site stats
बाह्रखरी :: Baahrakhari
विदेश
रूसमा ८.८ म्याग्निच्युडको भूकम्प, जापान, अमेरिकालगायत देशमा सुनामीको चेतावनी

काठमाडौं । रूसको सुदूरपूर्वी तटमा रहेको कामचटका प्रायद्वीपनजिकै बुधबार शक्तिशाली ८.८ म्याग्निच्युडको भूकम्प गएको छ ।
 
अमेरिकी भूगर्भ सर्वेक्षण (यूएसजीएस)का अनुसार भूकम्प समुद्रको १९.३ किलोमिटर गहिराइमा पेट्रोपावलोव्स्क–कामचट्स्कीबाट करिब १२५ किलोमिटर दक्षिण–पूर्वमा केन्द्रित रहेको छ । 
 
यो भूकम्प सन् २०११ को जापानको ९.० म्याग्निच्युडको भूकम्पपछिको सबैभन्दा शक्तिशाली मानिएको छ ।  

भूकम्पका कारण रूस, जापान, हवाई, अलास्का, गुआम र माइक्रोनेसियाका केही क्षेत्रमा सुनामी चेतावनी जारी गरिएको छ । 

जापानको मौसम एजेन्सीले प्रशान्त महासासगर तटमा १ देखि ३ मिटरसम्मका लहरहरू आउनसक्ने चेतावनी दिएको छ । यसले होक्काइडो, तोहोकु, कान्टो र वाकायामा क्षेत्रमा असर पार्न सक्छ । 

रूसको कामचटका क्षेत्रमा ३–४ मिटर उचाइका सुनामी लहरहरू रेकर्ड गरिएको छ । सखालिनको सेभेरो–कुरिल्स्कमा स्थानीय बासिन्दालाई सुरक्षित स्थानमा सारिएको छ ।  

हवाईमा सुनामी लहरहरू स्थानीय समयअनुसार साँझ ७ : १७ बजे आइपुग्ने अनुमान गरिएको छ । 

अमेरिकाको पश्चिमी तट, अलास्का र क्यानाडामा पनि सुनामी सतर्कता जारी गरिएको छ । 

रूसको आपतकालीन मन्त्रालयले तटीय क्षेत्रका बासिन्दालाई समुद्र किनारबाट टाढा रहन आग्रह गरेको छ ।  

कामचटका प्रायद्वीप प्रशान्त र उत्तर अमेरिकी टेक्टोनिक प्लेटहरूको संगमस्थलमा अवस्थित छ, जुन प्रशान्त रिङ अफ फायरको भूकम्पीय जोखिम क्षेत्र हो । 

हालसम्म हताहत वा क्षतिको कुनै आधिकारिक विवरण प्राप्त भएको छैन । बीबीसी

प्रकाशित मिति: बुधबार, साउन १४, २०८२  ०७:४२
प्रतिक्रिया दिनुहोस्