
काठमाडौं । दोस्रो एसकेबीसी वाग्मती प्रदेश आमन्त्रित तेक्वान्दो च्याम्पियनसिपको उपाधि ढल्को तेक्वान्दो डोजाङले जितेको छ । काठमाडौंको टोखा नगरपालिकाको वसुन्धारास्थित हेराल्ड इन्टरनेसनल कलेजमा आयोजित प्रतियोगितामा ढल्को सात स्वर्ण, पाँच रजत र तीन कांस्यसहित कुल १५ पदक जित्दै च्याम्पियन बनेको हो ।
आयोजक एसकेबीसी तेक्वान्दो क्लब पाँच स्वर्ण, तीन रजत र १० कांस्य जित्दै उपविजेता बन्यो । बालाजु तेक्वान्दो डोजाङले तीन स्वर्ण, तीन रजत र ६ कांस्यसहित तेस्रो स्थान हासिल गर्यो ।
प्रतियोगितामा प्रतिमा भुजेल उत्कृष्ट महिला खेलाडी घोषित भइन् । उत्कृष्ट पुरुष खेलाडीको उपाधि रवलहाङ लिम्बूले जिते । उत्कृष्ट प्रशिक्षक एसकेबीसीका सुवास बोहरा घोषित भए । उत्कृष्ट निर्णायक कुमार लावत चुनिए । उत्कृष्ट चारैजनाले एक/एक ओप्पो मोबाइल पुरस्कारस्वरूप प्राप्त गरे ।
एसकेबीसी तेक्वान्दो क्लबका मुख्य प्रशिक्षक तथा प्रतियोगिताका संयोजक रञ्जित डंगौराका अनुसार, प्रतियोगितामा वाग्मती प्रदेशका विभिन्न जिल्लाबाट १८ डोजाङ तथा क्लबका ५०० सिनियर र जुनियर खेलाडी सहभागी थिए ।