site stats
बाह्रखरी :: Baahrakhari
देश
गण्डकीका लेखा अधिकृतले २६ वर्षमा कसरी आर्जन गरे ६ करोड गैरकानुनी सम्पत्ति ?

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गण्डकी प्रदेशको भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयका लेखा अधिकृत झलक शर्मा पौडेलविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरको छ ।

उनले २६ वर्ष सरकारी सेवामा रहँदा ६ करोड २६ लाख ९३ हजार १२९ रुपैयाँ ८२ पैसा गैरकानुनी सम्पत्ति आर्जन गरेको ठहर गर्दै अख्तियारले बुधबार विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो । दायर गरिएको मुद्दामा गैरकानुनी रूपमा आर्जन गरेको जति नै रकम बिगो मागदाबी गरिएको छ । 

लेखा अधिकृत पौडेलले गैरकानुनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको भन्ने उजुरी परेपछि अख्तियारले अनुसन्धान अघि बढाएको थियो ।

अख्तियारले उनी सरकारी सेवामा प्रवेश गरेको २०५४ माघ ८ गतेदेखि २०८० मंसिर १० गतेसम्मको अवधिमा आर्जन गरेको सम्पत्तिको अनुसन्धान गरेको थियो ।

अनुसन्धान हुँदा लेखा अधिकृत पौडेलले उक्त अवधिमा वैधानिक रूपमा तीन करोड ३९ लाख ८७ हजार ४९० रुपैयाँ ६५ पैसा आर्जन गरेको पाइएको अख्तियारद्वारा बुधबार जारी विज्ञप्तिमा उल्लेख छ ।

सोही जाँच अवधिमा उनले ९ करोड ६६ लाख ८० हजार ६२० रुपैयाँ ४७ पैसा खर्च तथा लगानी गरेको पाइएको अख्तियारले जनाएको छ । 

अख्तियारको अनुसन्धानले लेखा अधिकृत पौडेलको वैधानिक आय भन्दा खर्च तथा लगानी ६ करोड २६ लाख ९३ हजार १२९ रुपैयाँ ८२ पैसा बढी देखाएको छ ।

अख्तियारले विज्ञप्तिमा उनले सार्वजनिक सेवाको पदमा बहाल रहँदा आफ्नो पदीय हैसियतको दुरुपयोग गरी गैरकानुनी सम्पत्ति आर्जन गरी अमिल्दो र अस्वाभाविक उच्च जीवनस्तर यापन गरेको आरोप समेत लगाएको छ । 

अख्तियारको अनुसन्धानले लेखा अधिकृत पौडेलले गैरकानुनी तरिकाले आर्जन गरेको सम्पत्ति आफ्नो श्रीमती हुमाकुमारी उपाध्यायको नाममा समेत राखेको देखाएको छ । यसैकारण सम्पत्ति जफत गर्ने प्रयोजनार्थ मात्र हुमाकुमारी उपाध्यायविरुद्ध पनि मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ । 

प्रकाशित मिति: बुधबार, असार २५, २०८२  १८:२६
प्रतिक्रिया दिनुहोस्