site stats
बाह्रखरी :: Baahrakhari
देश
नेपाल–चीन प्रमुख व्यापारिक नाका बन्द : व्यवसायीको अर्बौं नोक्सान

काठमाडौं । मंगलबार बिहान करिब ३ बजे लेन्दे नदीमा आएको बाढीले रसुवास्थित रसुवागढी–केरुङ सीमा नाकाको मितेरी पुल बगायो । मितेरी पुल बगाएसँगै नेपाल–चीनबीचको प्रमुख व्यापारिक नाका बन्द भएको छ । 
“बाढीले पुल बगाएसँगै चीनसँगको मुख्य व्यापार टुटेकोे छ । आवत–जावत बन्द हुने भयो,” नेपाल हिमालय सीमापार बाणिज्य संघका अध्यक्ष रामहरि कार्कीले बाह्रखरीसँग भने । 

रसुवाको गोसाइँकुण्ड गाउँपालिका–२ स्थित लेन्दे नदीमा अचानक आएको बाढी भोटेकोसी हुँदै त्रिशुलीसम्म आइपुग्दा ठूलो जनधनको क्षति गरेको छ ।

बाढीमा परी ६ जना चिनियाँ नागरिक, तीन प्रहरी र ११ जना सर्वसाधारणसहित गरी १८ जना सम्पर्कविहीन भएका छन् । बाढीमा फसेका ५५ जनाभन्दा बढीको नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाले उद्धार गरेको छ । 

बाढीले चिलिमे जलविद्युत् आयोजना, रसुवागढी जलविद्युत् आयोजना, त्रिशूली थ्री ए जलविद्युत् आयोजना, त्रिशूली थ्री बी सबस्टेसन, त्रिशूली जलविद्युत् केन्द्र र देवीघाट जलविद्युत् केन्द्रमा क्षति गरेको छ । 

बाढीले जलविद्युत् आयोजनामा क्षति पुर्याउँदा २४० मेगावाट बिजुली बन्द भएको छ । नेपाल विद्युत् प्राधिकरण र यसका सहायक कम्पनीको गरी २३० मेगावाट र निजी क्षेत्रको १० मेगावाट गरी २४० मेगावाट आयोजना बाढीका कारण बन्द भएको हो ।

बाढीले ठूलो क्षति चीनसँगको प्रमुख व्यापारिक नाका रसुवागढी भन्सार नाकामा गरेको छ । रसुवागढी भन्सार कार्यालयमा कार्यरत कर्मचारी मंगलबार अपरान्हसम्म सम्पर्कमा आएका छैनन् ।

“हाम्रो रसुवागढीको भन्सार कार्यालयका कर्मचारीसँग सम्पर्क हुन सकेको छैन । त्यहाँ सबैगरी ४० जनाको हाराहारीमा कर्मचारी हुनुहुन्छ । सबै जना सुरक्षित भएको खबर पाएका छौं, तर उहाँहरूसँग प्रत्यक्ष हाम्रो सम्पर्क हुन सकेको छैन,” मंगलबार अपराह्न भन्सार कार्यालयका निर्देशक किशोर बर्तौलाले बाह्रखरीसँग भने । 

नेपाल हिमालय सीमापार वाणिज्य संघका अध्यक्ष कार्कीका अनुसार, बाढीले नेपाली व्यापारीको अर्बौंको नोक्सान गरेको छ । नेपालतर्फ बाढीले रसुवागढी भन्सार कार्यालय यार्डमा रहेका सयभन्दा बढी विद्युतीय गाडी, ३७ वटा मालबाहक कन्टेनर, जलविद्युतका उपकरण बगाएको उनले जानकारी दिए ।

“बाढीले सामाग्री बगाउँदा नेपाली व्यापारीको अर्बौं रुपैयाँ नोक्सान परेको छ । ठूलो क्षति व्यहोर्नुपरेको छ,” अध्यक्ष कार्कीले भने ।

भन्सार कार्यालय यार्डमा रहेका बाँकी २० वटा जति गाडीहरू पनि लेदो पसेका कारण प्रयोगमा ल्याउन नसकिने अवस्थामा पुगेको उनले बताए । 

भन्सार यार्डमा बाँकी रहेका १० वटा जति कन्टेनरमा पनि पानी पसेको र बगाउने अवस्थामा रहेको उनले जनाए ।

बाढीले चीनतर्फ रहेका १६ वटा जति नेपाली व्यापारीको कन्टेनरमा क्षति गरेको अध्यक्ष कार्कीले जानकारी दिए । 

“चीनतर्फ फलपूmल र रेडिमेट सामग्री बोकेका १६ वटा गाडीको आधा भाग पानीमा डुबेको छ,” अध्यक्ष कार्कीले भने ।

नेपाली व्यापारीले चीनबाट सामान ल्याउँदा चिनियाँ भूमिसम्म मात्र बिमा हुने गरेको छ । नेपाल प्रवेश गरेपछि सामानको बिमा नहुने उनले बताए । नेपालतर्फ बिमा नहुँदा पनि ठूलो क्षति व्यहोर्नुपरेको उनले बताए । 

