site stats
बाह्रखरी :: Baahrakhari
खेल
इंग्ल्यान्डविरुद्ध पहिलोपटक अफ्रिकी देश सेनेगलको जित

काठमाडौं । सेनेगलका चेक साबालीले सिटी रंगशालामा घरेलु टोली इंग्ल्यान्डविरुद्ध इन्जुरी टाइममा गोल गरेर नयाँ इतिहास कोरे । सेनेगलको राष्ट्रिय टोलीमा यो नयाँ कीर्तिमान बन्यो । 
 
प्रशिक्षक पापे थियावको टोलीले इंग्ल्यान्डविरुद्ध ३–१ को पुनरागमन जित निकालेको थियो । यो कुनै पनि अफ्रिकी मुलुकले इंग्ल्यान्डविरुद्ध निकालेको पहिलो जित हो । यसअघि २२ पटकसम्म अफ्रिकाका कुनै पनि मुलुकले इंग्ल्यान्डविरुद्ध जित निकाल्न सकेका थिएनन् ।

इंग्ल्यान्डका प्रशिक्षक टुचेलको टोलीका लागि ह्यारी केनले सुरुवाती अग्रता दिलाए । तर, यो अग्रता लामो समय जोगाउन नसक्दा पाहुना टोलीले नतिजा आफ्नो पक्षमा ल्यायो । 

साबालीले तेस्रो गोल गर्नुअघि सेनेगलका स्माइला सार र हाबिब डाइराले समान एक गोल गरेका थिए । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

जितको हर्ष व्यक्त गर्दै कप्तान कालिडोउ कौलीबालीले भने, “यो रात रोमाञ्चक रात हो । आज केही विशेष गर्न सक्छौँ भन्ने हामीलाई विश्वास थियो । खेल प्रतिस्पर्धात्मक बनेको थियो । तर, हामीले आफ्नो स्तर देखायौँ ।”

कौलीबालीले उक्त जितलाई सेनेगलले जितेको सन् २०२२को अफ्रिका कपको उपाधिसँग तुलना गरे ।

“हामी निकै कम इतिहास बनाउँछौँ । यसअघि हामीले एफकोनको उपाधि जितेर इतिहास रचेका थियौँ । अहिले यहाँ पनि इतिहास बनायौँ । हामी सेनेगलको निरन्तर कथा लेख्न चाहन्छौँ,” उनले भने ।

सेनेगल सन् २०२४ को जनवरीदेखि अपराजित छ । टोली पछिल्लोपटक सन् २०२३ मा सम्पन्न अफ्रिका कप अफ नेसन्सको अन्तिम–१६मा आइभोरी कोस्टसँग पेनाल्टी सुटआउटमा पराजित भएको थियो ।
 
सोही वर्षको डिसेम्बरमा थाइवले टोलीको जिम्मेवारी सम्हालेका थिए । उनको प्रशिक्षणमा टोलीले दुई जित र दुई बराबरी खेलेको छ ।

इंग्ल्यान्डविरुद्ध सेनेगलले प्रिमियर लिग खेल्ने चार खेलाडीलाई सुरुआती–११ मा उतारेको थियो । यी चार खेलाडी नै सेनेगलको जितमा महत्त्वपूर्ण साबित भए । 

यसअघि इंग्ल्यान्डले अफ्रिकी राष्ट्रहरूसँग खेलेको पछिल्ला २२ खेलमा १५ जित र ६ बराबरी खेलेको इतिहास थियो । यसअघि इंग्ल्यान्ड सन् १९९० मा ट्युनिसियासँग मैत्रीपूर्ण खेलमा हारनजिक पुगेको थियो । तर, ८९औँ मिनेटमा स्टिभ बुलले गोल गरेपछि इंग्ल्यान्ड हारबाट जोगिएको थियो । 

इंग्ल्यान्डले सन् २००३ मा फरक महादेशको टोलीसँग पहिलोपटक हार बेहोरेको थियो । त्यसबेला इंग्ल्यान्डलाई अस्ट्रेलियाले ३–१ले निराश बनाएको थियो ।
 

प्रकाशित मिति: बुधबार, जेठ २८, २०८२  १८:३१
प्रतिक्रिया दिनुहोस्