site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
नौ महिनापछि नेपाल–भारतबीच उडान हुँदै

काठमाडौं । नौ महिनापछि नेपाल–भारतबीच नियमित हवाई संचालन हुने भएको छ । नेपाल र भारतीय नागरिक मात्रै यात्रा गर्न पाउने गरी दुई देशबीच पुनः हवाई सुचारु हुन लागेको हो । नेपाल सरकारले भारतले सिफारिस गरेको एयर बबल स्किममा सहभागी हुने निर्णय गरेको थियो ।

एयर बबल स्किममा उडान गर्ने विषयमा नेपालले निर्णय गरेर भारतलाई जानकारी गराएको थियो । भारतले पनि संचालन गर्ने गरी नेपाललाई पत्र पठाएपछि दुई देशबीच पुनः हवाई संचालन हुन लागेको हो । नेपालबाट नेपाल एयरलाइन्सले भारतमा दैनिक एक उडान गर्ने छ भने भारतबाट एयर इन्डियाले नेपालमा दैनिक एक उडान गर्नेछ ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

भारतले एयर इन्डियालाई उडान गर्नका लागि तोकेको पत्र प्राप्त भएको नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीले जानकारी दिए । “अब एयर इन्डियाले तालिकाको लागि आग्रह गर्छ । हामीले उडान तालिका दिन्छौं,” उनले भने, “अबको साताभित्र उडान सुरु हुनेछ ।”

यता, नेपाल वायुसेवा निगमले आगामी डिसेम्बर १७ बाट भारत उडान गर्ने तयारी गरेको छ । निगम प्रवक्ता करिश्मा श्रेष्ठले आगामी साताभित्र उडान सुरु गर्ने तयारी गरिरहेको जानकारी दिइन् । “सम्भवतः डिसेम्बर १७ देखि उडान हुन सक्छ,” उनले भनिन् ।

नेपाल एयरलाइन्सले भारतको दिल्ली दैनिक एक उडान नियमित रुपमा गर्ने छ भने भारतबाट पनि एयर इन्डियाले दैनिक एक उडान काठमाडौं गर्ने छ ।

गत चैत्रदेखि रोकिएको नेपाल भारत नियमित हवाई उडान ९ महिनापछि पुनः सुचारु हुन लागेको हो । 

प्रकाशित मिति: बिहीबार, मंसिर २५, २०७७  १७:२५
प्रतिक्रिया दिनुहोस्