site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
विपद् प्रतिकार्यका लागि अत्याधुनिक प्रविधि प्रयोग गर्ने ठाउँका पुगेका छौँ : गृहमन्त्री
फाइल तस्बिर ।

काठमाडौं । गृहमन्त्री रमेश लेखकले विपद् प्रतिकार्य खोज, उद्दार र राहत जस्ता कामका लागि अत्याधुनिक प्रविधि प्रयोग गर्ने ठाउँमा पुगेको बताएका छन् । मंगलबार गृह मन्त्रालयमा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र नेपाल मानव रहित विमान (ड्रोन) संघ/नेपाल ड्रोन संघबिच भएको समझदारी पत्रमा हस्ताक्षर कार्यक्रममा बोल्दै गृहमन्त्री लेखकले ड्रोनको प्रयोगले विपद् प्रतिकार्य खोज, उद्दार र राहत (औषधी र पानीलगायत) ड्रोनमार्फत पुर्‍याउन सकिने बताए ।

उनले विपद्को पूर्वसूचना र प्रतिकार्यका लागि तयारी अवस्थामा बस्न जरुरी रहेको बताउँदै पूर्वसूचनालाई चुस्तदुरुस्त गर्ने गरी अगाडि बढेको जानकारी दिए । “हामी विपद्को उच्च जोखिम भएको भूगोलमा छौँ । बाढी पहिरो, भूकम्प, चट्याङ र लूदेखि हिउँ लाग्ने सम्मको जोखिममा छौँ,” मन्त्री लेखकले भने, “हामीले अब निजी क्षेत्रमा काम गरिरहेका संस्था, व्यक्तिहरू पनि विपद् प्रतिकार्यमा जोडिनुपर्छ भनेर समझदारी गरेका छौँ ।”

मन्त्री लेखकले विपद् प्रतिकार्यमा सबैले साझा रूपले हातेमालो गरेर विपद्को व्यवस्थापनका लागि सरकार र निजी क्षेत्र समेत मिलेर अगाडि बढ्ने काम भइरहेको उल्लेख गरे । नागरिकको जिउधनको रक्षा गर्ने विषयसित जोडेर राष्ट्रको महत्त्वपूर्ण दायित्व पालना गर्न अघि बढेकोप्रति ड्रोन संघलाई मन्त्री लेखकले धन्यवाद समेत ज्ञापन गरे ।

समझदारी पत्रमा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र नेपाल मानवरहित विमान (ड्रोन)संघ बीच सहकार्य गर्ने गरी सम्झौता भएको छ ।जसमा खोज तथा उद्धार, राहत वितरण तथा अन्य सामाग्री ढुवानी, विपद् प्रभावित क्षेत्रको निरिक्षण, भौगोलिक नक्सांकन तथा इिमेजिङ, क्षति मूल्यांकन र सूचना संकलन तथा विश्लेषण कार्य गरिनेछ ।

त्यस्तै, विपद्को समयमा ड्रोनको प्रयोग गर्न प्राधिकरणले आवश्यक देखी माग गरेमा ड्रोन संघले निःशुल्क रूपमा ड्रोन र तत् सम्बन्धी उपकरण (पाइलटसहित) उपलब्ध गराउने समझदारी पत्रमा उल्लेख छ । 

प्रकाशित मिति: मंगलबार, साउन ६, २०८२  २१:०२
प्रतिक्रिया दिनुहोस्