
काठमाडौं । खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाका अनशनरत मेयर तीर्थराज भट्टराई अस्पतालबाट ‘डिस्चार्ज’ नहुँदै आफूखुसी माइतीघर पुगेका छन् ।
सरकारसँग सहमति नभएपछि उनी वीर अस्पतालबाट निस्किएर माइतीघर पुगेका वार्ता समितिका सदस्य एवं दिक्तेल रूपाकोट मझुवागढी–१२ का वडाध्यक्ष दानबहादुर राईले बताए ।
“मेयरसाब अस्पतालमा हुँदा पनि सरकारसँग पटक–पटक वार्ता भए पनि कुनै निष्कर्ष निस्किएन । त्यसपछि मेयरसाब फेरि माइतीघरमै आउनुभएको छ,” उनले बाह्रखरीसित भने, “उहाँ (मेयर)को टोलीले वार्ता जारी राखेको छ । आज सहमति हुने सम्भावना छ ।”
दुई पक्षबीच गएको बुधबार, बिहीबार र शुक्रबार वार्ता भएको थियो । पटक–पटक वार्ता भए पनि निष्कर्षविहीन बनेपछि अस्पतालबाट मेयर माइतीघर पुगेका वडाध्यक्ष राईले जानकारी दिए ।
मेयर भट्टराईले साउन ११ गतेदेखि तीनदिने सत्याग्रह सुरु गरेका थिए । त्यसपछि बुधबार (साउन १४)देखि माइतीघरमा अनिश्चितकालीन आमरण अनशन थालेका थिए । स्वास्थ्य अवस्था कमजोर बन्दै गएपछि बुधबारै राति करिब १० बजे प्रहरीले उनलाई अस्पताल पुर्याएको थियो ।
मेयर भट्टराईले जैविक विविधता, रैथाने संस्कृति संरक्षण, जलवायु परिवर्तन न्यूनीकरण, बाँस प्रवर्द्धन, गिट्टी, क्रसर नियमन, जंगली जनावर नियन्त्रणलगायत सातबुँदे माग राखेका छन् । ०७९ सालको स्थानीय तह निर्वाचनमा उनी नेपाली कांग्रेसबाट निर्वाचित मेयर हुन् ।