site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
सुन्दरहरैँचा नगरपालिकाले १२ उत्कृष्ट दम्पतीलाई दियो 'ढुकुर जोडी' सम्मान

विराटनगर । मोरङको सुन्दरहरैँचा नगरपालिकाले १२ जना उत्कृष्ट दम्पतीलाई 'ढुकुर जोडी' सम्मान गरेको छ । नगरपालिकाका सबै वडाबाट एक–एक उत्कृष्ट जोडी छनोट गरेर आइतबार सम्मान गरिएको हो ।

नगरपालिकाले पारिवारिक समझदारी, आपसी मिलाप र समाजमा सकारात्मक योगदान पुर्‍याउने उद्देश्यले सम्मान गरिएको जनाएको छ । मेयर केदारप्रसाद गुरागाईंले आमाबुवा तथा सासुससुराको श्रद्धायुक्त सेवा, समर्पण र स्नेहपूर्ण हेरचाह गरेर पारिवारिक मूल्य तथा परम्पराको संरक्षणमा अनुकरणीय उदाहरण बनेकाहरूलाई सम्मान गरिएको बताए ।

संयुक्त परिवारमा बस्नेहरूलाई कार्यक्रममा समेटिएको थियो । प्रमुख प्रशासकीय अधिकृत विनोद न्यौपानेले नगरपालिकाले तयर गरेका विभिन्न सूचक पूरा गर्नेलाई समावेश गरिएको जानकारी दिए ।

प्रत्येक वडाबाट एक जोडीलाई छनोट गर्दा दीर्घकालीन वैवाहिक जीवन, सामाजिक योगदान र पारिवारिक मूल्यलाई आधार मानिएको उनले बताए । छनोटमा पर्न नगरपालिकाले सार्वजनिक सूचनामार्फत आह्वान गरेको थियो । जसमा ४८ वटा निवेदन परेका थिए ।

उपमेयर अकली चौधरीले जीवनयात्रा, पारिवारिक, सामाजिक र नैतिक उत्तरदायित्वसँग जोड्दै अगाडि बढ्न सफल हुनेहरूलाई प्रेरणा दिने सोचले कार्यक्रम अघि बढाइएको बताइन् ।

Dampati-1752388293.jpg
क–कसले पाए उत्कृष्ट दम्पतीको सम्मान ?
सुन्दरहरैँचा–१ : केशवराज काफ्ले र कञ्चन दाहाल
सुन्दरहरैँचा–२ : सचिदानन्द साह (हलुवाई) र संगीताकुमारी गुप्ता हलुवाई
सुन्दरहरैँचा–३ : ध्रुव नीरौला र अनु दाहाल
सुन्दरहरैँचा–४ : डिल्लीप्रसाद सिग्देल र अप्सरा सिग्देल
सुन्दरहरैँचा–५ : वीरेन्द्र कुमार कट्टेल र सीतादेवी कट्टेल
सुन्दरहरैँचा–६ : बालकृष्ण घिमिरे र सकुन्तला गौतम घिमिरे
सुन्दरहरैँचा–७ : बलिराम चौधरी र फूलोदेवी चौधरी
सुन्दरहरैँचा–८ : खगेन्द्र न्यौपाने र सम्झना न्यौपाने
सुन्दरहरैँचा–९ : योगराज कार्की र हिमकुमारी कार्की
सुन्दरहरैँचा–१० : बौद्धबहादुर दाहाल र कल्याणी खड्का दाहाल
सुन्दरहरैँचा–११ : वेदकुमार खवास र केसओती खवास
सुन्दरहरैँचा–१२ : अमरबहादुर मगर र तारा कुमारी मगर

उनीहरूलाई नगद १० हजार र प्रमाणपत्र प्रदान गरिएको थियो ।

सम्मान पाएका योगराज कार्कीले सम्मानित हुन पाउँदा खुसी लागेको बताए । "हामी सम्मानित हुँदा अरूलाई पनि राम्रोसँग परिवार अघि बढाउन प्रेरणा मिल्छ । यो आदर्श समाज बनाउने अभियान पनि हो," उनले भने ।

के थियो मापदण्ड ?
– कम्तीमा विवाह भएको १० वर्ष पूरा गरेको हुनुपर्ने,
– श्रीमान्–श्रीमती दुवैको नेपाली नागरिकता भएको हुनुपर्ने,
– विवाह दर्ता गरेको हुनुपर्ने,
– स्थायी रूपमा सुन्दरहरैँचा नगरपालिका बसोबास गरेको हुनुपर्ने,
– छोराछोरीको जायजन्म भएको भए छोराछोरीको जन्मदर्ता गरेको हुनुपर्ने,
– नागरिकता बनाउने उमेर पूरा गरेका छोराछोरी भए नागरिकता बनाएको हुनुपर्ने,
– विद्यालय जाने उमेर पूरा भएका छोराछोरी भए विद्यालयमा भर्ना गरेको हुनुपर्ने,
– निरन्तर रूपमा संयुक्त परिवारमा बुवा वा आमा र सासू वा ससुरासँग बसेको हुनुपर्ने,
– अलग भिन्न नभएको, बुवाआमा वा सासूससुरालाई राम्रोसँग हेरचाह, पालनपोषण, मायाममता गरेको हुनुपर्ने,
– हालका मितिसम्म अदालत, प्रहरी चौकी, न्यायिक समितिलगायत निकायहरूमा वा समाजमा श्रीमान्–श्रीमतीको झगडा परी निवेदन दर्ता नगराएको हुनुपर्ने,
– निरन्तर नेपालमै बसोबास गरेको हुनुपर्ने,
– विवाह भएको १० वर्षमा वैदेशिक रोजगारमा २ वर्षभन्दा बढी नबसेको हुनुपर्ने । 

मापदण्ड पूरा गरेकाहरूदाई मात्र छनोट गरिएको नगरपालिकाले जनाएको छ ।

प्रकाशित मिति: आइतबार, असार २९, २०८२  १२:११
प्रतिक्रिया दिनुहोस्