
काठमाडौं । नवराज सुवेदी नेतृत्वको ‘संयुक्त जनआन्दोलन समिति’को समीक्षा बैठक सम्पन्न भएको छ । समितिले विज्ञप्ति जारी गरेर बैठकबारे जानकारी दिएको हो ।
बैठकमा ४५ दल, समूह र अभियानको सहभागिता रहेको जनाइएको छ । एक हप्तादेखि सञ्चालन हुँदै आएको आन्दोलनको समीक्षा र भावी कार्ययोजनाका बारेमा समेत छलफल भएको समितिले जनाएको छ ।
आगामी आन्दोलनका कार्यक्रममा समेत विभिन्न वर्ग, पेसालगायत निजामती, सेना र प्रहरी सेवामा रहेर राष्ट्रको हितमा कार्य गरेका पूर्व राष्ट्रसेवक तथा आमजनताको व्यापक सहभागिताको निम्ति बैठकले अपिल गरेको छ ।
समितिले आन्दोलनको भावी स्वरूपमा केही परिमार्जन गर्ने भएको छ । जसअनुसार काठमाडौं उपत्यकाका विभिन्न पालिकामा निरन्तर विरोध प्रदर्शन जारी राखिने, विभिन्न प्रमुख सहरमा विरोध सभा, धर्ना तथा जनप्रदर्शन गर्ने, स्थानीय तहदेखि नै संयुक्त जनआन्दोलन समिति गठन गर्ने समितिले जनाएको छ ।
विभिन्न जिल्लामा प्रतिबद्ध र जुझारु युवा कार्यकर्ताको समूह तयार गर्ने, त्यसपछि आन्दोलनलाई पुनः काठमाडौंकेन्द्रित गर्ने समितिका संयोजक नवराज सुवेदीद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।