काठमाडौं । चलचित्र ‘माग्ने राजा’बाट आफूले ६१ लाख रुपैयाँ नलिएको कलाकार केदार घिमिरे (माग्ने बुढा)ले बताएपछि यतिबेला उक्त सिनेमाको निर्माणपक्षको आलोचना भइरहेको छ ।
दर्शक तथा पाठकमा भ्रम सिर्जना गर्ने काम आफ्नै चलचित्रको निर्माणपक्षले गरेको भन्दै केदारले त्यसको खण्डन गरेपछि ‘माग्ने राजा’का निर्देशक, निर्माता र लेखकको आलोचना भइरहेको छ ।
केदारलाई दर्शकमा गलत सन्देश गयो भन्ने लागिरहेको थियो । त्यही बेला टेलिभिजन शो कमेडी नाइट विथ च्याम्पियन्समा चलचित्रका निर्देशक ऋषि लामिछाने, निर्माता मुनाल घिमिरे र केदार घिमिरे जाने भए ।
केदारले ऋषि र मुनाललाई भने– तपाईंहरूले दर्शकमा ६१ लाख भनेर भ्रम छर्ने काम गरेको मलाई चित्त बुझेको छैन । सत्य के हो म आज बोल्छु, कसरी यसको जवाफ दिने हो तयारी गर्नुहोस् ।
“मैले त्यहाँ यो कुरा बोलेको छु । त्यसको जवाफ उहाँहरूले पनि दिनुभएको छ । यद्यपि, त्यो कार्यक्रम प्रशारण हुन ढिलो भयो,” केदार बाह्रखरीसँग भन्छन्, “अझै प्रशारण भएको छैन । यसरी यो कुरा बाहिर ल्याएको हुँ ।”
निर्माता/निर्देशकलाई नै दोषी देखाएपछि टिममा फाटो आएन, पब्लिसिटीमा समस्या आउँदैन भन्ने जिज्ञासामा आफूहरूसँगै रहेको रहेको उनी बताउँछन् । आफूले आफ्नो कुरा राखिसकेको र अब कसरी चलचित्रको पब्लिसिटीलाई राम्रोसँग गर्न सकिन्छ भनेर आफूहरू सबै सल्लाह गरेरै अगाडि बढिरहेको उनको भनाइ छ ।
“पब्लिसिटीमै असर गर्छ भन्ने लाग्दैन, त्यस्तो नहोला । हामी सबै सँगै छौँ । सिनेमालाई कसरी राम्रो बनाउने र सकेसम्म धेरै दर्शकमा पुर्याउने भन्नेमा छौँ,” केदार भन्छन् ।
आफ्नो उद्देश्य बजारमा भ्रम फैल्याउन हुँदैन भन्ने रहेको र त्यो गरिसकेकाले अब कुनै समस्या नरहेको उनी बताउँछन् । “समस्या सिर्जना गरेर पनि त भएन । के थाहा सिनेमा राम्रोसँग चलेर धेरै कमायो भने थपेर ६१ लाख नै पुर्याइदिनुहुन्छ कि, त्यो पनि त सम्भावना छ,” केदार व्यंग्य गर्छन् ।
आफू भुइँबाट आएको भुइँमान्छे भएकाले झुट बोल्न नसक्ने उनले प्रष्ट पारे ।
भदौ ६ गते रिलिज हुने चलचित्र ‘माग्ने राजा’का निर्माता मुनाल घिमिरे हुन् । ऋषि लामिछानेले निर्देशन गरेको चलचित्रको कथा सामिप्यराज तिमलसेनाले लेखेका छन् ।
चलचित्रमा केदार घिमिरेसँगै वर्षा शिवाकोटी, पुष्कर गुरुङ, शिशिर वाङ्देल, शारदा गिरी र टिकटकर मिस पबीको अभिनय छ । आर्यन सिग्देलको पनि विशेष भूमिकामा छन् ।