
काठमाडौं । फ्रान्समा आयोजित टेनिस युरोप यू–१४ अन्तर्गत डबलतर्फ नेपालकी शिवाली गुरुङ च्याम्पियन बनेकी छन् ।
फ्रान्सको एनेसीमा जुलाई १९ देखि २६ सम्म सञ्चालित प्रतियोगिताको डबलतर्फको उपाधि शिवाली गुरुङको जोडीले जितेको हो । नेपालकी शिवाली र चाइनिज ताइपेइकी के–चिह सुको जोडीले ब्राजिलियन जोडी एडुर्डा गोमज र फ्लाभिया चेरोबिन सुयुजाविरुद्ध २–० को सोझो सेटमा जित निकालेको हो ।
शिवाली र सुले पहिलो सेट ६–१ ले आफ्नो पक्षमा पार्दा दोस्रो सेट ७–६ ले जित्दै महिला डबलतर्फको उपाधि सुनिश्चित गरे । नेपालका कुनै पनि खेलाडीले युरोपमा आयोजित प्रतियोगिताको उपाधि जितेको यो पहिलोपटक हो ।
शिवाली यू–१४ महिलातर्फ एसियन वरीयताको चौथो स्थानमा छिन् । अब उनले बेल्जियम र जर्मनीमा हुने प्रतियोगिताहरूमा सहभागिता जनाउने उनको पारिवारिक स्रोतले जानकारी दिएको छ ।
शिवाली भाटभटेनी समूहबाट करिब २० लाख बराबरको प्रायोजन भएकी युवा टेनिस खेलाडी हुन् । भाटभटेनी समूहको सशक्त नेतृत्व र प्रतिबद्धताको साथ पाएकी शिवालीले टेनिसमार्फत पछिल्लो समय उत्कृष्ट प्रदर्शनसाथ अन्तर्राष्ट्रिय मञ्चमा नेपालको नाम चिनाउँदै आएकी छन् ।
भाटभटेनीले टेनिसमात्रै नभई अन्य खेल र खेलाडीलाई पनि प्राथमिकतासाथ सहयोग गर्दै आइरहेको छ । भलिबलकी उषा भण्डारीलाई ब्रान्ड एम्बासडरको रूपमा सम्झौता गरेको छ ।
स्विमिङका ओलम्पियन शिरिष गुरुङ, नेपाली राष्ट्रिय बास्केटबलकी पूर्वकप्तान सदीना श्रेष्ठ, राष्ट्रिय महिला टिमकी मिडफिल्डर प्रीति राईसँग पनि खेल कौशल र व्यक्तित्व विकासका निम्ति भाटभटेनीले सहकार्य र सहयोग गर्दै आएको छ ।
नेपाल सुपर लिग (एनपीएल)को टोली ललितपुर सिटी एफसीको स्वामित्वसमेत भाटभटेनीसँग छ ।