site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
आईटी पार्क बनाउने प्रस्ताव लगानी बोर्डबाट पास, इन्फ्रा होल्डिङ्सले ३० अर्ब लगानी गर्ने

काठमाडौं । लगानी बोर्डले अर्बौं रुपैयाँको सूचना प्रविधि (आईटी पार्क) परियोजना अघि बढाउन एक निजी कम्पनीलाई अनुमति दिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बिहीबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बसेको लगानी बोर्डको ६४औँ बैठकले इन्फ्रा होल्डिङ्सको प्रस्तावलाई अघि बढाउने निर्णय गरेको प्रवत्ता प्रध्युम्नप्रसाद उपाध्यायले बताए । इन्फ्राले आईटी पार्क बनाउन २९ अर्ब ८२ करोड रुपैयाँ लगानीको प्रस्ताव गरेको थियो । आईटी क्षेत्रमा आउन लागेको यो सबैभन्दा ठूलो लगानी हो ।  

बोर्ड बैठकले सहमति दिएकाले आईटी पार्कको प्रारम्भिक काम अघि बढ्ने उनले सुनाए । आईटी पार्कमा ग्रीन डाटा सेन्टर, बिजनेस एरिया, आईटी एजुकेसनलगायत पूर्वाधार बनाउन इन्फ्रा होल्डिङ्सबाट प्रस्ताव परेको थियो । 

Argakhachi Cement Island Ad

इन्फ्रा होल्डिङ्सले आगामी असारसम्म विस्तृत सम्भाव्यता अध्ययन प्रतिवेदन बोर्डमा दिने भएको छ । विस्तृत सम्भाव्यता प्रतिवेदन आएपछि आईटी पार्क निर्माणको काम अघि बढ्ने उनले सुनाए ।

कम्पनीले राजधानीको चोभार, खुमलटार, टोखा र नुवाकोटको सूर्यचौर गरी चार स्थानमा आईटी पूर्वाधार बनाउन प्रस्ताव गरेको छ । कम्पनीले गरेको लगानी प्रस्ताव प्रारम्भिक चरणमा रहेकाले विस्तृत प्रतिवेदन आएपछि अघि बढ्ने उनको भनाइ छ ।

२०८१ वैशाख १६ गतेको लगानी सम्मेलनमा नेपालको बीएलसी होल्डिङ्स र भारतको हिरानन्दानी ग्रुपको संयुक्त लगानी काठमाडौंको रामकोटमा डाटा सेन्टर बनाउन सम्झौता भएको थियो । त्यसबेला बहुराष्ट्रिय कम्पनी योट्टा डाटा सर्भिसबीच साढे तीन अर्ब रुपैयाँ लगानी सम्झौता भएको थियो । डाटा सेन्टर सुविधाले चार मेगावाटसम्मको महत्त्वपूर्ण आईटी लोड प्रदान गर्नेछ ।

तीन वर्षअघि नेपालबाट झन्डै ७० अर्ब रुपैयाँ (५१ करोड अमेरिकी डलर) बराबरको आईटी सेवा निर्यात भएको आईडीएसको एक अध्ययनले देखाएको थियो । अघिल्लो वर्ष पनि एक खर्ब रुपैयाँ बढीको आईटी सेवा निर्यात भएको अनुमान गरिएको छ । 

सरकारले चालु आर्थिक वर्षको बजेटमा १० वर्षमा ३० खर्ब रुपैयाँको आईटी सेवा निर्यात गर्ने महत्त्वाकांक्षी लक्ष्य घोषणा गरेको छ । लक्ष्यानुसार, १५ लाखलाई थप रोजगारी सिर्जना गर्ने योजना सरकारको छ ।

प्रकाशित मिति: बिहीबार, जेठ २२, २०८२  १७:०२
प्रतिक्रिया दिनुहोस्