site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
मधेस प्रदेशका पूर्वप्रमुख अहिराजविरुद्ध मुद्दा दर्ता, भोलि बयान र थुनछेक
फाइल तस्बिर ।

काठमाडौं । मधेस प्रदेशका पूर्वप्रमुख राजेश झा (अहिराज) विरूद्ध काठमाडौं जिल्ला अदालतमा बलात्कार मुद्दा दर्ता भएको छ । जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले मंगलबार अहिराजविरुद्ध मुद्दा दायर गरेको हो । 

काठमाडौं जिल्ला अदालतका सूचना अधिकारी दीपककुमार श्रेष्ठले उक्त मुद्दामा बुधबार बयान तथा थुनछेक बहस हुने जानकारी दिए । यही साउन ४ गते पक्राउ परेका अहिराजविरुद्ध अनुसन्धान सकेर १०औँ दिन अभियोजन भएको हो । 

उनीमाथि बानेश्वरमा एक युवतीलाई जबरजस्ती करणी गरेको अभियोग छ । अहिराजविरुद्ध गत माघ ३ मा प्रहरी परिसर काठमाडौंमा जाहेरी दर्ता भएको थियो । प्रहरीले उक्त जाहेरीका आधारमा चैत २५ मा अदालतबाट पक्राउ अनुमति लिएको थियो । 

त्यसयता फरार रहेका अहिराज भारत गएर लुकेको प्रहरी स्रोतको दाबी छ । प्रदेश प्रमुख भइसकेका अहिराजले घरमा एक्लै भएको समयमा बोलाएर युवतीको मञ्जुरीविपरीत पटक–पटक बलात्कार गरेको आरोप छ । 

२०८१ जेठ ४ गतेको घटनाको केही समयमै प्रहरी परिसर काठमाडौंमा पुगेकी पीडित युवतीको जाहेरी प्रहरीले नलिएको आरोप छ । उनी प्रहरीविरुद्ध जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौं पुगेपछि कात्तिक ३० को आदेशमा प्रहरीले जाहेरी दर्ता गरी कारबाही अघि बढाएको थियो ।

प्रकाशित मिति: मंगलबार, साउन १३, २०८२  १८:०७
प्रतिक्रिया दिनुहोस्