site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
हिमाल शर्मा भन्छन्- अध्यक्षद्वयलाई भनिसकेको छु म काठमाडौंको सचिवको जिम्मेवारीमा बस्दिनँ

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का काठमाडौंका जिल्ला सचिव बनाइएका हिमाल शर्माले जिम्मेवारी अस्वीकार गरेका छन् ।

बाह्रखरीसँग संक्षिप्त कुराकानी गर्दै शर्माले अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाललाई जानकारी गराइसकेको र सचिवमा नबस्ने जानकारी दिए । “पार्टी एकीकरण गर्दा पूर्ववर्ती जिल्ला कमिटीका अध्यक्षहरूमध्ये एकजना अध्यक्ष र अर्को सचिव बस्नुपर्ने बध्यात्मक अवस्था बनाइएको थियो । अहिले त्यो अवस्था छैन । म केन्द्रीय कमिटीको जिम्मेवारीमा छँदै छु,” उनले भने, “मेरो ठाउँमा अरू नयाँ साथीलाई जिम्मेवारी दिए हुन्छ । यो कुरा मैले दुवै अध्यक्षलाई भनिसकेको छु ।”

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

काठमाडौं जिल्ला अध्यक्षमा काठमाडौं ७ बाट प्रदेशसभामा निर्वाचित वसन्त मानन्धरलाई चयन गरिएको छ । मानन्धरलाई जिम्मेवारी दिइएकोप्रति भने आपत्ति नरहेको उनको भनाइ थियो ।

“उहाँलाई दिएको जिम्मेवारीप्रति मेरो भन्नु छैन । ठीक छ । तर, मचाहिँ पदमा बस्दिनँ भनेर नेताहरूलाई भनिसकेको छु । सर्कुलर आउँदा मेरो नाम हट्छ,” उनले भने । 

यस्तै भोजपुर जिल्ला कमिटीको सचिव चयन गरिएका विमल खड्काले पनि पद अस्वीकार गरेका छन् । प्रचण्ड- माधव नेपाल समूहले आजै ६८ जिल्लाको नेतृत्व बाँडफाँड टुङ्ग्याएको थियो ।

प्रकाशित मिति: सोमबार, फागुन १०, २०७७  २०:०१
प्रतिक्रिया दिनुहोस्