
काठमाडौं । गौशालामा एकैसाथ आठवटा सवारीसाधन एकआपसमा ठोक्किएका छन् । जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपिलराज बोहराका अनुसार गौशालाबाट तिलगंगातर्फ जाँदै गरेको बा५ख ६७३५ नम्बरको बाबा गोकर्णेश्वर यातायातको बस आफैँ अनियन्त्रित भएर अन्य सवारीसाधनलाई ठक्कर दिँदा सवारीसाधन ठोक्किएका हुन् ।
उक्त दुर्घटनामा परी तीनजना घाइते भएका छन् । घाइतेहरूको सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजमा उपचार भइरहेको छ ।दुर्घटनामा जिल्ला धादिङ ज्वालामुखी गाँउपालिका–१ का राजकुमार श्रेष्ठ, नुवाकोट टाडी गाँउपालिका–२ का विकास कट्टेल र खोटाङको हलेसीका शैलेन्द्र राई घाइते भएका छन् । उनीहरुको अवस्था भने सामान्य छ ।
बसको ठक्करबाट सुरु भएको दुर्घटनामा स्कुटरदेखि मोटरसाइकल र कारसमेत क्षति भएका छन् । एसपी बोहराका अनुसार बा५ख ७३१ नम्बरको हायस गाडी, बा.प्र–०१–०२६ च ८५७६ नम्बरको कार, बीएसी ९७७३ को अर्को कार ठोक्किएका थिए ।
यसरी नै बा१६च ४४५२ नम्बरको कार, प्र–२–०१–००३प १००५ नम्बरको मोटरसाइकल, बा५१प २२ नम्बरको मोटरसाइकल र बाप्र–०२–०४६प ४८१९ नम्बरको स्कुटर पनि ठोक्किएका हुन् ।
प्रहरीका अनुसार दुर्घटना बिहान १० बजेर ५५ मिनेटमा भएको थियो । तर, चालक अझै फरार छन् ।