
काठमाडौं । प्रत्येक दुई वर्षमा दिइँदै आएको महत्त्वपूर्ण व्यावसायिक व्यक्ति (सीआईपी) सम्मान यो वर्ष पनि वितरण गरिएको छ । सरकारले बढी वस्तु निर्यात, विप्रेषण भित्र्याउने, पर्यटक भित्र्याउने, व्यवसायीका प्रतिनिधिमूलक संस्था, तेस्रो मुलुकतर्फ वस्तु निर्यात गर्ने कम्पनी, स्टार्टअपतर्फ दुई करोड वा सोभन्दा बढी निर्यात गर्नेहरूलाई सम्मान गरेको हो ।
बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले उक्त सम्मान वितरण गरेका हुन् ।
सरकारले लगानी आकर्षित गर्न, निर्यातमा बढवा दिन, व्यापार घाटा न्यून गर्न तथा विदेशी मुद्रा बढाउनको लागि प्रोत्साहन गर्न यो सम्मानको व्यवस्था गरेको छ ।
कसले के सम्मान पाए ?
व्यवसायीका प्रतिनिधिमूलक संस्थातर्फ नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाल, नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश अग्रवाल, नेपाल उद्योग परिसंघका अध्यक्ष वीरेन्द्रराज पाण्डेले यो सम्मान पाएका छन् ।
तेस्रो मुलुकतर्फ सबैभन्दा बढी वस्तु निर्यात गर्ने व्यवसायी तथा कम्पनीको तर्फबाट पाँच व्यवसायीले सम्मान पाएका छन् । यसअन्तर्गत ऊनी गलैँचातर्फ श्री थर्ड आई इन्टरनेसनल, तयारी पोसाकतर्फ श्री नेपाल फेसन प्रा.लि., ऊनी फेल्टका सामानहरूतर्फ नेसनल एक्सपोर्टस् प्रा.लि., छुर्पीतर्फ मनराम हिमालयन ह्यान्डीक्राफ्ट प्रा.लि. र पश्मिना वस्तुतर्फ श्री ट्राइकोट इन्डष्ट्रिज प्रा.लि. छन् ।
भारततर्फको रकमको आधारमा सबैभन्दा बढी निर्यात गर्ने व्यवसायीको रूपमा डाबर नेपाल, आरती स्ट्रीप्स र रिलायन्स स्पिनिङ मिल्सले सम्मान पाएका छन् ।
चीनतर्फको रकमको आधारमा सबैभन्दा बढी निर्यात गर्नेमा छोमेन ट्रेडर्स, फिन्जो सोनाम इन्टरप्राइजेज र अष्ठमंगल कम्पनी छन् ।
नेपालको मौलिक सीप, कला र संस्कृति झल्किने हस्तकलाका वस्तुहरूको निर्यातबाट सबैभन्दा बढी रकम भित्र्याउने निर्यातकर्ताको रूपमा गिफ्टल्यान्ड इन्टरप्राइजेज प्रा.लि.ले सम्मान पाएको छ ।
वाणिज्य नीति २०७२ र नेपाल व्यापार एकीकृत रणनीति २०७३ ले प्राथमिकतामा राखेका निर्यात सम्भाव्य वस्तुमध्ये कृषिजन्य वस्तु र जडीबुटी क्षेत्रका वस्तुहरूको सबैभन्दा बढी रकमको निर्यात गर्ने निर्यातकर्ताहरूमध्ये नेपाल एभरेष्ट कार्डामम प्रडक्सन र एबी हर्बल ट्रेडर्स एन्ड सप्लायर्सले सम्मान पाएका छन् ।
निर्यात व्यापारमा कुल रकमको आधारमा सबैभन्दा बढी रकमको निर्यात गर्ने महिला निर्यातकर्ताको तर्फबाट जनकपुर रिफाइनरिज कम्पनीले यो सम्मान पाएको छ ।
यसका साथै बढी विप्रेषण भित्र्याउनेतर्फ आईएमई लिमिटेडलाई यो सम्मान गरिएको छ । यो कम्पनीले बैंकिङ प्रणालीमार्फत विप्रेषणको काराबोर गरी सबैभन्दा बढी वैदेशिक मुद्रा भित्र्याउने विप्रेषण कम्पनीको रूपमा सम्मान पाएको हो ।
पर्यटन क्षेत्रमा सबैभन्दा बढी विदेशी मुद्रा आर्जन गर्ने होटेल उद्योगी/व्यवसायीको तर्फबाट एभरेष्ट हस्पिटालिटी होटेल लिमिटेडले सम्मान पाएको छ ।
तेस्रो मुलुकतर्फ आर्थिक वर्ष २०७९/८० र २०८०/८१ मा एक अर्ब वा सोभन्दा बढी निकासी गर्ने उद्योग, संस्था, फर्म वा कम्पनीहरूको तर्फबाट द सांग्रिला कार्पेट एन्ड ह्यान्डीक्राफ्ट इन्डस्ट्रिज प्रा.लि., एभरेष्ट फेसन ललितपुर, त्रिवेणी स्पिनिङ मिल्सलाई सम्मान दिइएको छ ।
तेस्रो मुलुकतर्फ आर्थिक वर्ष २०७९/८० र २०८०/८१ मा कुल पाँच अर्ब वा सोभन्दा बढी व्यवसायीका प्रतिनिधिमूलक वस्तुगत संघतर्फ निर्यात गर्ने वस्तुगत संघका अध्यक्षहरूलाई मानार्थ सम्मानको रूपमा नेपाल छुर्पी व्यवसायी संघ, नेपाल गलैँचा उत्पादक तथा निकासीकर्ता संघ, नेपाल तयारी पोसाक उद्योग संघ र नेपाल ऊनी फेल्ट उत्पादक तथा निर्यातक संघका अध्यक्षलाई यो सम्मानको सूचीमा राखिएको छ ।
तेस्रो मुलुकतर्फ आर्थिक वर्ष २०७९/८० र २०८०/८१ मा कुल १५ अर्ब वा सोभन्दा बढी निर्यात गर्ने नेपाल हस्तकला महासंघ र निर्यात व्यवसायी महासंघका अध्यक्षहरूलाई पनि यो सम्मान दिइएको छ ।
आर्थिक वर्ष २०७९/८० र २०८०/८१ मा दुई करोड वा सोभन्दा बढी निर्यात गर्ने स्टार्टअपको तर्फबाट माइन्डफुल क्राफ्ट प्रा.लि. छ ।