site stats
बाह्रखरी :: Baahrakhari
विदेश
पोल्यान्डको राष्ट्रपतिमा करोल नावरोकी निर्वाचित
तस्बिर : रोयटर्स ।

काठमाडौं । पोल्यान्डको नयाँ राष्ट्रपतिमा दक्षिणपन्थी इतिहासकार करोल नावरोकी निर्वाचित भएका छन् । सबै मतगणना पूरा भएपछि पोल्यान्डको निर्वाचन आयोगले नावरोकी निर्वाचित भएको घोषणा गरेको बीबीसीले जनाएको छ ।

निर्वाचन आयोगका अनुसार, नावरोकीले ५०.९ प्रतिशत मत हासिल गरे । उनले ४९.१ प्रतिशत मत ल्याएका राजधानी वार्साका उदारवादी मेयर राफाल ट्रजास्कोव्स्कीलाई पराजित गरे ।

Argakhachi Cement Island Ad

यो नतिजा अनुमानभन्दा ठिक उल्टो हो, किनभने मतदान समाप्तपश्चात् प्रकाशित पहिलो ‘एग्जिट पोल’मा ट्रजास्कोव्स्कीले ५०.३ प्रतिशत मत ल्याउने प्रक्षेपण थियो । त्यसमा नावरोकीले ४९.७ प्रतिशत मत ल्याउने देखिएको थियो ।

पहिलो एग्जिट पोल आउँदा ट्रजास्कोव्स्कीले जितको दाबी गरेका थिए । नावरोकीले नतिजा धेरै नजिक रहेकाले अझै निष्कर्ष ननिकाल्न आग्रह गरेका थिए ।

ट्रजास्कोव्स्कीले आफ्ना समर्थकलाई आफूले एकदमै कम अन्तरमा चुनाव जितेको बताएका थिए । उनकी पत्नी माल्गोरजाटाले ठट्टा गर्दै आफू त हृदयाघात नै हुने अवस्थामा रहेको बताएकी थिइन् ।

एग्जिट पोलपछि नावरोकीले अन्तर न्यून भए पनि आफूले जित्ने बताएका थिए । पोल्यान्डको नयाँ राष्ट्रपति बनेपछि नावरोकीले आफ्नो ‘भिटो’ अधिकार प्रयोग गरी प्रधानमन्त्री डोनाल्ड टस्कको ईयू–समर्थित कार्यक्रमलाई अवरुद्ध गर्ने सम्भावना रहेको जनाइएको छ । बीबीसीबाट ।

प्रकाशित मिति: सोमबार, जेठ १९, २०८२  १३:११
प्रतिक्रिया दिनुहोस्