
काठमाडौं । संघीय संसद् सचिवालयको रिक्त सचिव पदमा सुरजकुमार दुराको बढुवा गरिएको छ । सभामुख देवराज घिमिरेको अध्यक्षतामा शनिबार (जेठ ३१) बसेको सचिवालय सञ्चालन तथा व्यवस्थापन समितिको बैठकबाट दुराको बढुवा गर्ने निर्णय गरिएको हो ।
लोकसेवा आयोगको अध्यक्षतामा रहेको बढुवा समितिले दुई दिनअघि दुरासहित मनोजकुमार गिरी र हृदयराम महर्जनको बढुवा गर्न सिफारिस गरेको थियो । सचिवालय सचिव सुदर्शन खड्काले राजीनामा दिएसँगै संसद् सचिवालयमा एक सचिव पद रिक्त थियो ।
दुरा ०४६ साल फागुन १९ गते निजामती सेवामा प्रवेश गरेका थिए । ०५२ देखि उनले संघीय संसद् सचिवालयमा सेवा गरेका सभामुखको सचिवालयले जनाएको छ ।
राजनीति र समाजशास्त्रमा स्नातकोत्तर गरेका दुराले संसद् सचिवालयमा प्रशासन महाशाखा, संसदीय समितिको सचिवलगायत महत्त्वपूर्ण जिम्मेवारी निर्वाह गरिसकेका छन् । उनी हाल राज्यव्यवस्था तथा सुशासन समितिको सचिव छन् ।
कैलालीको धनगढी उपमहानगरपालिका–१, शान्तिनगरमा ०२७ माघ ७ गते जन्मिएका दुराले शनिबार नै सिंहदरबारस्थित कार्यालयमा पदबहाली गरेका छन् ।