site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
नयाँ प्रतिलिपि अधिकार ऐन ल्याउन निजी क्षेत्रको माग

काठमाडौं । विद्यमान प्रतिलिपि अधिकार ऐन २०५९ र नियमावली २०६१ परिमार्जन गरी नयाँ ऐन ल्याउन जोड दिइएको छ । हालको कानुनी संरचना काम चलाऊ मात्र भएकाले नयाँ ऐन आवश्यक रहेको सरोकारवालाहरुको भनाइ छ ।

नेपाल उद्योग वाणिज्य महासंघले प्रतिलिपि अधिकारसम्बन्धी गरेको कार्यक्रममा नयाँ ऐनमा रजिस्ट्रार तथा कार्यालयको भूमिका, अधिकार र जिम्मेवारी बढाएर प्रभावकारी बनाउन आवश्यक रहेको बताइएको हो ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

कानुनी व्यवस्थामा सुधार गरेर रोयल्टी संकलन समाजको भूमिका सबल बनाउनुपर्ने, हालका रोयल्टी संकलन समाजहरू एकीकृत गरेर वा एकद्वार प्रणाली बनाइ वा एउटै छतमुनि ल्याई छरितो, प्रभावकारी र कम खर्चिलो बनाउनुपर्ने, रोयल्टी संकलन समाज सक्षम नहुन्जेल सरकारबाट आर्थिक सहयोगसमेत उपलब्ध गराउनुपर्ने सुझाव निजी क्षेत्रको छ ।

त्यसैगरी प्रतिलिपि अधिकार धनी र प्रयोगकर्ताहरू दुवै पक्षलाई मर्का नपर्ने (वार्ता छलफल) गरी रोयल्टी दर रेट कायम गर्ने र प्रकाशन गर्नुपर्ने, रोयल्टी वितरण मापदण्ड पनि न्यायोचित, व्यवहारिक र पारदर्शी बनाइ नियमित रोयल्टी वितरण तालिका नै तयार गरी वितरण गरिनुपर्ने, पारदर्शिता, निर्णयमा सदस्यहरूको सहभागिता र नियमितता नै रोयल्टी संकलन समाजहरूको सामर्थ्यको आधार भएकाले यसलाई प्राथमिकतामा राखेर संस्थाहरू अघि बढनुपर्ने सुझावसमेत दिइएको छ ।  नेपाल उद्योग वाणिज्य महासंघले चलचित्र तथा मनोरञ्जन फोरममार्फत प्रतिलिपि अधिकार र कानुनका विषयमा छलफल गरिएको थियो ।

कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री भानुभक्त ढकालले प्रतिलिपि अधिकार ऐनलाई समयअनुरुप संशोधन वा नयाँ ऐन ल्याउने कार्यमा आफ्नो पूर्ण सहयोग रहने बताए । महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले प्रतिलिपि अधिकार संरक्षणका क्षेत्रमा प्रभावकारी रुपमा काम गर्न सकियो भने गीत, संगीत र चलचित्रको प्रवर्द्धनका साथै मुलुकभित्र बाह्‍य लगानी आकर्षणमा समेत सहयोग पुग्ने बताए ।

प्रतिलिपि अधिकार रजिस्ट्रार विष्णुकुमारी भट्टराईले विद्यमान कानुन र नियमावलीमा संशोधन आवश्यक रहेको र संशोधनका लागि प्रतिलिपि अधिकार कार्यालयले आवश्यक पहल गरिरहेको बताइन् । साथै उनले सरकार, निजी क्षेत्र र सरोकारवाला सबैको सामूहिक प्रयासबाट मात्र यो क्षेत्रमा गुणात्मक सुधार गर्न सकिने बताइन् ।

महासंघको चलचित्र तथा मनोरञ्जन फोरमका सभापति आकाश अधिकारीले कार्यक्रमबाट आएका सबै सुझावहरूमाथि विज्ञहरूको समेत सहयोगमा ठोस सुझाव तयार गरी सरकारमा पेस गर्ने बताए ।

प्रकाशित मिति: मंगलबार, फागुन ११, २०७७  १७:३४
प्रतिक्रिया दिनुहोस्