो सेनाको मतले मेरो जित निश्चित छ । स्वर्गको सुखभोग गर्ने यो सुनौलो अवसर म कदापि गुम्न दिने छैन ।” 

नारद हैरान भए गणेशको कुराबाट । उता कुमारलाई गणेशको कुरा मन परिरहेको थिएन । नारदले मनमनै हिमालय पार्टीभित्र अन्तर्घात हुनसक्ने अनुमान लगाउंदै बिदा लिए, वैकुण्ठ जानलाई । 

‘नारायण नारायण’ जप्दै पुगे नारद भगवान् विष्णु शयन गरिरहेको क्षीर सागरको बीचमा । साथमा लक्ष्मी अनि शेषनागको शय्यामा विराजमान विष्णु मुस्कुराए नारदलाई देखेर । आफ्नो दिव्य दृष्टिले सबै कुरा पहिले नै थाहा पाइसकेका विष्णुले नारदलाई सम्झाए, “हे नारद, स्वर्गमा भएको आन्दोलन जायज हो । इन्द्रले राज गरे अहिले सम्म । अब अरूलाई पनि मौका दिनुपर्छ । म तिमीलाई नै कुरेर बसेको नारद । मैले पनि पार्टी खोल्दै छु । त्यसको प्रचार–प्रसार गर्ने जिम्मा तिमीलाई चुनाव जितेर स्वर्ग–प्रमुख भएपछि मेरो मुख्यमन्त्रीको पद तिमीलाई भयो । मुख्यमन्त्रीको पद सुनेदेखि नारद प्रचार–प्रसारमा व्यस्त छन् ।

इन्द्रसभा स्थगित छ । आन्दोलन अन्त्य हुने संकेत देखिँदैन ।
 

प्रकाशित मिति: शनिबार, फागुन १५, २०७७  १०:४१
प्रतिक्रिया दिनुहोस्