site stats
बाह्रखरी :: Baahrakhari
विदेश
क्यालिफोर्नियामा एफ–३५ लडाकु विमान दुर्घटनाग्रस्त

काठमाडौं । अमेरिकी सेनाको एउटा एफ–३५ लडाकु विमान क्यालिफोर्नियाको लिमोर नौसेना हवाई अड्डा (नेभल एयर स्टेसन लिमोर)नजिकै दुर्घटना भएको छ ।

यो दुर्घटना मध्य क्यालिफोर्नियाको फ्रेस्नो सहरबाट करिब ६४ किलोमिटर दक्षिणपश्चिममा अवस्थित लिमोर नौसेना हवाई अड्डानजिकै भएको नौसेनाले जनाएको छ ।

स्थानीय समयानुसार बुधबार साँझ करिब ६ः३० बजे यो दुर्घटना भएको हो । दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको नौसेनाले जनाएको छ ।

दुर्घटनामा पाइलट समयमै विमानबाट बाहिर निस्कन (इजेक्ट गर्न) सफल भएका र उनलाई अस्पताल लगिएको छ । हाल उनी सुरक्षित र खतरामुक्त छन् ।

अमेरिकी नौसेनाका अनुसार, यो लडाकु विमान स्ट्राइक फाइटर स्क्वाड्रन भीएफ–१२५ लाई सुम्पिइएको थियो । त्यसलाई ‘रफ रेडर्स’ नामले चिनिन्छ ।

भीएफ–१२५ एक फ्लीट रिप्लेसमेन्ट स्क्वाड्रन हो । त्यसको जिम्मेवारी पाइलट र चालक दल (एयर क्रू)लाई तालिम दिने हो । दुर्घटना हुँदा यो विमान कुनै मिसनमा नभई प्रशिक्षण उद्देश्यका निम्ति उडानमा थियो ।

एफ–३५ विमान के हो ?
एफ–३५ पाँचौँ पुस्ताको एकल सिट, एउटा इन्जिन स्टिल्थ मल्टिरोल लडाकु विमानको परिवार हो । हवाई श्रेष्ठता, आक्रमण, इलेक्ट्रोनिक युद्ध र गुप्तचर जानकारी संकलनको मिसन पूरा गर्न यसको डिजाइन गरिएको हो । यो विमान लकहिड मार्टिन कम्पनीले बनाउँछ । यो अत्याधुनिक स्टिल्थ, रडारबाट बच्ने क्षमता र लडाकु क्षमताका निम्ति प्रख्यात छ ।

दुर्घटनाग्रस्त एफ–३५ विमानको लागत करिब १०० मिलियन डलर रहेको जनाइएको छ । यो अमेरिकी नौसेनाका निम्ति विशेष रूपमा डिजाइन गरिएको एक ‘भेरियन्ट’ हो । विमानवाहक जहाज (एयरक्राफ्ट क्यारियर)बाट त्यसको उडान गर्न सकिन्थ्यो ।

प्रकाशित मिति: बिहीबार, साउन १५, २०८२  १३:०५
प्रतिक्रिया दिनुहोस्