site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
माया राईलाई देउवाको सान्त्वना– म पनि शाही आयोगको फन्दामा परेको थिएँ नि !
फाइल तस्बिर : रासस ।

काठमाडौं । नेपाली कांग्रेसकी सांसद माया राईले संसदीय दलको बैठकमा गुनासो पोखेकी छन् । सहकारी ठगी प्रकरणमा आफूलाई समेत फन्दामा पारिएको भन्दै उनले असन्तुष्टि जनाएकी हुन् । आफू थुनामा पर्दा पार्टीबाट सहयोग नपाएको पनि उनले गुनासो गरिन् ।

काठमाडौंको कालीमाटीस्थित स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा पक्राउ परी अदालतको आदेशबाट सांसद राई धरौटीमा हिरासतमुक्त भएकी हुन् । सहकारी ठगी छानबिनका निम्ति संसदीय समिति गठनका पक्षमा अग्रमोर्चामा वेल घेराउ गर्ने व्यक्ति भए पनि आफूलाई फन्दामा पारिएको उनको गुनासो थियो ।

“सहकारी ठगी छानबिनका लागि संसदीय समिति बनाउने पार्टीको माग सम्बोधन नहुँदा अग्रमोर्चामा उभिएर संसद्को वेल घेराउ गरेकी थिएँ,” राईले शनिबार (जेठ ३) नयाँ बानेश्वरमा बसेको दल बैठकमा भनिन्, “म आफैँ ठगीमा संलग्न भएको भए त्यसो गर्ने आँट गर्थे होला !“

स्रोतका अनुसार, स्वर्णलक्ष्मीमा आफू जाँदासम्म त्यो सानो सहकारी रहेको धेरै कारोबार नगरेको उनले जिकिर गरिन् । “मेरो गल्ती यत्ति हो कि म त्यो सहकारीको सञ्चालक समितिमा बस्न गएँ,” उनले भनिन्, “म बाबुदेखिकै राजनीतिक संस्कारमा हुर्किएकी हुँ । ठगी गर्नु हुँदैन भन्ने शिक्षा घरबाटै सिकेको हुँ । मैले एक रुपैयाँ खाएको छैन ।”

यति हुँदाहुँदै पनि आफ्नो बदनाम गरिएको उनले गुनासो गरिन् । उनको गुनासो सुनेपछि सभापति एवं दलका नेता शेरबहादुर देउवाले सान्त्वना दिए ।

“राजनीतिमा लागेपछि यस्तो हुन्छ, फेस गरेर अघि बढ्ने हो,” देउवाले बैठकमा भने, “मलाई पनि शाही आयोगले डामेको होइन र ? त्यसमा अल्झेर बस्ने होइन, अघि बढ्ने हो ।” 

स्रोतका अनुसार, देउवाले राईलाई ‘तिमीले खाएकी छैनौ’ भन्दै ‘भोलि निर्दोष हुने’ बताएका थिए । “तिमीले खाएको छैन भन्ने मलाई थाहा छ, भोलि निर्दोष भएर आउनेछौ,” देउवाले भने ।

स्वर्णलक्ष्मी सहकारीको सहसचिव बनेर काम गरेकी राईलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेसँगै प्रतिवादी बनाइएको थियो । प्रहरीले पक्राउ गरेर हिरासतमा बसी काठमाडौं जिल्ला अदालतको आदेशबाट उनी १० लाख रुपैयाँ धरौटीमा रिहा भएकी हुन् ।

प्रकाशित मिति: शनिबार, जेठ ३, २०८२  २२:४०
प्रतिक्रिया दिनुहोस्