site stats
बाह्रखरी :: Baahrakhari
देश
भटौली खोलामा बाढी : पक्की पुलमा क्षति, सवारी आवागमन बन्द

रामेछाप । सदरमुकाम मन्थलीलाई खाँडादेवी, दोरम्बा शैलुङ र सुनापति गाउँपालिकासँग जोड्ने तथा काठमाडौं जाने वैकल्पिक मार्गका रूपमा रहेको भटौली खोलाको पक्की पुलमा बाढीले क्षति पुर्‍याएको छ । कटानका कारण ठूला सवारीसाधनको आवागमन रोकिएपछि नेपाली सेना र सशस्त्र प्रहरी बाटो खुलाउन लागिपरेका छन् ।

शुक्रबार (साउन १६) राति परेको अविरल वर्षाका कारण आएको बाढीले पुलको पकरबासतर्फको किनार कटान गरेपछि ठूला सवारीसाधनको आवागमन पूर्ण रूपमा रोकिएको छ । मन्थली नगरपालिका–७ र खाँडादेवी गाउँपालिका–४, पकरबास जोड्ने उक्त पक्की पुलको पकरबासपट्टि खोलाले भत्काएपछि सडकको एक भाग खोक्रो बनेको छ । दुईपांग्रेबाहेक अरू सवारीसाधन चलाउन बन्द गरिएको प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाले बताए । उनले भने, “बाटो खुलाउने प्रयास जारी छ ।” 

पुल जोखिममा रहेको थाहा पाएपछि प्रदेशसभा सदस्य आनन्द श्रेष्ठ, प्रमुख जिल्ला अधिकारी थापा, जिल्लास्थित सुरक्षा निकायका प्रमुखसहितको टोलीले स्थलगत अवलोकन गरी सम्बन्धित निकायलाई मर्मत गर्न निर्देशन दिएको थियो ।

शुक्रबार रातिको वर्षाले बनाइएका संरचना समेत बगाएको स्थानीय केदारप्रसाद ढुंगेलले बताए ।

खाँडादेवी गाउँपालिका–४ का वडाध्यक्ष कृष्ण पौडेलले बाढीले कटान सुरु गरेपछि सम्बन्धित निकायलाई जानकारी गराए पनि बेवास्ता गरिएका कारण यो अवस्था आएको बताए ।

जिल्लाका तीन गाउँपालिकालाई सदरमुकाम मन्थलीसँग जोड्ने यो पुल रामेछाप–काठमाडौं वैकल्पिक मार्गका रूपमा समेत प्रयोग गरिँदै आएको छ । गत वर्ष खुर्कोटको पुल बगाएपछि दोलखा, रामेछाप र ओखलढुंगाका धेरै सवारीसाधन यही बाटो भएर राजधानी आवतजावत गरेका थिए ।

हाल पनि खुर्कोटको पुलमा १५ टनभन्दा बढी भारवहन सवारीसाधन यही बाटो भएर जिल्ला सदरमुकाम मन्थली भित्रने र काठमाडौं तथा तराईका विभिन्न भागमा आवतजावत गरिरहेकामा अहिले सबै आवागमन रोकिएको छ । रासस

प्रकाशित मिति: आइतबार, साउन १८, २०८२  ०५:४०
प्रतिक्रिया दिनुहोस्