site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
रवि र छविका निवेदन ‘हेर्न नमिल्ने’ इजलासमा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पूर्वडीआईजी छविलाल जोशीका निवेदन आज (आइतबार) पनि हेर्न नमिल्नेमा पर्ने भएका छन् । 

सुप्रिम सहकारीविरुद्ध रवि र छविले उच्च अदालत तुल्सीपुरको आदेशविरुद्ध ७३ नम्बर निवेदन हालेका छन् । यस्तै, रविका तर्फबाट उनकी श्रीमती निकिता पौडेलले बन्दीप्रत्यक्षीकरणको निवेदन समेत हालेकी छन् । बन्दीप्रत्यक्षीकरणको निवेदनमा न्यायाधीश अब्दुल अजिज मुसलमानको इजलासले लगाउमा राख्ने आदेशपछि दुवै निवेदन एकसाथ राखिएको छ । आइतबार न्यायाधीश डा. मनोकुमार शर्मा र सुनिलकुमार पोखरेलेको इजलासमा परेको छ । अघिल्लो आइतबारदेखि नै हेर्न नमिल्नेमा पर्दै सुनुवाइ सरिरहेको छ । आइतबार पनि पुनः हेर्न नमिल्ने इजलासमै परेको हो । 

न्यायाधीशद्वय शर्मा र पोखरेलमध्ये पोखरेलले न्यायाधीश नियुक्त हुनुअघि रविको नागरिकता र राहदानी मुद्दामा वकालत गरेका थिए ।  त्यहीकारण यसअघि पनि उनको इजलासमा हेर्न नमिल्नेमा परेको थियो ।

सुप्रिम सहकारी ठगी प्रकरणमा रूपन्देही जिल्ला अदालतको आदेशमा एक करोड धरौटीसहित रिहा भएका रवि उच्च अदालतको आदेशबाट पुर्पक्षका लागि थुनामा छन् । सोही प्रकरणमा छवि भने जिल्ला अदालतकै आदेशबाट पुर्पक्षका लागि थुनामा छन् । उनले पनि उच्च अदालतमा हालेको ७३ नम्बर निवेदनमा उच्च अदालतले जिल्लाको आदेशलाई निरन्तरता दिने आदेश गरेको थियो ।

प्रकाशित मिति: आइतबार, जेठ ४, २०८२  ११:४३
प्रतिक्रिया दिनुहोस्