
विराटनगर । कोसी प्रदेश सरकारले आइतबार(आज) आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट ल्याउँदै छ । अपराह्न ३ बजेका लागि प्रदेशसभा बैठक बोलाइएको छ ।
सभामा आर्थिक मामिला तथा योजनामन्त्री रामबहादुर मगरले बजेट प्रस्तुत गर्नेछन् । चालु आर्थिक वर्षका लागि कोसी सरकारले रु. ३६ अर्ब २४ करोड ३५ लाखको बजेट ल्याएको थियो ।
प्रदेश सरकारले आगमी आर्थिक वर्षका लागि ल्याउने बजेट ३७ अर्ब हाराहारीको हुने मुख्यमन्त्री हिक्मतकुमार कार्कीले बताएका छन् ।
झापाको गौरदहमा शनिबार आयोजित एक कार्यक्रममा मुख्यमन्त्री कार्कीले प्रदेशको बजेट निरन्तर घट्ने क्रममा रहेकाले आगामी आर्थिक वर्षको बजेट ३७ अर्ब हाराहारीको हुने बताएका थिए ।
“अहिले हामीले तानतुन पारेर ३७ अर्ब जतिको बजेट तयार गरिरहेका छौँ,” उनले भने, “वास्तविक श्रोतको अवस्था हेर्ने हो भने अहिले हामीसँग ३३ अर्ब बराबरको मात्र स्रोत छ ।”
कोसी सरकारले संघीय सरकारबाट प्राप्त गर्ने अनुदान घट्दो क्रममा रहनु र आन्तरिक आयमा समेत संकुचन आउनुले बजेटको आकार बढाउन नसकिएको मुख्यमन्त्री कार्कीको भनाइ छ ।
कोसी प्रदेशसभाका कार्यवाहक प्रदेशसभा सचिव गौतमराज अमात्यका अनुसार सभामा आर्थिक विधेयक र विनियोजन विधेक पेस हुनेछ ।