
काठमाडौं । नेपाली चलचित्र उद्योगलाई विद्यमान अन्योलबाट बाहिर निकाल्न ‘नायक’को खोजी भइरहेको छ । तर, त्यस्तो ‘नायक’ नेपाली चलचित्र उद्योगले अहिलेसम्म भेटाउन सकेको छैन ।
कसले सुरुमा चलचित्र प्रदर्शन गर्छ र अहिलेको अन्योल अन्त्य हुन्छ भनेर निर्माताहरू कुरेर बसिरहेको निर्देशक प्रदीप भट्टराई बताउँछन् । कोही एउटा निर्माताले चलचित्र प्रदर्शन गरेपछि मात्रै अरु निर्माताहरू पनि आउने तर पहिलोपटक को आउने भन्ने अन्योल रहेको उनको भनाइ छ । “हाम्रा चलचित्रमा जसरी अन्तिममा बलिष्ठ नायक आउँछ र उसले अफ्ठ्यारोमा परेकी नायिका र समाजलाई बचाउँछ । अहिले नेपाली चलचित्रको अवस्था पनि ठीक त्यस्तै छ,” निर्देशक भट्टराई भन्छन्, “कोही ठूलो नायक आओस् र हाम्रो सिनेमा उद्योगलाई बचाइदेओस् भनेर पर्खिरहेको अवस्था छ । अहिले नेपाली नायकले पनि काम गर्ने अवस्था छैन । हलिउड र बलिउडको नायकले आएर चलचित्र बचाइदेओस् भन्ने अपेक्षा छ ।”
अहिलेको अवस्था ब्रेक गर्न हलिउड र बलिउडको ठूलो चलचित्रको अपेक्षा नेपाली निर्माताहरूले गरिरहेको उनको भनाइ छ । “हाम्रो नायकले पनि काम गर्नसक्छ भन्ने अवस्था देखिएको छ । महाभारतको न्यारेटिभ हिरो आएर सबै समस्याको अन्त्य गरिदिन्छ भन्ने छ । जसरी यो न्यारेटिभमा हामीले चलचित्र बनाइरहेका छौं । हामी चलचित्र चलाउन पनि यस्तै हिरो खोजिरहेका छौं,” निर्देशक भट्टराई भन्छन्, “हामी बलिउड र हलिउडको नायक खोजिरहेका छौं । हाम्रो औकात यहीँनेर देखिसक्यो ।”
नेपाली चलचित्र उद्योग नै मैले धानेको हो भन्नेहरू पनि अहिले पछि सरेको उनी बताउँछन् । लगानी गुम्ने त्रासले चलचित्र निर्माण सम्पन्न गरेर पनि रिलिज गर्न डराइरहेको उनको भनाइ छ ।
“हुन त मैले चलचित्र निर्माण गरेर बसेको भए पनि अहिलेको अवस्थामा म आफैं पनि रिलिज गर्न डराउँथे होला,” निर्देशक भट्टराई भन्छन्, “तर, यो अवस्था चिर्न कोही न कोही त आउनै पर्छ । हामी अहिले जो आएर हामीलाई उद्धार गरिदिएला भनेर सोचिरहेका छौं । उनीहरू पनि हाम्रै जस्तो सोचमा होलान् । हामी जति जोखिममा छौं, उनीहरू पनि जोखिममा होलान् । उनीहरूको झन् ठूलो लगानी र मिहिनेत हुन्छ ।”
विकल्पविहीन अवस्थामा नेपाली चलचित्र उद्योग रहेको उनको धारणा छ । कसैको आशमा बाँच्दा मर्न पनि सकिने तर आफैं हिम्मत गरेर अगाडि बढे बाँच्ने सम्भावना बढी रहेको निर्देशक भट्टराई बताउँछन् । “मृत्युभन्दा पनि ठूलो चुनौती आइसकेपछि कहिलेकाहीं मान्छेले मृत्यु रोज्छ । तर, त्यस्तो अवस्थामा मृत्युबाट बाँचियो भने त्यो बेला ठूलो उपलब्धि हुन्छ,” उनी भन्छन्, “अहिले चलचित्र रिलिज गर्नु भनेको आत्महत्या गर्नुसरह नै हो । किन भने कति रिटर्न आउँछ भन्ने निश्चित छैन ।”
रिलिज नगर्दा पनि लगानी र ब्याजको डर रहिरहने भएकाले अन्त्यमा जसरी पनि प्रदर्शन गर्नैपर्ने भएकाले अहिले जोखिम उठाउन सके अनपेक्षित लाभको सम्भावना उच्च रहने उनको भनाइ छ ।
