काठमाडौं । कुनै बेला भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले एकअर्कालाई अंगालो हाल्दै खुलेर प्रशंसा गरेका थिए । उनीहरू स्टेडियममा आयोजित र्यालीहरूमा सँगै देखिएका थिए, जसले विचार मिल्ने दुई लोकप्रिय नेतालाई प्रचारको ठूलो अवसर प्रदान गरेको थियो । दुवैले एकअर्कालाई ‘सच्चा मित्र’ भनेका थिए ।
भारतमा मोदी–ट्रम्पबीचको सम्बन्धलाई अभूतपूर्व मानिन्थ्यो । तर, पछिल्ला केही घटनाले यो मित्रतामा चिसोपन ल्याएको अनुमान गर्न सकिन्छ । ट्रम्पको भन्सार कर नीति, भारतको रुससँगको तेल कारोबार र अमेरिकाको पाकिस्तानप्रतिको झुकावले नयाँ दिल्ली–वासिङ्टन सम्बन्धमा तनाव बढाएको विश्लेषण गरिएको छ । यो तनाव खासगरी ट्रम्पका सामाजिक सञ्जाल पोस्टमार्फत बाहिरिएको छ ।
यसरी उब्जिएको अवस्था देखेर नीतिविज्ञहरू अब मोदी–ट्रम्प मित्रता इतिहासको पानामा सीमित हुने हो कि भन्ने प्रश्न उठाइरहेका छन् । यद्यपि, ट्रम्पले हालसम्म मोदीमाथि प्रत्यक्ष रूपमा अपमानजनक टिप्पणी गरेका छैनन् ।
कतिपयले यस चिसोपनले दशकौँदेखि बनिरहेको रणनीतिक द्विपक्षीय सम्बन्धलाई नै असर गर्न सक्ने चिन्ता व्यक्त गरेका छन् । “यो सम्बन्धका लागि परीक्षाको समय हो,” भारतको विदेश मन्त्रालयका पूर्वनीति सल्लाहकार अशोक मलिकले भने । तर ह्वाइट हाउसले यसबारे टिप्पणी गर्न अस्वीकार गरेको छ ।
व्यापार र भन्सार करको तनाव
भारत–अमेरिका सम्बन्धमा पछिल्लो तनाव गत साता सुरु भयो, जब ट्रम्पले भारतमाथि २५ प्रतिशत भन्सार कर लगाउने र रुससँगको तेल खरिदका कारण थप अनिर्दिष्ट जरिवाना लगाउने घोषणा गरे ।
नयाँदिल्लीका लागि यस्तो कदमले विशेषगरी अर्थतन्त्रमा असर पार्ने अपेक्षा गरिएको छ । ट्रम्पले भारतको अर्थतन्त्रलाई ‘मृत’ भनेर टिप्पणी गरेपछि स्थिति अझै पेचिलो बन्यो ।
ह्वाइट हाउसका एक अधिकारीले नाम नबताउने सर्तमा ट्रम्पका भनाइले भारतसँगको व्यापार वार्तामा उनको निरासा झल्काउने बताए । उनका अनुसार, ट्रम्प वार्तामा कडा रणनीति अवलम्बन गर्न चाहन्छन्, पाकिस्तानसँग पुनः संरचना खोजिरहेका होइनन् ।
सोमबार ट्रम्पले ‘ट्रुथ सोसल’मा पोस्ट गर्दै भारतले रुसबाट ‘ठूलो मात्रामा’ तेल किनेर खुलेआम नाफा कमाइरहेको आरोप लगाए । “उनीहरूलाई युक्रेनमा रुसी युद्ध मेसिनले कति मान्छे मारेको छ भन्ने वास्ता छैन । त्यसैले म भारतलाई तिर्ने भन्सार कर उल्लेखनीय रूपमा बढाउनेछु,” उनले लेखे ।
यसले भारत सरकारलाई असहज बनाएको छ, जुन संरक्षणवादी नीतिको सन्तुलनमा रहँदै अमेरिकी वस्तुहरूका लागि बजार खुला गर्ने विषयमा वार्तामा संलग्न छ । “पछिल्ला २५ वर्षको निरन्तर प्रयास केवल भन्सार करले होइन, ट्रम्पका अनियन्त्रित सामाजिक सञ्जाल पोस्टहरूले पनि जोखिममा पारेका छन्,” मलिक भन्छन्, जो हाल द एसिया गु्रपको भारत शाखा नेतृत्व गर्छन् ।
ट्रम्पको पाकिस्तानप्रतिको झुकाव
ट्रम्प–मोदी सम्बन्धमा चिसोपन ल्याउने अर्को कारण ट्रम्पको पाकिस्तानप्रतिको दृष्टिकोण हो । विवादित कश्मीरमा भएको हिंसापछि भारत–पाकिस्तानबीच सैन्य तनाव चुलिएको थियो । भारतले इस्लामाबादलाई दोष दिए पनि पाकिस्तानले अस्वीकार गर्यो ।
