site stats
बाह्रखरी :: Baahrakhari
देश
‘श्रीमतीलाई पिठ्युँमा बोकेर रुख चढेँ, तीन घण्टा रोएरै बितायौँ’

काठमाडौं । २०८२ असार २४ गतेको बिहान ५ बजे । नुवाकोटका ६६ वर्षीया पाल्देन तामाङ र उनकी श्रीमती ६६ वर्षीया मंगली बिहानै त्रिशूली नदी किनारमा पुगे । 

कारण थियो– दाउरा काट्न/संकलन गर्न । बिहानै श्रीमती डोको नाम्लो लिएर निस्किँदा पाल्देन पनि साथै लागेका थिए । 

झिसमिसेमै दाउरा संकलन गर्न हिँडेका तामाङ दम्पती विदुर नगरपालिका–१ स्थित त्रिशूली नदीको बीच भागमा पुगे, जहाँ उनीहरू हरेक दिनजसो दाउरा काट्न जाने गरेका थिए । 

दाउरा काट्दै संकलन गर्न थाले । अचानक बाढी आउन थाल्यो । रसुवाबाट बगेर आएको बाढी नुवाकोटको त्रिशूलीमा मिसिएपछि नदीको बेग उच्च बन्दै गयो । क्षणभरमै नदीले रौद्र रुप लिन थाल्यो । भाग्ने ठाउँ थिएन । नजिकै रहेको रुखमा चढे र डोकोलाई हाँगामा झुन्ड्याए ।

हारगुहार भयो, स्थानीयले उनीहरूलाई देखे । त्यसपछि होहल्ला भयो । जिल्ला प्रशासन कार्यालयको समन्वयमा नेपाली सेनाको हेलिकोप्टरबाट करिब तीन घण्टापछि उद्धार गरियो । 

उद्धारपछि तामाङ दम्पती त्रिशूली अस्पताल, नुवाकोटमा उपचाररत छन् । पाल्देनको स्वास्थ्य अवस्था सामान्य छ । यता, मंगली भने बेलाबेला तर्सिने र झस्किने गर्छिन् । 

रक्तचाप बढेका कारण मंगली अस्पतालमा भर्ना भइ उपचार गरिरहेकी छन् ।

घटनाबारे बताउँदै पाल्देन भन्छन्, “एक्कासि बाढी आउँदा सोच्नै सकिएन । धन्न रुखले ज्यान जोगायो ।”

दायाँबायाँ नदीको बहाव बढ्न थालेपछि त्यहाँ (नदीको बीच भाग)बाट कहीँ जाने ठाउँ थिएन । नजिकै रहेका रुखको सहारा लिनुबाहेक उनीहरूको कुनै विकल्प थिएन । 

“डोकोमा दाउरा हाल्दै थिएँ, माथिबाट सिट्ठी बज्यो, फर्केर हेर्दा त खोला बढिसकेछ । पारि तर्नसक्ने अवस्था रहेन,” उनले डराउँदै भने, “सिसौको रुखको हाँगामा डोरी टाँगेँ, श्रीमतीलाई पिठ्युँमा बोकेर रुख चढेँ ।”

रुखमाथि चढेपछि तामाङ दम्पतीले छोराछोरी सम्झिए, रोए, कराए । बाढीले रुखहरू बगाए आफूहरूको ज्यान जान्छ, नभए बच्छौँ भन्दै बसेको उनले सुनाए । 

“मनमा अनेक सम्झना आयो, रोएँ, कराएँ, डरैडरमा रुखलाई समाएर बस्यौँ,” रूखमा चढेर ज्यान जोगाएका पाल्देनले भने, “श्रीमती (मंगली) कतिपटक रुखमै बेहोस् भइन्, ज्वरो आयो ।” 

श्रीमती काम्दै गर्दा पाल्देनले सान्त्वना दिँदै नआत्तिन आग्रह गर्थे । पछि हेलिकोप्टर आयो । उनीहरूलाई तीन घण्टापछि उद्धार गरियो ।

तीन घण्टासम्म रुखमा झुन्डिँदा ज्यान नै माया मारिसकेका थिए, तामाङ दम्पतीले ।

“हातखुट्टा गलिसकेका थिए, श्रीमती कहिले बेहोस् अवस्थामा हुन्थिन् भने कहिले अत्तालिन्थिन् । कल्पनै थिएन बाँचिन्छ भन्ने,” उनले घटना सम्झँदै भने ।
०००

घटनाबारे विदुर नगरपालिका वडा नं १ वडाध्यक्ष लेलिन रञ्जित समयमै हेलिकोप्टरमार्फत उद्धार गर्न सकिँदा तामाङ दम्पतीको ज्यान जोगिएको बताउँछन् । 

“उहाँहरूले बगरमा दाउरा खोज्नुभयो, बगरको बीचमा अग्लो भाग थियो र त्यहाँ रुखहरू धेरै थियो । नदी ठूलो आएपछि दायाँबायाँबाट पानी बग्न थाल्यो । उहाँहरू बीचमा पर्नुभयो,” घटना सुनाउँदै वडाध्यक्ष रञ्जितले भने, “उहाँहरूले रुखमा चढेर ज्यान जोगाउनुभयो नत्र नदीले बगाउने थियो होला । अनि हेलिकोप्टर पनि समयमै आइपुग्दा ज्यान जोगियो । धन्न चढेको रुख चाहिँ ढलेन ।” 

नदीमा बाढी आउँदा काठ दाउरा टिप्न जाने र त्यसैले गुजारा चलाउने गरेकाहरू पनि रहेको उनले बताए । 

“नदीमा बाढी आउँदा काठ, दाउराहरू बगाएर ल्याउँछ । त्यही काठदाउरा टिप्न जाने गर्दछन् । दिनचर्या नै दाउरा संकलन गर्ने अनि छाक टार्नेहरू छन्,” उनले भने । 

उनका अनुसार, मंगलबार (असार २४ गते) बिहान सवा ५ बजेतिरबाट नदीको बहाव बढ्न थालेको थियो । 

रसुवाको गोसाइकुण्ड गाउँपालिका–२, रसुवागढीस्थित लेन्दे नदीमा बाढी आउँदा ५५ जनाको उद्धार गरिएको छ । बाढीमा तीन प्रहरी, नौ सर्वसाधारण र ६ चिनियाँ नागरिक बेपत्ता छन् ।

रसुवागढीस्थित नेपाल–चीन अन्तर्राष्ट्रिय सीमा नाकामा चीनतर्फ अविरल वर्षाको कारण लेन्दे नदीमा बाढी आएको हो ।

रसुवाका सहायक प्रमुख जिल्ला अधिकारी द्रुवप्रसाद अधिकारीका अनुसार, बाढीका कारण २३ वटा मालवाहक कन्टेनर, छ मालवाहक ट्रक र ३५ वटा नयाँ विद्युतीय सवारीसाधन गरी ६४ वटा बगेका छन् । 

घटना हुनुपूर्व प्रहरीको माइकिङ

जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रहरी नायब उपरीक्षक विक्रम लामाका अनुसार, घटना हुनुपूर्व नै सुरक्षा सतर्कता अपनाउन र खोला किनारमा नजान माइकिङसमेत गरिएको थियो । बिहान ४ बजेदेखि नै प्रहरीले बाढी आउनेबारे जानकारी गराएको डीएसपी लामाले बताए ।   
 

प्रकाशित मिति: मंगलबार, असार २४, २०८२  २१:०१
प्रतिक्रिया दिनुहोस्