
पर्सा । चालु आर्थिक वर्षको १० महिनामा वीरगन्ज नाकाबाट एक खर्ब ५५ अर्ब ९४ करोड मूल्य बराबरको पेट्रोलियम पदार्थ आयात भएको छ । डिजेल, पेट्रोल, लिक्विफाइड पेट्रोलियम ग्याँस (एलपीजी), एभिएसन टर्बाइन फ्युल (एटीएफ) र मट्टितेल आयात भएको हो ।
गत आवको सोही अवधिको तुलनामा चालु आवमा पाँचै थरिका पेट्रोलियम पदार्थको समग्र आयातमा रु एक अर्ब ३५ करोड रकम अर्थात ०.८६ प्रतिशतले गिरावट आएको हो ।
चालु आवको १० महिनामा पाँच थरिका पेट्रोलियम पदार्थ आयातबाट कार्यालयले रु ६४ अर्ब ५० करोड रकम राजस्व संकलन गरेको छ ।
वीरगन्ज भन्सार कार्यालयका अनुसार चालु आवको वैशाख मसान्तसम्म रु ७९ अर्ब ५२ करोड मूल्य पर्ने नौ लाख २९७ किलोलिटर डिजेल आयात भएको छ ।
चालु आवको १० महिनामा रु ३१ अर्ब ७१ करोड मूल्य पर्ने तीन लाख ६७ हजार ३४४ किलोलिटर पेट्रोल आयात भएको छ । यो नाका हुँदै चालु आवको १० महिनामा रु ३० अर्ब २८ करोड मूल्य पर्ने २६ करोड ४१ लाख सात हजार ५४८ किलोग्राम एलपीजी ग्यास आयात भएको छ ।
चालु आवको १० महिनामा रु १३ अर्ब ८८ करोड मूल्य पर्ने एक लाख ५३ हजार १९२ किलोलिटर एटीएफ आयात भएको छ । यो नाका हुँदै चालु आवको १० महिनामा रु ५५ करोड मूल्य पर्ने ६ हजार १३० किलोलिटर मट्टितेल आयात भएको छ । रासस