
काठमाडौं । नेपाल वायुसेवा निगमले क्याप्टेन कुलबहादुर लिम्बूलाई दिँदै आएको सबै प्रकारको सेवासुविधा तत्काल रोक्ने निर्णय गरेको छ । निगमको ०८१ चैत ५ गतेको बैठकले लिम्बूको सेवासुविधा रोक्ने निर्णय गरेको हो ।
लिम्बूले सामाजिक सञ्जालमा निगमका गोप्य कागजात अनधिकृत रूपमा प्रकाशन गरी संस्थाको अनर्गल प्रचार गरेको आरोप लगाइएको छ ।
विवादको सुरुवात नेपालगन्ज विमानस्थलमा यात्री विमान वाई१२ई (९एन–एकेयू)को अवतरण दुर्घटनापछि भएको थियो । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले दुर्घटनाको जाँचबमोजिम क्याप्टेन लिम्बूको इजाजतपत्र निलम्बन गरी लिम्बूसँगको सेवा करार ०७७ असार १ मा भंग गरेको थियो । कार्यकारी अध्यक्ष सुशील घिमिरे भएका बेला निगमको तत्कालीन व्यवस्थापनले उनीसँगको सम्झौता भंग गरेको हो ।
करार भंगविरुद्ध लिम्बूले सर्वोच्च अदालतमा मुद्दा दायर गरेका थिए । अदालतले ०७७ मंसिर २२ मा करार भंग कानुनसम्मत भएको फैसला सुनाएपछि लिम्बूले सेवाबाट हटाइएको करार अवधि समाप्त हुने मितिसम्मको सात महिनाको तलब १० लाख ९५ हजार ८७५ (करसहित) माग गरेका थिए । तर निगमले ०७८ मंसिर २३ मा पत्र पठाउँदै तलब दिने कानुनी आधार नभएको स्पष्ट पार्यो ।
कार्यकारी समितिले लिम्बूले अवकाशप्राप्त कर्मचारीको हैसियतले पाउँदै आएका सबै वित्तीय, चिकित्सा तथा अन्य सुविधा अर्को निर्णय नहुन्जेलसम्म रोक्ने निर्णय गरेको छ ।
लिम्बूले निगमसँग सम्बन्धित कपोलकल्पित, गैरकानुनी वा भ्रामक सूचना सार्वजनिक नगर्न समेत चेतावनी दिएको छ ।