चार दिन लामो तनावपछि विश्व शक्तिहरूको चासोले स्थिति नियन्त्रणमा आएको थियो । तर ट्रम्पले भारत–पाकिस्तानबीच मध्यस्थता गर्ने र कश्मीर विवादको समाधान दिने प्रस्तावले भारत असहज बन्यो । उनले झन्डै दुई दर्जनपटक यस्तो दाबी दोहोर्याए ।
मोदी सरकार पाकिस्तानमाथि कठोर देखिने रणनीति अपनाउँछ । अन्तर्राष्ट्रिय रूपमा पाकिस्तानलाई अलग्याउने प्रयास गर्छ । यस्तोमा ट्रम्पको दाबीले भारतमा गहिरो असन्तुष्टि पैदा गरेको हो ।
ट्रम्पले पाकिस्तानप्रति नरम व्यवहार देखाएका छन् । भन्सार कर लगाएको केही घण्टापछि उनले पाकिस्तानसँग ‘विशाल’ तेल सम्झौताको घोषणा गरे । त्यति मात्रै होइन, एकजना वरिष्ठ पाकिस्तानी सैन्य अधिकारीलाई उनले निजी भोजमा निम्त्याएका थिए ।
जिन्दल विश्वविद्यालयका अन्तर्राष्ट्रिय मामिला विज्ञ श्रीराम चौलियाका अनुसार, ट्रम्पले पाकिस्तानलाई आतंकवादविरोधी महान् साझेदार भनेर खुलेर प्रशंसा गरेपछि भारतमा ‘माहोल बिग्रिएको’ छ ।
रुससँग भारतको तेल कारोबार
रुस–भारत तेल कारोबार पनि सम्बन्ध चिसिनुको कारण हो । युक्रेन युद्ध सुरु भएपछि बाइडेन प्रशासनले भारतलाई रुसबाट तेल नकिन्न दबाब दिएको थियो । तर भारतले अझै बढी तेल किनेर चीनपछि दोस्रो ठूलो खरिदकर्ता बन्यो ।
समयसँगै बाइडेन प्रशासनको दबाब कम भयो र चीनविरुद्ध भारतलाई रणनीतिक साझेदार बनाउनेतर्फ ध्यान केन्द्रित गरियो । तर, ट्रम्पले तेल विषयमा पुनः उठाएको टिप्पणीले पुराना विषय सतहमा ल्याएको छ ।
आइतबार, ट्रम्प प्रशासनका डेपुटी चिफ अफ स्टाफ स्टीफन मिलरले भारतले रुसी युद्धलाई वित्तीय सहयोग दिएको आरोप लगाए । सोमबार ट्रम्पले फेरि भारतमाथि भन्सार कर बढाउने चेतावनी दिए ।
“भारतले रुसबाट ठूलो मात्रामा तेल किनेर खुलेआम मुनाफा कमाइरहेको छ, र उनलाई युद्धको मानवीय मूल्यको कुनै चिन्ता छैन,” ट्रम्पले सामाजिक सञ्जालमा लेखे ।
कतिपय विश्लेषक भने ट्रम्पको यस्तो व्यवहारलाई केवल दबाबको रणनीति मान्छन् । “उनको अनिश्चित नीति हेर्दा फेरि अंगालोमा फर्कन पनि बेर नलाग्न सक्छ,” चौलिया भन्छन् ।
भारतको सावधानीपूर्वक प्रतिक्रिया
मोदीको बलियो छविका कारण धेरैले भारतले ट्रम्पको धम्कीप्रति कडा प्रतिक्रिया देला भन्ने अपेक्षा गरेका थिए । तर भारतका वाणिज्यमन्त्री पीयूष गोयलले ‘निष्पक्ष, सन्तुलित र पारस्परिक रूपमा लाभदायी’ व्यापार सम्झौताको कुरा गर्दै सजग प्रतिक्रिया दिएका छन् ।
विदेश मन्त्रालयले सुरुमा तनावलाई सामान्य भन्न खोजे पनि सोमबार जारी विज्ञप्तिमा ट्रम्पको आलोचनालाई ‘अनुचित र अव्यावहारिक’ भन्दै खण्डन गर्यो । भारतले आफ्नो ‘राष्ट्रिय हित र आर्थिक सुरक्षाको रक्षा गर्न आवश्यक सबै कदम चाल्ने’ घोषणा गर्यो ।
विज्ञप्तिमा युक्रेन युद्धपछि युरोपमा आपूर्ति मोडिएको कारण भारतले रुसबाट तेल आयात गरेको स्पष्ट गरिएको छ । साथै, रुससँग व्यापार गर्ने देशहरूले भारतको आलोचना गर्नु ‘दोहोरो मापदण्ड’ भएको जनाइएको छ ।