काठमाडौं । मुख्यसचिव एकनारायण अर्यालसहित १८ जना सचिव (विशिष्ठ श्रेणी) र ६१ जना सहसचिव (रा.प.प्रथम श्रेणी) अनिवार्य अवकाश पाउँदै छन् ।
राष्ट्रिय किताबखाना (निजामती)का अनुसार २०८२ साउन १ गतदेखि २०८३ असार मसान्तसम्मको अवधिमा उनीहरुले उमेर हद वा सेवा अवधिको कारणबाट अनिवार्य अवकाश पाउने भएका हुन् ।
“चालु आर्थिक वर्ष २०८२/८३ मा कुल २ हजार २११ जना निजामती कर्मचारीले अवकास पाउँदै हुनुहन्छ । यसमा विशिष्ठ श्रेष्ठ र रा.प.प्रथम श्रेणीका कर्मचारीको संख्या पनि ठूलै छ,” राष्ट्रिय किताबखानाका निर्देशक शोभाकर पाण्डेयले बाह्रखरीलाई जानकारी दिए, “यसमा एक–दुई जना यताउता हुनसक्छ ।”
किताबखानाको कर्मचारी वैयक्तिक सूचना प्रणाली (पीआईएस) मा रहेको अभिलेख अनुसार चालु आर्थिक वर्ष २०८२/८३ मा अनिवार्य अवकाश हुने निजामती कर्मचारीहरुको सूची तयार पारिएको हो । यसमा निजामती सेवाभन्दा अन्य सरकारी सेवाबाट अवकाश पाउने कर्मचारीको संख्या जोडिएको छैन ।
उमेर वा सेवा अवधिका कारणबाट अनिवार्य अवकाश पाउने कर्मचारीले अवकाश हुने मितिभन्दा ६ महिना अगावै फाराम भरी आफू बहाल रहेको कार्यालयमार्फत राष्ट्रिय किताबखाना (निजामती) मा अनिवार्य पठाउनुपर्नेछ ।
अवकाशमा जाने कर्मचारीहरुको अनिवार्य अवकाशसम्बन्धी सूचना किताबखानाले पनि सम्बन्धित कर्मचारी कार्यरत कार्यालयमा पठाउनेछ । उमेर वा सेवा अवधिका कारण मुख्यसचिव अर्याल आउँदो २०८२ मंसिर १० मा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयबाट बिदा हुने छन् ।
महान्यायाधिवक्ताको कार्यालयका नायब महान्यायाधिवक्ता टेकबहादुर घिमिरेले केही दिनअघि अवकास पाइसकेका छन् । नेपाल कानुन आयोगका सचिव आलोकचन्द्र श्रेष्ठले जेठ ८ गतेबाट अवकास पाएका थिए ।
सर्वोच्च अदालतका मुख्यरजिष्ट्रार देवेन्द्रराज ढकाल यही साउन १२ गतेबाट अवकास पाउने किताबखानाको सूचीले देखाउँछ । सर्वाेच्च अदालतका मुख्यरजिष्ट्रार–रजिष्ट्रार न्यायाधीशमा नियुक्त हुन्थे । त्यसपछि पाँचदेखि सात वर्षसम्म न्यायाधीश बन्ने अवसर मिल्थ्यो । तर, ढकालका हकमा त्यस्तो भएन ।
उच्चअदालतका न्यायाधीश ६३ र सर्वाेच्च अदालतका न्यायाधीश ६५ वर्षमा मात्रै अवकाशमा जान्छन् । गण्डकी प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव खगेन्द्रप्रसाद सुवेदी २०८२ भदौ १८ गते अवकाशमा जाँदै छन् ।
महान्यायाधिवक्ताको कार्यालयका नायब महान्याधिवक्ता गोपालप्रसाद रिजालले २०८२ असोज ५ गते अवकाश पाउँदैछन् । गृह मन्त्रालयका सचिव गोकर्णमणि दुवाडी पनि २०८२ मंसिर १० गते अनिवार्य अवकाशमा जानेछन् ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव फणिन्द्र गौतमले पनि २०८२ मंसिर १८ गतेबाट अवकास पाउनेछन् ।
राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगका सचिव भरतमणि सुवेदीले २०८२ पुस २९ गतेबाट अवकाश पाउने किताबखानाको सूचीमा उल्लेख छ । राष्ट्रिय योजना आयोगका सचिव सुमनराज अर्याल २०८२ माघ १९ गतेबाट अवकासमा जानेछन् ।
उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव रामप्रसाद घिमिरेले २०८२ फागुन १० गतेबाट अनिवार्य अवकाश पाउनेछन् । युवा तथा खेलकुद मन्त्रालयका सचिव हरिप्रसाद लम्साल २०८२ फागुन २४ गतेबाट अवकाशमा जाँदैछन् ।
राष्ट्रिय किताबखानाका अनुसार, कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिव दिपककुमार खराल २०८२ चैत १५ गतेबाट अवकाशमा जानेछन् । नेपाल ट्रष्टको कार्यालयका सचिव रामआधार साह २०८३ वैशाख १० गतेबाट अवकाशमा जानेछन् ।
यस्तै, खानेपानी मन्त्रालयकी सचिव प्रमिलादेवी बज्राचार्य २०८३ असार १७ गतेबाट अवकाशमा जानेछिन् । राष्ट्रिय तथ्याङ्क कार्यालयका प्रमुख तथ्याङ्क अधिकारी मधुसुदन बुर्लाकोटी २०८३ असार २१ गतेबाट अवकास जाने किताबखानाको अभिलेखले देखाउँछ ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव डा. कृष्णहरि पुष्करले २०८३ असार २४ गतेबाट अनिवार्य अवकाश पाउनेछन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव खगेन्द्रप्रसाद नेपालले २०८३ असार २८ गतेबाट अवकाश पाउनेछन् ।
राष्ट्रिय किताबखानाको अभिलेख अनुसार, चालु आर्थिक वर्षमा ६१ जना सहसचिव (रा.प.प्रथम श्रेणी)ले अनिवार्य अवकाश पाउनेछन् । महालेखा नियन्त्रक कार्यालयका नायब महालेखा परीक्षक रविन्द्रप्रसाद देवकोटाले २०८२ साउन ६ गते अवकाश पाइसकेका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहसचिव दण्डीप्रसाद निरौलाले २०८२ साउन ७ गते अवकास पाइसकेका छन् ।
परराष्ट्र मन्त्रालयका सहसचिव तापस अधिकारीले २०८२ साउन ८ गतेबाट अवकास पाएका छन् । थाइल्याण्डका लागि नेपाली राजदूत धनबहादुर ओलीले २०८३ वैशाख २९ गतेबाट अवकाश पाउँदैछन् ।
राष्ट्रिय किताबखानाका अनुसार गत आर्थिक वर्ष २०८१/८२ मा १५ जना सचिव (विशिष्ट श्रेणी) र ८३ जना सहसचिव तह (रा.प.प्रथम श्रेणी)सहित २ हजार ११९ जना सरकारी निजामती कर्मचारीले अवकाश पाएका थिए ।
अघिल्लो आर्थिक वर्ष २०८०/८१ मा १९ जना सचिव र ६४ जना सहसचिवसहित २ हजार २६० जना निजामती कर्मचारीले अवकाश पाएका थिए । किताबखानाका अनुसार आर्थिक वर्ष २०७९/८० मा २ हजार ४ सयभन्दा बढी निजामती कर्मचारीले अनिवार्य अवकाश पाएका थिए ।