काठमाडौं । बंगलादेशका अन्तरिम सरकार प्रमुख मोहम्मद युनुसले भारतसँगको द्विपक्षीय सम्बन्ध सुधार्ने हेतुले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको दिल्लीस्थित ७ लोक कल्याण मार्ग निवासमा एक हजार किलो आँपका बाकसहरू पठाएका छन् ।
भारतीय मिडियाहरूले यो आँपको उपहार दुई देशबीचको तिक्त सम्बन्धमा केही मिठास थप्ने प्रयासको रूपमा लिएका छन् ।
यसअघि बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले हरेक वर्ष मोदीलाई आँप पठाउँथिन् । त्यसबेला बंगलादेशको रंगपुरको हरिभंगा वा राजशाहीको आम्रपाली आँपका टोकरीहरू दिल्लीमा मात्र नभई पश्चिम बंगाल, त्रिपुरा जस्ता भारतीय राज्यका मुख्यमन्त्रीहरूलाई पनि पुर्याउन थालिएका थिए ।
तर ‘आँप कूटनीति’को लामो इतिहास छ । भू–राजनीतिक विश्लेषक प्रियजीत देवसरकारका अनुसार, डा. युनुसले भारतसँग आँप कूटनीतिमा अघि बढ्नुको कारण बंगलादेशमाथि अमेरिकी ट्यारिफ दबाब, मध्यपूर्वको संकट र छिमेकी म्यानमारको स्थिति जस्ता जटिल दबाबहरूका कारण प्रमुख हुन् ।
उनले अगाडि भने, “उनीहरू अब दिल्लीसँग सम्बन्ध पुनर्स्थापना गर्ने प्रयासमा छन् । यसले तनावपूर्ण द्विपक्षीय सम्बन्धमा के भिन्नता ल्याउँछ, त्यो हेर्न बाँकी छ ।”
अन्तर्राष्ट्रिय रूपमा सबैभन्दा धेरै आँप निर्यात गर्ने देशहरू क्रमशः भारत, मेक्सिको र पाकिस्तान हुन् । बंगलादेश पनि शीर्ष दशमा पर्छ, र नयाँ बजार खोज्ने प्रयत्नमा यी देशहरूबीच कडा प्रतिस्पर्धा छ ।
सन् १९४७ को विभाजनपछि भारत र पाकिस्तान दुवै देशका राष्ट्रिय फल आँप हुन् । विश्वव्यापी पहुँच र कूटनीतिक प्रयोजनका लागि दुवै मुल्कले आँपलाई प्रमुख माध्यमको रूपमा प्रयोग गरेका छन् ।
भारतका पहिलो प्रधानमन्त्री जवाहरलाल नेहरू १९५० को दशकमा विदेश भ्रमणमा जाँदा उपहार स्वरूप आँपका बाकस लिएर जान्थे । विदेशी राष्ट्रपति या प्रधानमन्त्री भारत आउँथे भने नेहरूको तर्फबाट पक्कै आँप सर्भ गरिन्थ्यो ।
सन् १९५५ मा नेहरू चीन भ्रमणमा हुँदा चिनियाँ प्रधानमन्त्री चाऊ एनलाईलाई दशहरी र लंगडा आँपका आठ बिरुवा उपहार दिएका थिए, जुन गुआंगझोउ पिपुल्स पार्कमा रोपिएका थिए ।
सोही वर्ष सोभियत नेता निकिता ख्रुश्चेव भारत भ्रमणमा आउँदा, जवाहरलाल नेहरूको तर्फबाट उत्तर प्रदेशको प्रसिद्ध मलिहाबादी दशहरी आँपका धेरै टोकरीहरू उनको साथमा मस्को पठाइएका थिए ।
पछि १९८६ मा राजीव गान्धीले फिलिपिन्स भ्रमणमा त्यही देशका राष्ट्रपतिलाई पनि आँपको बाकस उपहार दिए । रोचक त के छ भने फिलिपिन्सको पनि राष्ट्रिय फल आँप नै हो ।
पाकिस्तान पनि यस कुराबाट पछि परेको छैन । चीनलाई दिइएका पाकिस्तानी आँपहरू त्यो देशमा सांस्कृतिक क्रान्तिको एक महत्त्वपूर्ण प्रतीक बनेका थिए ।
सन् १९६८ को अगस्तमा पाकिस्तानी विदेशमन्त्री मियाँ अरशद हुसैनले बेइजिङ भ्रमणका क्रममा चिनियाँ नेता माओत्सेतुंगलाई आँपको एक बाकस दिए । त्यो समय चीनमा आँप नयाँ फल थियो, र माओत्सेतुंगले त्यसको स्वाद लिन विशेष उत्साह देखाएनन् । उनले ती आँपहरू देशभरका विभिन्न कारखाना र विश्वविद्यालयहरूमा वितरण गराए ।