
काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)को सचिवालयले वडा नम्बर १७ का अध्यक्ष नवीन मानन्धरलाई सातदिने स्पष्टीकरण सोधेको छ । मेयर बालेनको निर्देशनमा जेठ ८ गते स्पष्टीकरण सोधिएको हो ।
यसअघि प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंले नगरप्रहरी प्रमुख राजुनाथ पाण्डेलाई स्पष्टीकरण सोधेका थिए । त्यसपछि बालेनको आदेशमा उनको सचिवालयले प्रवक्ता समेत रहेका मानन्धरलाई सातदिने स्पष्टीकरण सोधेको हो ।
विभिन्न सञ्चारमाध्यममा मेयरको व्यक्तिगत चरित्रमाथि निराधार, खेदजनक र कपोकल्पित अभिव्यक्ति दिँदै मेयरको निजी जीवनमा आपत्तिजनक टिप्पणी र सार्वजनिक प्रतिष्ठामा समेत आँच आउने गरी अभिव्यक्ति दिएकोप्रति गम्भीर ध्यानाकर्षण भएको सचिवालयले जनाएको छ ।
मेयरको सचिवालय प्रमुख शान्ता पहाडीको हस्ताक्षर रहेको पत्रमा भनिएको छ, “अझ विशेषतः जनताको मतबाट निर्वाचित जनप्रतिनिधि जस्तो गरिमायुक्त पदमा रहनुभएका व्यक्तिबाट यस्ता आधारहीन, अनौपचारिक र अमर्यादित अभिव्यक्ति सार्वजनिक रूपमा दिनु शोभायुक्त कार्य होइन भन्ने कुरा समेत स्मरण गराइन्छ ।”
अभिव्यक्ति स्वतन्त्रताको सीमाभन्दा पर गएर व्यक्तिगत चरित्रहत्या, मानहानि तथा सामाजिक प्रतिष्ठामा गम्भीर आँच पुर्याउने कार्य भएको विज्ञप्तिमा उल्लेख छ । “यस प्रकारका अभिव्यक्तिहरूले अभिव्यक्ति स्वतन्त्रताको सीमाभन्दा पर गएर व्यक्तिगत चरित्रहत्या, मानहानी तथा सामाजिक प्रतिष्ठामा गम्भीर आँच पुर्याउने कार्य गरेका छन् । जुन मुलुकी फौजदारी संहिता, २०७४ बमोजिम आपराधिक मानिने तथा कानुनतः दण्डनीय हुने भएकाले, यस सम्बन्धमा सुसूचित गराउँदै गल्तीको स्वीकारोक्तिसहित भविष्यमा यस्ता गतिविधि नगर्ने भनि लिखित प्रतिवद्धता प्रमुखज्यूसमक्ष सात दिनभित्र पेस गर्नुहुन आदेशानुसार अनुरोध गर्दछु,” पत्रमा भनिएको छ ।
बालेनले काठमाडौं टावरको प्रक्रिया नपुर्याई नक्सापास गरेको आरोपमा गत वर्ष पुसमा छानबिनमा तानेका थिए । त्यही विषयको विवाद उत्कर्षमा छ ।
यता, गुरागाईंलाई कार्यालय प्रवेशमा रोक लगाउने नगरप्रहरी प्रमुख पाण्डेको नेतृत्वविरुद्ध गत चैत २१ गते मानन्धर र अन्य जनप्रतिनिधिहरू लागेका थिए । त्यसपछि मेयर बालेनले एकल निर्णय गरेको भन्दै वडाध्यक्षहरूले असन्तुष्टि जनाउँदै आएका छन् ।