
काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले विभिन्न विषयमा प्रधानमन्त्री केपी शर्मा ओली विशेष संवेदनशील हुन आवश्यक रहेको बताएका छन् । बीपी स्मृति दिवसका अवसरमा मंगलबार (साउन ६) काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले गठबन्धन सरकार सन्तुलित किसिमबाट अघि बढ्नुपर्ने बताएका हुन् ।
कुनै पनि क्षेत्रमा प्रोफेसनल मान्छे आऊन् भन्ने आफूहरूको चाहना रहेको उनले उल्लेख गरे । “कांग्रेसको दृष्टिकोण छ, हाम्रा भनाइ छन्, नियुक्तिका कुराहरू छन्,” उनले भने, “हामी प्रोफेसनल मान्छे आऊन् भन्छौँ । पार्टी र व्यक्तिप्रति लोयल मान्छे हामीले खोजिरहेका छैनौँ । त्यसप्रति पनि प्रधानमन्त्रीले विशेष संवेदनशीलता आवश्यक छ । यसलाई गम्भीरताका साथ लिन आवश्यक छ ।”
उनले ‘कुलिङ पिरियड’बारे संसदीय समितिबाट सर्वसम्मत भएको विषयमा कांग्रेसले ‘कम्परमाइज’ गर्न नसक्ने स्पष्ट पारे ।
राज्यव्यवस्था समितिबाट सर्वसम्मत रूपमा प्रतिनिधिसभामा पठाइएको संघीय निजामती विधेयकमा कुलिङ पिरियडमा दुईवर्षे प्रावधान राखिएको थियो । तर, प्रतिनिधिसभाबाट दुईवर्षे समयावधि हटाएर पारित गरियो ।
समितिले पठाएको र संसद्बाट पारित व्यवस्थामा फरक परेपछि हाल संसदीय छानबिन समिति बनाएर अध्ययन भइरहेको छ । राष्ट्रियसभामा रहेको विधेयकमा नेकपा (एमाले)का सांसदहरूले कुलिङ पिरियड हटाउनुपर्ने भन्दै संशोधन प्रस्ताव राखेका छन् । तर, आफूहरू यसमा अडिग रहेको कांग्रेस नेताहरूले बताएका छन् ।
यसमा कांग्रेसले कम्परमाइज नगर्ने र कुलिङ पिरियड लागु हुनैपर्नेमा प्रवक्ता महतले जोड दिए । भूमि विधेयकलगायत महत्त्वपूर्ण विषयमा एकलौटी निर्णय लाद्ने कार्य स्वीकार्य हुन नसक्ने उनले बताए ।
कार्यक्रममा डा. प्रकाशशरण महतको भनाइ पढ्नोस्–
कुलिङ पिरियडको बारेमा कुरा छ, यो समितिबाट सर्वसम्मत रूपमा अघि बढेको हो । यसमा नेपाली कांग्रेसले कम्परमाइज गर्न सक्दैन । कुलिङ पिरियड लागु हुनैपर्छ । अरू जुन महत्त्वपूर्ण भूमि विधेयकलगायत महत्त्वपूर्ण विषय छन्, त्यसमा समग्र छलफलबाट मात्रै एउटा निष्कर्षमा पुग्न सकिन्छ । एकलौटी त्यसमा लाद्ने कुरा स्वीकार हुन सक्दैन । त्यसो हुनाले यो गठबन्धन सरकार ०८४ सम्म निरन्तर जाने एउटा निर्णयसहित अघि बढेको छ । त्यो हामी चाहन्छौँ । तर, त्यसका लागि त्यसको प्रभावकारिता बढ्नुपर्छ । सँगै यो गठबन्धन भनिसकेपछि सन्तुलित किसिमबाट सबै गठबन्धनका सहयात्री दल, खासगरी नेपाली कांग्रेसको दृष्टिकोण छ, हाम्रा भनाइ छन्, नियुक्तिका कुराहरू छन् । हामी प्रोफेसनल मान्छे आऊन् भन्छौँ । पार्टी र व्यक्तिप्रति लोयल मान्छे हामीले खोजिरहेका छैनौँ । त्यसप्रति पनि प्रधानमन्त्रीले विशेष संवेदनशीलता आवश्यक छ । यसलाई गम्भीरताका साथ लिन आवश्यक छ ।