
काठमाडौं । मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) नेपाल कम्प्याक्ट पुनः सक्रिय भएको छ । नेपाल र अमेरिका सरकारको संयुक्त लगानीमा सञ्चालित कम्प्याक्टको विद्युत् प्रसारण आयोजनालाई अगाडि बढाउने क्रममा बिहीबार (साउन २९) दुई प्रमुख सम्झौतामा हस्ताक्षर गरिएको छ ।
रातमाटे–नयाँ दमौली प्रसारणलाइनको निर्माण सम्झौता एञ्जलिक स्किपर संयुक्त उपक्रमसँग गरिएको छ । नयाँ दमौली–नयाँ बुटवल प्रसारणलाइन निर्माण सम्झौता वाइबा–सलासर संयुक्त उपक्रमसँग गरिएको एमसीए नेपालले जनाएको छ ।
संयुक्त लागत १५.४५ करोड अमेरिकी डलर रहेका यी सम्झौताअन्तर्गत १८० किमि लामो ४०० केभी प्रसारणलाइनहरूको डिजाइन, स्थापना, परीक्षण र सञ्चालनलगायत काम गरिनेछ ।
अर्थ मन्त्रालय, नेपाल विद्युत् प्राधिकरण, एमसीसीका कार्यवाहक उपाध्यक्ष, एमसीसी आवासीय राष्ट्रिय नियोगका प्रतिनिधि र अमेरिकी दूतावासका अधिकारीहरूको उपस्थितिमा एमसीए नेपालका कार्यकारी निर्देशक खड्गबहादुर विष्ट र दुई कम्पनीका प्रतिनिधिले सम्झौतामा हस्ताक्षर गरेका हुन् ।