
काठमाडौं । रोमानियाको राजधानी बुखारेस्टका युरोप समर्थित उदारवादी मेयर निकुसोर ड्यानले राष्ट्रपतिको निर्वाचन जितेका छन् । उनले रोमानियाली दक्षिणपन्थी राष्ट्रवादी नेतालाई कडा प्रतिस्पर्धामा हराएर राष्ट्रपति निर्वाचित भएका हुन् ।
रोमानियामा महिनौँदेखिको राजनीतिक उथलपुथलपछि अन्ततः यो नतिजा आएको हो । गत वर्ष भएको राष्ट्रपतिको निर्वाचनमा एक उग्रदक्षिणपन्थी उमेदवारले जितेपछि चुनाव नै खारेज गरिएको थियो ।
दक्षिणपन्थी नेता जर्ज सिमियनले गत महिनाको पहिलो चरणमा नाटकीय जित हासिल गरेका थिए । गत वर्ष भएको राष्ट्रपति निर्वाचन रूसी हस्तक्षेपको आरोपमा रद्द गरिएपछि रोमानियाली जनताको प्रतिसोधमा जर्ज सिमियनले सबैभन्दा बढी भोट ल्याएका थिए । तर, ५० प्रतिशत मत नकटाएका कारण चुनाव दोस्रो चरणमा गएको थियो ।
शान्त स्वभावका निकुसोर ड्यानले ५५ प्रतिशत मत ल्याएर जित हासिल गरेका हुन् । सिमियनले विदेशमा बसोबास गर्ने रोमानियालीहरूबाट बढी मत पाएका थिए ।
“तपाईंले कसलाई मत दिनुभएको छ, त्यसबाट माथि उठेर हामीले सँगै रोमानिया निर्माण गर्नुपर्छ,” ड्यानले आफ्नो जित पक्का भएपछि भनेका छन् ।
आइतबारको दोस्रो चरणको मतदानमा ११६ लाखभन्दा बढी रोमानियालीहरूले भाग लिए, जसमध्ये ड्यानले ६० लाखभन्दा बढी मत ल्याउन सफल भएका छन् ।
ड्यानले आइतबार राति १२ बजेसम्म पर्खेर आफ्नो जित निश्चित भएपछि मात्र बुखारेस्टको सिटी हल सामुन्नेको पार्कमा जम्मा भएका आफ्ना समर्थकहरूमाझ पुगेका थिए ।
“रोमानियामा गहिरो परिवर्तन चाहने रोमानियालीहरूको समुदायले जित्यो,” उनले भने । बीबीसी