अहिले आम रुपमा सोचिएभन्दा दर्शकको मनोविज्ञान फरक रहेको हुनसक्ने भन्दै उनी भन्छन्, “कहिले राम्रो चलचित्र आउला र हेर्न जाउँला भनेर दर्शकले पर्खिरहेको पनि हुनसक्छ । एक वर्षदेखि घरमा बसिरहेका मान्छे सिनेमा हेर्न जाने योजनामा पनि रहेको हुनसक्छ । चलचित्र हेर्न जाने भनेको मनोरञ्जनका लागि मात्रै पनि हुँदैन । घरबाहिर निस्किने बाहाना पनि हो ।”
अहिलेको अवस्थामा बाहिर निस्किएर हाँस्न र रुन पाउने बहाना सिनेमा उत्कृट माध्यम हुनसक्ने उनको भनाइ छ । निर्माताहरू अनावश्यक डरमा बसिरहेको हुनसक्ने भन्दै वास्तविकता अध्ययन गर्नु अहिलेको आवश्यकता भएकामा उनको जोड छ ।
अहिले नेपाली सिनेमा घरमा पुराना चलचित्र छन् । सुरुमा ‘आमा’ र ‘सेन्टीभाइरस’ प्रदर्शन गर्दै हल सञ्चालनमा आएका थिए । बीचमा नयाँ चलचित्र ‘एउटा यस्तो प्रेम कहानी’ रिलिज भयो । अहिले पुनः पुरानै चलचित्र ‘कबड्डी कबड्डी कबड्डी’, ‘सानो संसार’ हलमा छन् । ‘कागबेनी’ रिलिज हुँदै छ ।
युट्युबमा रिलिज भइसकेका यी चलचित्र स्टेजमा मुख्य कलाकार आउनुअगाडि दर्शकलाई होल्ड गर्न साना कलाकार र आमसभामा मुख्य नेता आउनुअगाडि साना नेताहरूले गरेको भाषण जस्तो मात्रै रहेको उनी बताउँछन् ।
यो ‘वार्मअप’ भए पनि नयाँ चलचित्र आउँदै छ भन्ने निश्चित नभएसम्म दर्शक हलमा जाने तयारी नहुने उनको भनाइ छ । यद्यपि सम्पूर्ण चलचित्र क्षेत्रलाई नै चलायमान बनाउने चलचित्र रिलिजले नै भएकाले निर्माताले मात्रै भन्दा पनि यसमा अरुले पनि ‘रिक्स’ लिनुपर्ने उनको धारणा छ । निर्मातासँगै प्रदर्शकले पनि यसमा योगदान गर्नुपर्ने भन्दै उनी भन्छन्, “देशभरका हलबाट निर्माताको लगानीको करिब ५० प्रतिशत रकमको हामी ग्यारेन्टी गर्छौं भन्न प्रदर्शकले पनि सक्नुपर्छ । कम्तिमा यति भए निर्माताले चलचित्र रिलिजको आँट गर्न सक्नेछन् ।”
प्रदर्शक र निर्माताबीच समन्वयकारी भूमिका निर्वाह गर्न चलचित्र विकास बोर्ड चुकेको उनको ठम्याइ छ । “यसमा कदम चालिक्नुपर्ने थियो । यसअघि नभए पनि कम्तिमा अहिले त सुरु गर्नुपर्यो । अरु देशमा रिलिज डेट तोकेर पब्लिसिटी सुरु भइसकेको छ । त्यहाँ सरकारी निकायको कतै न कतै रोल छ । हाम्रो पनि त्यसो गर्न सकिन्थ्यो,” निर्देशक भट्टराई भन्छन्, “हाम्रोमा बीचमा बस्ने मान्छे नभएकै हो । बोर्डले यो भूमिका निर्वाह गर्न सक्थ्यो । कुनै त्यस्तो काम भइरहेको हुन पनि सक्छ । तर, हामीले आजसम्म थाहा पाएका छैनौं । हामीलाई छलफलका लागि कसैले बोलाएको पनि छैन ।
भारतमा शतप्रतिशत अकुपेन्सीमा सिनेमा हल सञ्चालनमा आइसकेका छन् । तर, नेपालमा अन्य पेसा व्यवसायले पुरानै लय समाइसके पनि सिनेमा रिलिज भने हुन सकेका छैनन् । निर्माण सम्पन्न भएर करिब तीन दर्जन चलचित्र तयारी अवस्थामा रहे पनि कसैले पनि रिलिज गर्ने आँट गरेका छैनन् ।