“बाढीले हामीलाई पाठ पनि सिकाएको छ,” उनले भने ।

नेपाल र चीनबीच व्यापार हुने रसुवागढी–केरुङ र तातोपानी–खासा प्रमुख नाका हुन् । पछिल्ला वर्षहरूमा सबैभन्दा ठूलो व्यापार रसुवागढी–केरुङ नाकाबाट हुने गरेको छ ।  

भन्सार विभागको तथ्याङ्कअनुसार, चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो ११ महिनामा नेपाल र चीनबीच ३ खर्ब १७ अर्ब ५ करोड ७४ लाख २१ हजार रुपैयाँको व्यापार भएको छ । उक्त अवधिमा नेपालले ३ खर्ब १४ अर्ब ५७ करोड ५६ लाख ९७ हजार रुपैयाँको वस्तु चीनबाट आयात र २ अर्ब ४८ करोड १७ लाख २४ हजार रुपैयाँको वस्तु चीनमा निर्यात गरेको छ ।

चालु आर्थिक वर्षको पहिलो ११ महिना अर्थात् २०८१ साउन १ गतेदेखि २०८२ जेठ मसान्तसम्मको अवधिमा नेपालले रसुवागढी नाकाबाट ८० अर्ब ९१ करोड ४८ लाख २३ हजार रुपैयाँको वस्तु आयात गरेको छ भने १ अर्ब ९६ करोड १४ लाख ३ हजार रुपैयाँको वस्तु निर्यात गरेको छ ।

त्यही अवधिमा तातोपानी नाकाबाट ४६ अर्ब ८९ करोड ३५ लाख ८१ हजार रुपैयाँको वस्तु चीनबाट आायत गरेको छ । तातोपानी नाकाबाट यस अवधिमा कुनै पनि वस्तु चीन निर्यात नभएको भन्सार विभागको तथ्याङ्कले देखाउँछ । 

“एकदम चलेको बेला रसुवागढी नाकाबाट दैनिक ३० देखि ४० वटा मालबाहक सवारीसाधन आवत–जावत गर्छन् । अन्य बेलामा दैनिक २० वटा जति गाडी आवत–जावत गरेको पाइन्छ,” भन्सार विभागका निर्देशक बर्तौलाले जानकारी दिए । 

बाढीले मितेरी पुल बगाउँदा र भन्सार कार्यालयमा क्षति पुर्याउँदा यसले दीर्घकालसम्म नेपाली व्यापारीलाई असर गर्ने भनाई नेपाल हिमालय सीमापार वाणिज्य संघका अध्यक्ष कार्कीको छ । 

“छिट्टै बेली–ब्रिज राखियो भयो सिमापारी रहेका र आउँदै गरेका नेपाली सामग्री नेपाल भित्र्याउन सकिन्छ । पुल बनाउन ढिलाइ भए सामग्री उतै अड्किन्छन् । चाडबाडका लागि लक्षित गरी मगाइएका सामग्री रोकिँदा यसले नेपालमा असर गर्ने देखिन्छ,” उनले भने ।

व्यापारीले तीज, दसैँ, तिहारलगायतका चाडपर्वलक्षित गरी सामग्री मगाएर भण्डारण गरी राख्ने गछन् । यस्ता सामग्रीहरू आउने क्रममा थिए । रसुवागढी–केरुङ नाका लामो समय बन्द भए यस्ता आउँदै गरेका सामग्री ल्याउन कठिन हुनेछ ।

“तातोपानी नाकाको पनि भर छैन । त्यता पनि ठूलो पानी परे बाटो बिग्रने सम्भावना छ । तातोपानी नाका केही नभए रसुवागढीतर्फ ल्याउँदै गरेका सामान तातोपानी तिरबाट पनि ल्याउन सकिन्छ । तर तातोपानीको नाका पनि बिग्रियो भने नेपालमा सामान अभाव हुने मात्र होइन मूल्यवृद्धि हुने सम्भावना पनि छ,” अध्यक्ष कार्कीले भने ।

चीनबाट केरुङ हुँदै १२ दिनमा सामाग्री रसुवागढी ल्याउन सकिन्छ । तर यही सामग्री पानी जहाजमा ल्याउनु परेमा नेपाल आइपुग्न ४० दिन लाग्ने उनी बताउँछन् । यसैकारण पानी जहाजमा ल्याउनु परेमा सामानको मूल्यवृद्धि हुने तर्क उनको छ । 

“२०७२ सालको भूकम्पको बेला पनि यति ठूलो क्षति व्यापारीले सहनुपरेको थिएन । बाढीले कन्टेनरसँगै व्यापारीहरूलाई पनि डुबायो । धेरै व्यापारी पलायन हुने अवस्था आयो,” अध्यक्ष कार्कीले भने । 
 

प्रकाशित मिति: मंगलबार, असार २४, २०८२  १९:०७
प्रतिक्रिया दिनुहोस्